ad ad

बागमती


एशियाकै पहिलो चुरियामाई सुरुङमार्ग पुनर्निर्माण अन्तिम चरणमा

एशियाकै पहिलो चुरियामाई सुरुङमार्ग पुनर्निर्माण अन्तिम चरणमा

सुनिता विष्ट
माघ १५, २०७९ आइतबार १५:६, हेटाैँडा

आजभन्दा १०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा निर्माण भएको एशियाकै पहिलो चुरियामाई सुरुङमार्ग पुनर्निर्माणको कामले तीब्रता पाएको छ। काममा अवरोध नआए बारा र मकवानपुरको हेटौंडा १५ रातोमाटेको सीमास्थल चुरियामाई सुरुङमार्गको पुनर्निर्माण यही माघ महिनाभित्रमा सक्नेगरी काम भैरहेको हो। 

सुरुङ बागमती प्रदेश सरकारको ३ करोड ३९ लाख लागतमा पुनर्निर्माण भइरहेको हो। माउन्टेन इन्फ्रा कम्पनीले जिम्मा पाएको यो सुरुङ मार्ग पुनर्निर्माणको शिलान्यास तत्कालिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका थिए।

यो सुरुङ तत्कालिन प्रधानमन्त्री चन्द्र शम्शेर राणाको पालामा नेपाली सेनाका कर्णेल इन्जिनियर डिल्लीजंग थापा नेतृत्वको इन्जिनियरहरूको टोलीले बनाएको थियो। 

मधेश प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने सुरुङ मार्गबाट वि.सं. २०२० सम्म सवारी साधन चल्ने गर्दथे। राणाकालीन समयमा यही सुरुङमार्ग हुँदै चल्ने गाडीले भीमफेदीसम्म सामान ओसार्थे।

ऐतिहासिक सुरुङमार्गको संरक्षणका लागि बागमतीका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले २०७८ साउन १४ गते पुनर्निर्माण कार्यको शिल्यान्यास गरेका थिए।

५ सय मिटरको सो सुरुङमार्गको लगभग ८० प्रतिशत काम सकिएको बताइएको छ। निर्माण कम्पनीले माघ महिनाभरमा पुनर्निर्माण पूरा हुने बताए पनि प्राविधिक टोलीका अनुसार अझै केही समय लाग्ने छ। 

यातायात निर्देशनालय बागमती प्रदेशका इन्जिनियर विजय केसीले अब सुरुङ पाँच मिटर मात्रै खन्न बाँकी रहेको बताए। मुख्य काम आउटलेट (बाहिरिने) पोर्टलको प्वाइन्ट पत्ता लगाएर रि–कन्ट्रक्सनको काम सम्पन्न भएको इन्जिनियर केसीले बताए।

‘ब्रेक थ्रु गर्न पाँच मिटर मात्रै बाँकी छ, त्यसमा चारदेखि पाँच वटा रिप हालेपछि ब्रेक थ्रु हुन्छ,’ इन्जिनियर केसीले भने। 

त्यसपछि सामान्य काम अलिअलि सर्किट र स्ट्रेनिङ्गको काम मात्रै बाँकी रहने उलने बताए। 

कस्तो छ चुरियामाईको सुरुङ मार्ग?
हेटौंडाको चुरियामाईमा रहेको सुरुङमार्गको लम्बाई ५ सय मिटर, चौडाइ ९ फिट र उचाइ १० फिट छ। १ सय ४ वर्ष अघि यो सुरुङमार्गमा लरी, मालबाहक सवारी साधन छिर्ने आकारमा निर्माण भएको थियो। १९९० र २०७२ सालको भूकम्पबाट सुरुङलाई खासै क्षति भएन।

सुरुङमार्गको डिजाइन गरेका इन्जिनियर थापाले नेपालमा अहिले नाम चलेका धेरै संरचनाको डिजाइन गरेका थिए।

उनले काठमाडौं—हेटौंडा रोपवे, १९९० सालको भूकम्पपछि भत्किएको धरहरा, शीतलनिवास, काठमाडौं डिल्लीबजारस्थित चारखाल अड्डा, टोखा सडक, जनकपुर—जयनगर रेल्वेलको डिजाइनदेखि निर्माणसम्मको नेतृत्व उनैले गरेका थिए।

पुनर्निर्माणपछि कस्तो बन्नेछ सुरुङ?
चुरिया सुरुङ सन् १९१७ मै बनेको थियो। सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाको डिजाइन अनुसार ५ सय मिटर लम्बाइको सुरुङ मार्ग बनेको थियो। सुरुङ २ दशमलव ५ मिटर चौडा र ३ मिटर अग्लो थियो। 

डीपीआर अनुसार पुनर्निर्माण सम्पन्न हुँदा सुरुङ मार्गको आकार खुम्चिने इन्जिनियर केसी बताउँछन्। उनका अनुसार सुरुङको उचाई २ दशमलव ९ मिटर र चौडाई २ दशमलव ४ मिटर हुनेछ। 

स्वीस भूगर्भविद टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’ मा यो सुरुङमार्गबारे चर्चासमेत गरेका छन्। उनैले यसलाई ‘एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने’ बताएका हुन्।

जीर्ण अवस्थामा रहेको यो सुरुङमार्ग भूकम्पपछि थप जीर्ण बन्न पुगेको थियो। सर्वसाधारणलाई सुरुङ प्रवेशमा रोक लगाइएको थियो। पुनःनिर्माणपछि मानिससँगै साना सवारी सुरुङमा चलाउन सकिने इन्जिनियर केसी बताउँछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .