ad ad

बागमती


बागमती प्रदेशसभा चार महिनादेखि ठप्प, सांसदहरूको तलब-भत्तामै २ करोड सकियो

बागमती प्रदेशसभा चार महिनादेखि ठप्प, सांसदहरूको तलब-भत्तामै २ करोड सकियो

तस्बिर : नेपालखबर


सुनिता विष्ट
माघ ४, २०८० बिहिबार १५:२८, हेटौंडा

बागमती प्रदेशसभा करिब चार महिनादेखि ठप्प छ। बैठक नबोलाउँदा सांसदहरु कामविहीन छन्। 

न उनीहरुले बैठक बस्न प्रदेश राजधानी धाउनुपरेको छ, न त प्रदेश सभाको कामका लागि आफ्नो समय खर्चिनु परेको छ। 

झन्डै चार महिनादेखि सांसदहरु कामविहीन छन्। तर राज्यकोषको करोडौं रकम सांसद र सांसदमाततह कर्मचारीहरुको खातामा गइसकेको छ। 

बागमती प्रदेश सभामा ११० सांसद छन्। यीमध्ये १२ मन्त्रीबाहेक ९८ सांसदको तलब, भक्ता, आवास लगायतको खर्च प्रदेश सभा सचिवालयबाटै जाने गरेको छ। 

संसद सचिवालयका अनुसार प्रदेशका सांसदको एक महिनामा ७० लाख भन्दा धेरै तलब जाने गरेको छ। 

कुल ७० लाख ९७ हजार ५७० रुपैंया तलब मासिक रुपमा जाँदा तीन महिनामा २ करोड १२ लाख ९२ हजार ७१० रुपैयाँ तलबवापत प्रदेश सांसदहरुको खातामा गएको बागमती प्रदेश सभा सचिवालयका सहायक लेखा अधिकृत भानुभक्त आचार्यले जानकरी दिए। 

बागमती प्रदेश सभा सांसदको तलब ५२ हजार २ सय रुपैयाँ छ। उनका अनुसार सांसदहरूको घरभाडा, औषधि उपचार, धारा, बिजुली, इन्धन, सञ्चारलगायत सुविधामासमेत यो रकम खर्च भएको हो।

प्रदेशसभा सदस्यले सञ्चार सुविधा (टेलिफोन, इन्टरनेट र पत्रपत्रिका) बापत मासिक १ हजार ५०० रुपैयाँ, आवास सुविधा बापत मसिक १५ हजार रुपैयाँ, बिजुली र धारा प्रयोग गरेबापत मासिक २ हजार रुपैयाँ र अतिथि सत्कारबापत मासिक ३ हजार रुपैयाँ पाउँछन्। 

सभामुख, उपसभामुखको खर्च १५ लाख
लामो समय बैठक नबस्दा बागमती प्रदेश सभा सभामुख र उपसभामुख कामविहीन छन्। तर सभामुख÷उपसभामुखको सचिवालयतर्फ यो तीन महिनाको अवधिमा झण्डै १५ लाख रुपैयाँ खर्च भएको तथ्यांक छ। 

बागमती प्रदेश सभा सभामुखको मासिक तलब ७२ हजार ९ सय २६ रुपैयाँ छ। उनका दुईजना स्वकीय सचिव छन्। एकजनालाई उपसचिव सहरको सेवा सुविधा छ। अर्कालाई शाखा अधिकृतसरहको सेवा सुविधा छ। 

त्यसबाहेक एकजना कम्प्युटर अपरेटर, हलुका सवारी चालक र कार्यालय सहयोगीसमेत गरी सभामुखकै सचिवालयमा ६ जना कर्मचारी छन्।

उनीहरुको प्रत्येक महिना खातामा जाने तलब नरोकिएको प्रदेश सभा सचिवालयका सहायाक लेखा अधिकृत आचार्यले जानकारी दिए। 

यता, उपसभामुखको मासिक तलब ६५ हजार ७३५ रुपैयाँ छ। यसबाहेक सञ्चार सुविधा (टेलिफोन, इन्टरनेट र पत्रपत्रिका) लगायत जोडिएर तलबभत्ता उपलब्ध हुँदै आएको छ।

यसरी सभामुख-उपसभामुख र उनीहरुको सचिवालयको तलब भत्ता मात्रै मासिक ४ लाख ९७ हजार १४० रुपैयाँ हुन आउँछ। 

यसरी तीन महिनाभन्दा लामो समय सदन नचले पनि राज्यकोषको १४ लाख ९१ हजार ४२० रुपैयाँ रकम सभामुख र उपसभामुखका लागि खर्च भएको छ। 

स्वकीयलाई ९५ लाख
यता, सदन सुनसान भएपनि तलब भत्ता भने कसैको रोकिएको छैन। प्रदेश सभा सांसदहरुको स्वकीयहरुको खातामा मासिक ३१ लाख ७३ हजार १४७ रुपैयाँ जाने गरेको छ। 

कात्तिकदेखि पुससम्मको तीन महिनामा स्वकीय सचिवका लागि मात्रै ९५ लाख १९ हजार ४४१ रुपैयाँ खर्च भएको सहायक लेखा अधिकृत आचार्यले बताए। 

यसमा तीनजना सवारी चालक र एकजान कार्यालय सहयोगीसमेतको तलब जोडिएको उनको भनाइ छ। प्रदेश सभाका केही सांसदहरुले स्वकीय सचिव राखेका छैनन्। 

सदन कहिले? 
गत असोज २२ गतेबाट स्थगित भएको प्रदेश सभा बैठक अझै बस्न सकेको छैन। हिउँदे अधिवेशन डाक्नु पर्ने सरकार मौन छ। 

सरकारका अधिकारीहरू यतिबेला बजेट पास गराउँदा प्रतिपक्ष दलहरुसँग गरेको सम्झौताको बिषयमा छलफल गरिरहेको दाबी गर्छन्।  

केही समयअघि बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएपछि अब अर्को सर्वदलीय बैठक डाक्ने तयारीमा सरकार पक्ष जुटिरहेका छन्।

सरकार र प्रतिपक्ष दलहरुबीचमा सहमति जुटाएर मात्रै हिउँदे अधिवेशन अव्हान गर्ने सरकारको लक्ष्य रहेको प्रदेश सरकारका प्रवक्ता मन्त्री गंगानाराण श्रेष्ठ बताउँछन्। 

बागमती प्रदेश सभाको दोस्रो कार्यकालमा हिउँदे र बर्खे गरी दुईवटा अधिवेशन सम्पन्न भए। पछिल्लो समयमा प्रदेश सभाले आवश्यक कानुन बनाउने क्रममा आठवटा विधेयक पारित गरेको छ। 

यस अवधिमा प्रदेश सभाको ५६ वटा बैठक बसेकोमा पहिलो अधिवेशनबाट चार र दोस्रो अधिवेशनबाट तीन विधेयक पारित भएको प्रदेश सभाका प्रवक्ता मनोज गुप्ताले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .