पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनमा एकसाथ तीन सवारीसाधन आपसमा ठोकिँदा एक चालकको मृत्यु भएको छ भने २ सहचालक घाइते भएका छन्।
चितवनको रत्ननगर नगरपालिका-९, टिकौली जंगलमा गएराति दुई ट्रक र एउटा ट्याङकर आपसमा ठोक्किएका हुन्।
एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा दुई जना घाइते भएका छन् भने एक जनालाई पक्राउ गरिएको छ।
मंगलबार राति साढे ११ बजेतिरको समयमा टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको मधेस प्रदेश ०३-००२ ख १४३९ नम्बरको ट्रक र नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना८ख ८६७४ नम्बरको खाली ट्याङकर आपसमा ठोकिएका हुन्।
ट्याङकर पछाडि रहेको ना६ख ४६२४ नम्बरको ट्रक पनि सोही ट्याङकरमा ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिए।
तीनवटा सवारी साधन आपसमा ठोकिँदा मधेस प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रकका चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ बस्ने अन्दाजी २६ वर्षका अनिश स्याङतानको मृत्यु भएको डीएसपी रिजालले जानकारी दिए। मृतकको शव भरतपुर अस्तपालमा राखिएको छ।
यस्तै सोही ट्रकका सहचालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका-२ बस्ने २३ वर्षीय आशिष स्याङतान घाइते भएका छन्।
उनको उपचार भरतपुर अस्पतालमा भइरहेको छ।
यस्तै ना८ख ८६७४ नम्बरको ट्याङकर चालक मकवानपुर हेटौँडा-१९ नेवारपानी बस्ने वर्ष ३६ को सुदीप तामाङ गम्भीर घाइते भएको र उनको उपचार चितवन मेडिकल कलेजमा भइरहेको रिजालले बताए।
ना६ख ४६२४ नम्बरको ट्रकका चालक धादिङ गजुरी गाउँपालिका-२ बस्ने वर्ष ३७ का दीपक रोक्कालाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया