मंगलबार (हिजो) बिहानपख रसुवाको रसुुवागढी नाकामा आएको बाढीमा परेर बेपत्ता भएका तीनजना प्रहरीमध्ये एक हुन् लोकेन्द्र बोहरा।
बाढीमा परेकाहरूलाई उद्धार गर्न गएका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र सम्पर्कविहीन भएकोमा असई श्रेष्ठको शव मंगलबार साँझ चितवनमा फेला परेको छ।
प्रहरी जवान मुन्ना र लोकेन्द्र सम्पर्कविहीन छन्।
बझाङको बुङ्गल नगरपालिका–९ स्थायी ठेगाना भएका लोकेन्द्र प्रहरी चौकी, लाङटाङ रसुवामा कार्यरत थिए। प्रहरी जवान भएपछिको पहिलो पोष्टिङ नै रसुवा परेका उनी रसुवाकै माटोमा रमाउन थालिसकेका थिए।
प्रहरी चौकी लाङटाङमा २७ महिना बसेका उनको गत जेठमा मात्रै उनी रसुवाकै इलाका प्रहरी कार्यालय टिमुरेमा सरुवा भएका थिए।
मंगलबार बिहान आएको बाढीमा फसेकाहरूलाई उद्धार गर्न निस्किएका उनको अवस्था हालसम्म अज्ञात रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। उनी सहित २० जना बेपत्ता रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल बताउँछन्।
लोकेन्द्र २०७९ सालमा नेपाल प्रहरीमा भर्ती भएका थिए। २० वर्षकै उमेरमा प्रहरी जवानमा भर्ती भएका उनी टिमुरे पुगेको एक महिनामै दुखद घटना हुन पुगेको हो।
लोकेन्द्रका मावली हजुरबुबा देउमल धामीले अरुलाई बचाउन हिँडेको नाती आफैं बेपत्ता भएको खबरले परिवार र आफन्त बेचैन भएको बताए।
‘पहिला/पहिला फोन गर्थ्यो। रसुवा पुग्याछु बाजे भनेर हप्तादिन अघितिर फुनमा कुरा भएको हो,’ देउमलले नेपालखबरसँग भने, ‘प्रहरीमा जागिर खाको ३ वर्ष पुग्न लाग्यो। बुबा र दुई दाजुहरू भारतको बैंङलोरमा काम गर्न गए। कान्छो नाती भने सरकारी जागिर खान्छु भनेर प्रहरी तिर लागेको थियो। अरुलाई बचाउन जाँदा आफै बेपत्ता भयो भन्ने खबरले चिन्तामा छौँ।’

देउमलका अनुसार लोकेन्द्रका बुवा विरदीप र दुई दाइहरू छिमेकी मुलुक भारतमा रोजगारी लागि गएका छन्। लोकेन्द्र बाढीमा बेपत्ता भएको खबर पुगेपछि उनका जेठा दाजु नेपाल आउँदै गरेको देउमल बताउँछन्।
लोकेन्द्रले सोमबार (घटना भएको अघिल्लो साँझ) आमा पार्वती धामीसँग फोनमा कुरा गरेका थिए। उनले घरको, आमाको र बहिनीको न्यास्रो लागेको भन्दै भदौमा गौरा पर्वमा गाउँ आउने भनेका थिए।
हुजरबुबा देउमलले थपे, ‘अस्तितिर आमाचाहिँलाई फोन गरेर गौरापर्वमा घर आउँछु भनेको थियो रे। भेलिपल्टै यस्तो घटना भयो भन्ने खबर आयो। अहिले छोरी (लोकेन्द्रकी आमा) पीडामा छे। हामीले सम्हाल्न सकिरहेका छैनौँ।’
२०७९ सालमा सरकारी सेवामा प्रवेश गरेका लोकेन्द्र असल प्रहरी मात्रै थिएनन्, साहित्यमा चासो राख्ने व्यक्ति समेत थिए उनी। आउँदो साउन भित्रमा आफ्नो गजल संग्रह छाप्ने तयारी समेत गरिरहेका थिए लोकेन्द्रले।
कक्षा १२ सम्म बझाङमै पढेका लोकेन्द्र हाल रसुवाको कालिका हिमालय क्याम्पसमा बीएड दोस्रो वर्षका विद्यार्थी समेत रहेका थिए।
लोकेन्द्र सहित बाढीमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
Shares

प्रतिक्रिया