फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर जस्तै धादिङमा पनि चुनावी गतिविधि तीब्र छ।
दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङको क्षेत्र नं २ मा २४ जना उम्मेदवार चुनावी मैदानमा छन्। ८ जना स्वतन्त्र र १६ जना दलीय उम्मेदवार रहेको यहाँको प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ।
धादिङ २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रामबहादुर भण्डारी, नेपाली कांग्रेसबाट रमेशप्रसाद धमला र नेकपा एमालेबाट धनबहादुर घले प्रतिस्पर्धामा छन्।
यस्तै, राप्रपाबाट सुरेश रिजाल, रास्वपाबाट बोधनारायण श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट अमिर तामाङ, श्रम संस्कृति पार्टीबाट टासी लामा तामाङले उम्मेदवारी दर्ता गरेका छन्।
नेकपा माओवादीबाट कृष्णबहादुर घतानी, संयुक्त नागरिक पार्टीबाट देवेन्द्र गैरे, नेशनल रिपब्लिक पार्टीबाट नक्कले मगर, आम जनता पार्टीबाट नन्दप्रसाद काप्री, नेपाल मजदुर किसान पार्टीबाट प्रिया भट्ट, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट वीरबहादुर तामाङ र मंगोल नेसनल अर्गनाइजेसनबाट सन्तोष कुमार तामाङ चुनावी मैदानमा छन्।
यसैगरी, उज्जवल श्रेष्ठ, कृष्णप्रसाद कोइराला, दामोदर रिजाल, दीपक अधिकारी, रुद्रबहादुर गेलाङ मगर, शिवनिधि खनाल र शिवराज सापकोटाले स्वतन्त्र उम्मेदवार छन्।
चुनावी मैदानमा २४ अनुहार प्रतिस्पर्धामा रहे पनि यी मध्ये मुख्य प्रतिस्पर्धा भने नेकपा एमालेका धनबहादुर घले, नेपाली कांग्रेसका रमेशप्रसाद धमला, नेकपाका रामबहादुर भण्डारी र रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठबीचमा हुने आकलन गरिएको छ।
२०७९ को निर्वाचनमा गठबन्धनबाट कांग्रेसका रामनाथ अधिकारी विजयी भएका थिए। एमालेका खेमप्रसाद लोहनीलाई १० हजार ५३३ मतान्तरले पराजित गर्दै विजयी भएका अधिकारीले ३४ हजार ४८३ मत प्राप्त गरेका थिए। लोहनीको २३ हजार ९५० मत थियो। २०७४ मा हार भोगेका अधिकारीले २०७९ मा लोहनीसँग बदला लिएका हुन्।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा लोहनीसँग अधिकारी पराजित भएका थिए।
खेम लोहनीले ३६ हजार २ सय मत ल्याएर विजयी हुँदा कांग्रेसका अधिकारी ३५ हजार ६ सय मतसहित पराजित भएका थिए। त्यतिबेला माओवादी र राप्रपाले एमालेलाई समर्थन गरेका थिए।
यसरी जता गठबन्धन उतै नतिजा आउने धादिङ–२ मा यो पटकको नतिजा रोचक बन्ने देखिन्छ। सबै दलहरू एक्दाएक्लै निर्वाचनमा होमिँदा कसको पल्लाभारी हुने भन्ने विषयले चर्चा पाइरहेको छ। उम्मेदवारको अनुहार हेरेर मत स्वीङ भैरहने यहाँ दलभन्दा पनि उम्मेदवारको प्रभाव निर्णायक बन्न सक्ने अवस्था छ।
बदलिएको कांग्रेसको नारासहित चुनावी मैदानमा गएको कांग्रेसका लागि पार्टीभित्रको गुट चुनौतीका रूपमा देखिन्छ। जिल्ला सभापति, नगर प्रमुख र उम्मेदवार फरक–फरक समूहसँग जोडिएका छन्। यदि आन्तरिक असन्तुष्टि मिलाउन सकिएन भने अन्तर्घातको जोखिम रहने नेताहरू बताउँछन्।
तर प्रमुख आकांक्षीहरूले टिकट नपाउने कुरा पहिले नै स्पष्ट भएकाले खुला विद्रोहको सम्भावना कम देखिन्छ। उम्मेदवार धमलाको संगठनात्मक अनुभव र बाहिरी नेटवर्क उनको बलियो पक्ष हो।
धमला कांग्रेस धादिङका पूर्वसभापति हुन्। पर्यटन व्यवसायी समेत रहेका धमला जिल्लाका प्रभावशाली नेतामा गनिन्छन्। कांग्रेसभित्रको गुटको राजनीति मौलाउन नपाए धमलाको पोल्टामा नतिजा पर्ने कांग्रेसहरूको विश्वास छ।
यता, नेकपा एमालेमा पनि टिकट विवादले असन्तुष्टि बढेको छ। सुरुमा एक जनालाई टिकट दिएर फेरि अर्कोलाई र त्यसपछि पुनः पहिलेका उम्मेदवारलाई नै आधिकारिक बनाउँदा कार्यकर्तामा अन्योल देखिएको छ। तथापि, उम्मेदवार घलेको स्थानीय आधार र समुदायमा प्रभाव एमालेका लागि सकारात्मक पक्ष हो। २०७० को संविधान सभा निर्वाचनमा विजयी भएका घले बलियो उम्मेदवार हुन्।
नेकपाबाट उम्मेदवार बनेका भण्डारी त्रिपुरासुन्दरीका स्थायी बासिन्दा हुन्। जनयुद्धमा खुट्टा गुमाएका भण्डारी ज्यूँदो सहिदको रुपमा चिनिन्छन्। भण्डारीले स्थानीय सहानुभूतिको मत तान्न सक्ने देखिन्छ। रास्वपाबाट उम्मेदवार बनेका श्रेष्ठ पार्टीको केन्द्रीय संगठन विभाग उपप्रमुख हुन्। सामाजिक सञ्जाल र शहरी मतदातामा प्रभाव पर्ने अपेक्षा छ।
तर उम्मेदवार चयनप्रति पार्टीभित्र देखिएको असन्तुष्टिका कारण श्रेष्ठलाई सहज भने देखिँदैन। अघिल्लो निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेकी बसुमाया तामाङले ५ हजार ५२५ मत मात्रै प्राप्त गरेकी थिइन्। यो मतलाई हेर्ने हो भने रास्वपालाई जित निकाल्न सहज देखिँदैन।
त्यसोत, यो क्षेत्र राप्रपा, उज्यालो नेपाल पार्टी र श्रम संस्कृति पार्टी, नेकपा माओवादी जस्ता नयाँ दलले प्राप्त गर्ने मतले पनि चुनावी परिणाम तय गर्ने देखिन्छ।
यस्तो छ समानुपातिक मत
२०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ जित निकालेको कांग्रेस समानुपातिक तर्फ पनि पहिलो बनेको थियो। कांग्रेसले २० हजार ९५७ मत ल्याउँदा एमालेले १६ हजार २७५ मत ल्याएर दोस्रो भएको थियो। तत्कालीन माओवादी केन्द्रले ११ हजार ४९४, राप्रपाले ७ हजार ६३०, रास्वपाले ५ हजार ६२८ र तत्कालीन एकीकृत समाजवादीले २ हजार ९३४ मत प्राप्त गरेको थियो।
समानुपातिकतर्फको मत हेर्ने हो भने यस क्षेत्रमा कांग्रेस बलियो देखिन्छ।
समानुपातिकतर्फ दोस्रो भएको एमालेको मत त्यति कमजोर भने छैन। उम्मेदवारको व्यक्तिगत बस्तुस्थिती अनुसार मत तलमाथि भैरहने यहाँ एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने समानुपातिक मतको तथ्यांकले देखाउँछ। तत्कालीन नेकपा एस र माओवादी केन्द्र लगायत दलहरू समायोजन भएर बनेको नेकपा तेस्रो स्थानमा देखिन्छ।
२०७९ को निर्वाचनमा धादिङ–२ मा कुल १ लाख ३४ हजार मतदाता थिए। आउँदो निर्वाचनमा यस क्षेत्रमा ३ हजार ८६८ मतदाता थपिएका छन्।
के भन्छन् उम्मेदवार?
पुराना दलहरूले नयाँ दललाई प्रतिस्पर्धीको रुपमा नहेरे पनि रास्वपाले भने यो पटक आफ्नै जित हुने दाबी गरिरहेको छ। रास्वपाबाट उम्मेदवार बनेका श्रेष्ठ मतदाताहरुले नयाँ दललाई विश्वास गरेर जिताउने बताउँछन्।
‘अहिले हामी प्रत्येक दिन मतदाताहरू भेटिरहेका छौँ। उहाँहरूको सल्लाह, सुझाव, गुनासो टिपोट गरिरहेका छौँ’, श्रेष्ठले भने, ‘मतदाता भेटिरहँदा उहाँहरू परिवर्तनको लागि उत्साहित हुनुहुन्छ। पुराना दलबाट निराश बनेका मतदाताहरू परिवर्तनको लागि फागुन २१ कुरिरहनु भएको पाएको छु।’
जेनजी आन्दोलनको मर्म बोकेर मतदातामाझ पुगिरहेका रास्वपाप्रति नयाँ पुस्ताहरुमात्रै नभएर पुराना पुस्ताहरु समेत उत्साहित रहेको उनको दाबी छ।
‘अहिले रास्वपा सभापति रवि लामिछाने सहित बालेन शाह वरिष्ठ नेता बन्नुभएर एकै ठाउँमा उभिनुभएपछि नवयुवाहरुमा पलाएको आशाले नै मलाई जिताउँछ,’ उनले थपे, ‘जेन–जी उमेर समूहका मतदाताको मत पुराना दललाई जाँदैन। युवा समूहका आग्रहमा आमावुबाहरुले पनि रास्वपामै मत दिनुहुन्छ भन्ने विश्वास नै म जित्ने आधार हो।’
एमालेका उम्मेदवार धनबहादुर गोले विजयी हुनेमा शंका नरहेको बताउँछन्। २०७० को संविधान सभा निर्वाचनमा विजयी भएको स्मरण गर्दै उनी भन्छन्, ‘धादिङको यस क्षेत्रका लागि नेकपा एमालेको ठूलो योगदान छ। सोही कारण पनि म विजयी हुन्छु।’
संविधानसभा सदस्य रहँदा सुरु गरिएका विकास योजनालाई निरन्तरता दिने प्रतिवद्धता सहित मतदाता भेटघाटमा जुटिरहेका घलेले एक घर–एक धारा भन्ने नारालाई अघि सारेका छन्।
यता, नेकपाबाट उम्मेदवार बनेका भण्डारी पहिलो पटकको उम्मेदवारी नै अन्तिम हुने बताइरहेका छन्। पहिलो पटक संसदीय निर्वाचनको टिकट पाएका भण्डारी जिते पनि हारे पनि दोहोर्याएर मत माग्न मतदातामाझ नपुग्ने बताउँछन्।
आउँदो फागुन २१ गते हुने निर्वाचनमा एमाले र कांग्रेसलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरेका भण्डारी मतदाताले आफैंलाई जिताउनेमा ढुक्क देखिन्छन्।
Shares

प्रतिक्रिया