नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेललाई पार्टीले पदमुक्त गरेको छ।
आइतबार जिल्ला सचिवालयको बैठकले पोखरेल लामो समयदेखि पार्टीको नियमित कामकाजमा सक्रिय नरहेको तथा सामाजिक सञ्जालमार्फत राजीनामासम्बन्धी अभिव्यक्ति सार्वजनिक गरेको भन्दै पदमुक्त गरेको हो।
एमाले मकवानपुरकी सचिव सीता विष्टको अनुसार ११ औँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष पोखरेल विगत करिब पाँच महिनादेखि पार्टीका गतिविधि र सम्पर्कमा थिएनन्।
पछिल्लो समय उनले प्रतिनिधिसभा निर्वाचनको मतपरिणामसँग सम्बन्धित विषय उठाउँदै आफ्नो फेसबुक पेजमार्फत जिम्मेवारीबाट राजीनामा दिएको अभिव्यक्ति सार्वजनिक गरेका थिए।
यस विषयमा आज बसेको जिल्ला सचिवालय बैठकले सामाजिक सञ्जालमार्फत गरिएको उक्त अभिव्यक्तिले पार्टी पंक्ति र सर्वसाधारणमा भ्रम सिर्जना गरेको निष्कर्ष निकाल्दै पोखरेललाई अध्यक्ष पदबाट मुक्त गर्ने निर्णय गरेको हो।
सोही निर्णयअनुसार पार्टीका उपाध्यक्ष हिदम लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको सचिव विष्टले जानकारी दिइन्। लामा यसअघि उपाध्यक्षको जिम्मेवारीमा थिए।
Shares

प्रतिक्रिया