बागमती


काठमाडौँ महानगरवासी महिलालाई चैत १६ देखि वीर अस्पतालमा स्तन र पाठेघरको मुखको क्यान्सरको उपचार निःशुल्क

काठमाडौँ महानगरवासी महिलालाई चैत १६ देखि वीर अस्पतालमा स्तन र पाठेघरको मुखको क्यान्सरको उपचार निःशुल्क

नेपालखबर
चैत ३, २०८२ मंगलबार १२:०, काठमाडौँ

स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार गराउन काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता गरेको छ। 

काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माका बिच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सो अवसरमा महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको समेत उपस्थिति थियो।

कार्यवाहक प्रमुख डङ्गोलले क्यान्सरबाट धेरै महिलाले अकालमा ज्यान जाने गरेको उल्लेख गर्दै क्यान्सरबाट बच्ने उपायमध्ये नियमित परीक्षण गराउन एउटा विधि रहेको बताइन्। 

यस क्रममा उनले कामकाजी, गृहिणीहरूलाई समय व्यवस्थापन गर्न सहज हुने परीक्षण तालिका बनाउन निर्देशन दिइन्। 

उनका अनुसार परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ। प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ। यसपछि मेमोग्राफीका लागि पठाइन्छ। पाठेघरको मुखको क्यान्सर परीक्षणमा एचपीभी डीएनए पीसीआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ। यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ।

अस्पतालका निर्देशक प्रा डा शर्माले महिलाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरबाट बच्न समयमै स्क्रिनिङ गर्नुपर्ने बताए।

‘मलाई लक्षण देखिएकै छैन, किन परीक्षण गराउनु भन्ने मानसिकताले अवस्था बिग्रिने गरेको छ। बिग्रिएको यो अवस्था सुधार गर्न लक्षण नभए पनि परीक्षण गराउनु पर्छ’, उनले भने।

स्वास्थ्य विभागका प्रमुख केसीका अनुसार महानगरभित्रका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला र गएको वर्ष गरिएको परीक्षणका क्रममा छुटेका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाको परीक्षण र प्रारम्भिक उपचार गरिने बताए।

उनले क्यान्सर परीक्षण चैत १६ गतेदेखि हुने र हरेक दिन १०० देखि १२० जनासम्मको परीक्षण गरिने बताए।

नेपालमा सबभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad