ब्लग


कांग्रेसले किन माग्न सकेन केन्द्रीय सदस्यबाट रमेश लेखकको राजीनामा?

पर्खाल लगाएपछि धेरै थोक पर्खालबाहिर पर्छ
कांग्रेसले किन माग्न सकेन केन्द्रीय सदस्यबाट रमेश लेखकको राजीनामा?

अमृत ज्ञवाली
असोज २५, २०८२ शनिबार ९:१०, काठमाडौँ

जसलाई समाजले केटाकेटी भनिरह्यो, जसलाई शिक्षा र स्वास्थ्यको सुलभ पहुँच निकै अप्ठेरो छ भन्ने सन्देश प्रवाह गराइयो, जसलाई विश्वविद्यालयभन्दा बढी पुतलीसडक, बागबजारका म्यानपावर र कन्सल्टेन्सीहरूबाट भविष्य खोज्न बाध्य पारियो, तिनकै सूचनाको माध्यमहरूमा प्रतिबन्धको घोषणा गरियो। जसले साना व्यवसाय गरेर, कन्टेन्ट सिर्जना गरेर जीविकोपार्जन गरिरहेका थिए, ती सबैलाई अनदेखा गरियो। जबर्जस्ती थुनेर राखेको पानीको बाँध अत्यन्त कच्चा थियो। बाँध फुट्यो, पानी बग्यो। 

भएको यत्ति हो।

समय उही हो। सपना उही हो। सम्मोहन उही हो। सम्पदा उही हुन्। सनातन उही हो। भनिएको यो थियो कि नेतृत्वको नालायकी बढी भयो, बदलौँ। लोकतन्त्रको जगमा टेकेर ‘स्टालिन’ अभ्यास रोकौँ। चाकरीको चक्र तोडेर ‘फ्री स्पेस’को निर्माण गरौँ। 

बदल्न खोज्नेले पनि के बदल्न खोजेको भन्दा यही कुशासन भनेका न थिए। स्वतन्त्रतामाथिको लगाम मान्दैनौँ भनेका थिए। कुन अर्थमा नाजायज माग थिए र? कुन अर्थमा नयाँ युगको सपना बोकेर हिँडेको पुस्ता खराब थियो र? थिएन नि। जरुर यो विध्वसं सुरु गर्ने मौका भइदियो। तर यसको तह–तहमा वातावरण बनाइदिने काम हाम्रा दलहरूले गरेका थिए होइन र? शासन सत्तामा बस्नेले बनाइदिएको होइन र? 

दलविहीन राजनीति हुन सक्तैन। उनीहरू पनि दल बनाऊ भन्दैछन्, मतदाता नामावली भर भन्दैछन्, आफ्नो नेता छान्दैछन्, हामी चलाउँछौ भन्दैछन्। यता हामी दलका मान्छेहरू के गर्दैछौँ? यहाँ कुन अमूक मान्छे आउँदा बन्छ वा बन्दैनमा छौँ हामी। अमूक मान्छे हटाउनु हुन्छहुँदैनमा छौँ हामी। अहिले सर्वत्र भनिएको छ नि– नायक चाहिने समाज अभागी हो भनेर। हो त्यही दुर्दशा खोज्दैछौँ फेरि।

बताउनु पर्ने कुरा हो– हाम्रो दलको स्वरूप यस्तो बन्नेछ। भनौँ न– यसरी केन्द्रीय समिति निर्माण गरिनेछ। देखाऊँ न नयाँ कार्यक्रम, नीति र समयसीमा यस्तो हुनेछ। र भनौँ, यो सबै सम्हाल्न हाम्रो नेता यो विधिबाट आउनेछन्। दुर्भाग्य यो देखिँदै छ कि हामी एउटा मान्छे हुँदा बन्छ, नहुँदा बन्दैनमा पुगिसक्यौँ।

सूचना प्रविधि उन्नत चाहिएको छ। कलाकार सम्मोहित पार्न सक्ने होऊन्, सिनेमाहरू बलिउडमा झैँ बनून् भन्ने चाहना छ। खेलाडी उस्तै तगडा हुन् भन्ने छ। बैंकका सुविधा अन्तर्राष्ट्रिय लेबलको होस् भन्ने अपेक्षा छ। सरकारी कर्मचारी चुस्त दुरुस्त बनून् भन्ने छ। 

तर हेर्नुस त, यी सबै चलाउने, राज्यको बागडोर चलाउने कस्ता मान्छे छन्? कस्तो चाहिएको हो समाजलाई? दल कस्तो हुनु पर्ने थियो, कस्ता भएर बसेका छन्? आम नागरिकले प्रश्न उठाइरहेका थिए। झिनो अवाज दलभित्र पनि थियो, तर सुनिएन। यही प्रश्न जेन–जीले सोध्यो, सडकमा आयो। 

दलहरूभित्र हुनुपर्ने विमर्श यतिधेरै थिए तर दलहरू लामो समय आफ्नो संरचनामा पकड कायम राख्न उद्यत भए। नेताहरूले गुट र गुटभित्रको गिरोह निर्माण गरेर आफ्नो बर्चस्व निर्माण हुन्छ भन्ने बुझाइमा लागे। फलस्वरूप ठूलो समूह बाहिर नै रह्यो दलभित्रको पनि र नागरिक समुदाय पनि। कवि वाशु शशीले एउटा जबर्जस्त कविता लेखेका छन्, पर्खाल लगाएपछि धेरैथोक पर्खाल बाहिर पर्छ। हो भएको यही हो। 

जो कसैलाई सोध्नुस्, हिंसा मन पर्दैन। ध्वंस मन पर्दैन। निर्मम हत्या मन पर्दैन। वयोवृद्धहरू कुटिएको दृश्य अत्यन्त निन्दनीय र दुखद छ। युवा विद्यार्थीहरूलाई दिनदहाडै राजधानीको चोकमा पाशविक हत्या गरेको छ राज्यले, के त्यो कसैलाई मन पर्छ?

तत्काल सिंहासन छोड्न पर्ने शासकले सोही साँझ आफ्नो अपराधलाई जसरी सामान्यीकरण गर्‍यो, त्यो पनि कसैलाई मन परेन, मन पर्दैन। अब त सायद भन्ने न हो, यदि ओली–लेखकले अपराध स्वीकार गरेर सत्ता छोडेको भए भाद्र २४ को मुस्लो देख्न पर्दैनथ्यो। यसमा जति जिम्मेदार यो आगो लगाउनेहरू छन्, उति नै जिम्मेदार ओली–लेखक गठबन्धन पनि छ। 

तर अजीब यो छ कि कांग्रेसले लेखकको केन्द्रीय सदस्यबाट राजीनामा मागेको पनि छैन। उनले आफैँले पनि दिएका छैनन्। अनुशासन समितिले कर्मठ कांग्रेसहरूको सदस्यता खोस्न सक्यो तर उनलाई स्पष्टीकरण समेत सोध्न सकेन। लेखक कति जिम्मेदार छन्? कि जिम्मेवारी छैन? कांग्रेसको दृष्टिकोण आएको छैन। यसले यो हत्या भएका परिवार र घाइतेहरूमा कस्तो सन्देश जान्छ?

सिंहदरबार राज्यको केन्द्र थियो। लोकतन्त्रको केन्द्र जनता हुन्। जनता र सिंहदरबारको सम्बन्ध कस्तो थियो, आफैँ सोच्न सकिन्छ। पहुँचवालाबाहेक सिंहदरबारको ढोकामा कसैलाई सहज पहुँच थिएन, छैन। गएको साढे तीन दशक किन सिंहदरबारको पर्खालले आम नागरिकको मन जित्न सकेन भन्ने गम्भीर बहस भएन। कार्पेटमुनि दबिएर बसेको कुशासनविरुद्धको आवाज र आक्रोश एकैपटक कम्पन भएको हो। यसको परकम्प अझै आउने अनुमान धेरैले गरेका छन्। 

सामान्य समाचार हेरौँ न, एउटा मन्त्रीले एक वर्षमा कुनै विभागीय जिम्मेवारी लिने डाइरेक्टर जनरल के कारण ले चार पटक फेर्छ? कुनै आयोजना प्रमुख किन दुई महिनामा बदल्छ? ल फेर्‍यो रे, ल बदल्यो रे तर किन दिँदैनन् जवाफ वा स्पष्टीकरण? 

हाम्रो लोकतन्त्रको जवाफदेहिता के हो? यो हदसम्मको स्वेच्छाचारको नेतृत्व केपी ओलीले तारन्तार गरिरहे र कांग्रेसको यसमा जोडबल रहिरह्यो। निरंकुश ओली र स्वेच्छाचारी कांग्रेस नेतृत्वको गठजोडले मुलुक हरितन्नम अवस्थामा पुगेको छ।

यति भन्दाभन्दै पनि लोकतान्त्रिक विधि, संविधान, जनता जनार्दन र हाम्रो व्यवस्था सम्बर्द्धन गर्नु नै छ। अगाडि बढ्नु नै छ। पछिल्लो दुई दशक मुख्य गरेर नेपाल कांग्रेस, एमाले र माओवादीको पूर्ण नियन्त्रणमा थियो। जे जति प्रगति, विकास गरे, यो जस यिनै नेताले लिऊन्। जे जति दुर्दशा निम्तियो, त्यसको अपजस पनि यिनैले लिनु पर्छ। 

हामीले अप्ठेरोहरूको सामना गर्नु परेको यो पहिलो पटक होइन। हरेक विप्लव सत्ताच्युतमा पुगेर टुंगिन्छ। आधुनिक राज्य व्यवस्था, शासकीय प्रणाली र अन्तर्राष्ट्रिय वैधताको कसीमा राज्य चल्ने हो, चल्छ। यस्तै अप्ठेरो बेलामा कतै अपरिपक्व निर्णय हुन्छ कि भन्ने भय पैदा भइसकेको छ।
 
एकातर्फ हाम्रा दलहरू पार्टीको नवीन मार्गको रूपरेखा प्रस्तुत गर्न हिच्किचाइरहने र अर्कोतर्फ गैरजिम्मेवार लोकरुझानको बलमा नेपालको शासनसत्ता कमजोर चेतना, कमजोर इतिहास बोकेको व्यक्तिको हातमा पुग्यो भने भन्न सकिँदैन– के हुन्छ के हुँदैन। किनकि यस्तो प्रवृत्ति कुनै लय, कुनै अपेक्षित मार्ग, संगतिमा रहँदैन।

यति बेला आम नागरिक, आम युवा र विद्यार्थी, बुद्धिजीवी र पेसाकर्मी, व्यवसायीहरूले जिम्मेवार भएर सोच्नु जरुरी छ। समाजलाई अगाडि बढाउन बलिया नागरिक समूह, जवाफदेही दल र सम्मानित नेतृत्व चाहिन्छ। हरेक क्रान्तिपछि प्रतिक्रान्तिको सम्भावनाको गृहकार्य हुन्छ नै। यो सहरी विप्लवले विगतको दुष्चक्रबाट माथि उठेर अगाडि बढ भनेको हो। यही स्पिरिटबाट दलहरू अगाडि बढ्न सके नेपालको सुदूर भविष्यसम्म लोकतन्त्र सुरक्षित हुनेछ, समुन्नतिको यात्रा कायम रहनेछ।

(इन्जिनियर अमृत ज्ञवाली नेपाली कांग्रेसका महासमिति सदस्य हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad