काठमाडौँको कीर्तिपुरमा एक युवकको हत्या गरिएको छ भने हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्।
बुधबार दिउँसो धारिलो हतियार प्रहार गरी गुल्मीको धुरकोटका विपिन घिमिरेको हत्या गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
बुधबार दिउँसो सवा २ बजेतिर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो।
हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। उनीहरू विपिनको चिनजानकै रहेको भट्टराईले बताए। उनीहरू यसअघि पनि पक्राउ परेर छुटेको अभिलेख प्रहरीले फेला पारेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौँको कीर्तिपुर नगरपालिका-९ भाजंगल बस्ने अछामको साँफेबगर नगरपालिका-४ का २५ वर्षीय महेन्द्र शाह, काठमाडौँको कीर्तिपुर नगरपालिका-१० पाँगा दोबाटो बस्ने कैलालीको बर्दगोरिया गाउँपालिका-४ का २३ वर्षीय रबिन्द्र धामी र काठमाडौँको कीर्तिपुर नगरपालिका-८ सिनेमा हल बस्ने कैलालीको घोडाघोडी नगरपालिका-१ का २२ वर्षीय रोशन विष्ट रहेका छन्।
मृतक २४ वर्षीय घिमिरे पनि कीर्तिपुर-३ मा बस्दै आएका थिए। साथीसाथी बीचमा विवाद हुँदा धारिलो हतियार प्रहार भएको एसपी भट्टराईले बताए। प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
Shares

प्रतिक्रिया