ad ad

प्रवास


काबुलको दूतावासमा सुरक्षा दिएका नेपालीलाई बेलायतले तत्काल डिपोर्ट नगर्ने

काबुलको दूतावासमा सुरक्षा दिएका नेपालीलाई बेलायतले तत्काल डिपोर्ट नगर्ने

अफगानिस्तानबाट उद्दार गरेर नेपालीसहितलाई बेलायत लगिँदै। तस्बिर : बम गुरुङ


नेपालखबर
चैत २४, २०७९ शुक्रबार १२:३२, काठमाडौँ

तालिबानले गत वर्ष अफगानिस्तान कब्जा गर्नुअघि काबुलस्थित बेलायती दूतावासमा सुरक्षाको जिम्मेवारी लिएका नेपाली सरक्षागार्डको समूहलाई तत्काल देश निकाला गर्ने निर्णयबाट बेलायत सरकार पछि हटेको छ। 

बेलायतले बिहीबार भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको ११ जनाको समूहलाई तत्काल नेपाल डिपोर्ट नगर्ने निर्णय लिएको हो। 

काबुलस्थित बेलायती र क्यानडाका दूतावास रहेको उच्चसुरक्षायुक्त कम्पाउन्डमा गार्डका रुपमा काम गरेका ती नेपालीलाई काबुलमा तालिबानी कब्जापछि उद्दार गरेर बेलायत लगिएको थियो।

गत साता पश्चिम लण्डनको एक होटलबाट छापा मारेर ११ मध्ये १० जनालाई बेलायती प्रहरीले हिरासतमा लिएको थियो। 

बमबहादुर गुरुङसहितका नेपालीहरु र केही भारतीयलाई अध्यागमन अधिकारीले आफ्नो देशमा डिपोर्ट गरिदिने गरी कागजपत्र उपलब्ध गराएका थिए।

तर बेलायत सरकारले बिहीबार हाललाई ती सुरक्षागार्ड उनीहरुको देश पठाउने अभियान रोकिएको बताए। 

बेलायती  गृह मन्त्रालयले एएफपीलाई बताएअनुसार अर्को निर्णय नभएसम्म उनीहरुले द‍ेश छाड्नु पर्ने छैन। 'थप समीक्षा नभएसम्मलाई यो समूहलाई देशबाट हटाउने कार्य रोकिएको छ', गृहमन्त्रालयले भनेको छ। 

यसअघि बेलायतको प्रतिष्ठित पत्रिका द गार्जियनले सन् २०२१ अगस्टसम्म काबुलमा बेलायती र क्यानेडियन दूतावास सुरक्षामा खटिएका नेपाली गार्डहरुलाई पक्राउ गरेर नेपाल डिपोर्ट गर्न लागेको थियो। 

तालिबान विद्रोहीहरूले राजधानी काबुलमा कब्जा जमाएपछि ११ जना नेपाली र २ जना भारतीय सुरक्षा गार्डलाई काबुलबाट उद्दार गरी बेलायत लगिएको थियो। 

बेलायत लगेकामध्ये केही सुरक्षागार्डले त्यहीँ स्थायी बसोबास अनुमति पाइसकेका छन्। बाँकीलाई पक्राउ गरेर डिपोर्ट गर्ने तयारी बेलायतले थालेको थियो।

बेलायतले नेपाली सुरक्षागार्ड ३७ वर्षीय गुरूङसहितलाई फर्काउन लागेको थियो। उनले १० वर्षभन्दा बढी समय अफगानिस्तानको काबुलस्थित विभिन्न पश्चिमा देशका राजदूतावासमा सुरक्षागार्डको काम गरेका थिए।

उनी काबुलमा तालिबानले सत्ता कब्जा गर्नुअघि बेलायत र क्यानेडियन दूतावासको सुरक्षा सुपरीवेक्षकका रुपमा कार्यरत थिए।

काबुलबाट उद्दार गरेर लगिएपछि उननले बेलायत स्थायी बसोबासका लागि आवेदन दिएर प्रक्रिया पनि थाले। बेलायत सरकारले सन् २०२२ को फेब्रुअरीमा उनको निवेदन स्वीकृत गर्‍यो। त्यसपछि बायोमेट्रिक गर्नुपर्ने खबर पनि उनलाई बेलायत सरकारले दियो। 

तर बेलायत बसोबासका लागि निवेदन स्वीकृत भएर अध्ययन भइरहेका बेला उनलाई बेलायतको अफगानी पुनर्स्थापना टोलीले अफगानिस्तानबाट गरिएको उद्दार सहयोग र सद्भाव मात्रै भएको भन्यो। 

उनलाई पठाइएको ईमेलमा अफगान नागरिक पुनर्स्थापना स्किमअन्तर्गत बेलायतमा बस्न गुरुङ योग्य नरहेको उल्लेख थियो।

त्यसपछि बेलायतको प्रहरीले गुरुङसहित अफगानिस्तानबाट उद्दार गरिएका अन्य नेपाली र भारतीयलाई पनि पक्राउ गरेर अध्यागमनको नियन्त्रणमा राखेका थिए। यस्तोमा उनीहरुले बेलायतमै रहन पाउनुपर्ने माग गरेका थिए। 

‘मलाई पक्राउ गर्दा काममा जान तयार भएको थिएँ। बेलायत सरकारले मलाई गरेको व्यवहारले दुखित,’ उनले गार्जियनलाई भनेका छन्,‘काबुलमा दशौँ वर्ष बेलायती दूतावासका कर्मचारीको सुरक्षा गरेँ। हामीले त्यसक्रममा अपराध पनि गरेको होइन। अहिले पनि म बेलायतमै बसेर ब्रिटिश सैनिकमा काम गर्न चाहन्छु।’

गुरुङले बेलायती दूतावासको सेवा गरेको बदला आफूसहित अन्य नेपालीलाई पनि अप्रिल ११ खमा नेपाल डिपोर्ट गरिदिने खबर आएको बताएका थिए। तर बेलायतले तत्काललाई उनीहरुलाई अब त्यहीँ बस्न दिने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .