नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बाट होटल व्यवस्थापनमा स्नातक (बीएचएम) गरेकी ललितपुर, ग्वार्कोकी प्रिज्मा पौडेल यतिखेर झन्डै साढे तीन लाखको जागिर हात पर्दा निकै दंग छिन्।
विद्यालय शिक्षा पूरा गरेपछि पौडेल ६ वर्षअघि नाथममा भर्ना भएकी थिइन्। नाथम नेपाल सरकारकै पर्यटन मन्त्रालय मातहतको कलेज हो। ४ वर्षे (८ सेमेस्टर) ब्याचलर्स डिग्रीका लागि ५ सेमेस्टर पढिसकेपछि छैटौँ र सातौँ सेमेस्टरका लागि इन्टर्न गर्न फ्रान्स पुगिन्। एक वर्षको इन्टर्न सकेपछि नेपाल फर्किन् र आठौँ सेमेस्टर पूरा गरिन्।
उनी इन्टर्न गर्न फ्रान्सको जुन होटलमा पुगेकी थिइन्, अहिले सोही होटलले उनलाई जागिर दिएको हो।
उमेरले भर्खर दुई बीसबाट उकालो लागेकी पौडेल ‘फ्रान्स-नेपाल विद्यार्थी गतिशीलता कार्यक्रम’मार्फत इन्टर्नका लागि फ्रान्स पुगेकी थिइन्।

यो कार्यक्रम तीन वर्षअघि मात्र सुरु भएको हो। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र नाथमका कार्यकारी निर्देशक राजेश उप्रेतीको फ्रान्स भ्रमणपछि यस कार्यक्रमले आफ्नो यात्रा तय गरेको थियो, जुन नाथमअन्तर्गत सञ्चालित छ।
‘फ्रान्स-नेपाल विद्यार्थी गतिशीलता कार्यक्रम’ले बीएचएम पढ्ने फ्रान्सका विद्यार्थीलाई नेपालमा र नेपालको नाथममा पढ्ने विद्यार्थीलाई फ्रान्समा इन्टर्न गर्ने गरी सहजीकरण गर्ने गरेको बताउँछन्, फ्रान्स नेपाल मैत्री संघका अध्यक्ष विनोद खकुरेल।
प्रिज्मा यही कार्यक्रमअन्तर्गत २०२३ को डिसेम्बरमा इन्टर्न (प्रशिक्षार्थी) का लागि छनोट भएकी थिइन्। जुन अवसरको ढोका उनलाई मैत्री संघका अध्यक्ष खकुरेलले खोलिदिएका थिए।
यो कार्यक्रम सुरु भएपछिको उनी छनोटमा पर्ने पहिलो ब्याच हुन्। उनी पछि दुई ब्याचले यो सुविधा उपभोग गरिसकेका छन्।

पौडेलको ब्याचमा २४ जना इन्टर्नका लागि छनोट भएका थिए, जसमध्ये आफूसहित पाँच जनालाई अहिले जागिरको अफर आएको प्रिज्मा बताउँछिन्।
उनले ले प्यालेस डे मेन्थनमा इन्टर्न गरेकी हुन्। स्विट्जरल्यान्डको सीमानजिक पर्ने फ्रान्सेली सहर एनेसीमा अवस्थित यस पाँचतारे लक्जरी प्यालेस होटलले प्रिज्मालाई इन्टर्न सकेको तीन महिनापछि जागिरको प्रस्ताव पठाएको थियो।
जसलाई पछ्याउँदै उनी गत साता (४ अप्रिल) फ्रान्स पुगिसकेकी छन्।
उनले काम गर्ने होटल रहेको एनेसी फ्रान्सका मनमोहक सहरमध्ये एक हो। एनेसी ताल, पहाडका मनोरम दृश्य र रोमाञ्चक प्याराग्लाइडिङ यहाँका मुख्य आकर्षण हुन्। प्रिज्माले काम गर्ने प्यालेस होटल यही एनेसी तालको किनारमा छ।

तालको शान्त किनार र रमणीय पार्कको बीचमा अवस्थित यस लक्जरी होटलमा प्रिज्माले काम पनि सुरु गरिसकेकी छन्, जहाँ उनले यहाँका प्रसिद्ध कार्यकारी सेफ फ्रेडरिक डेलोर्मेसको विशेषज्ञ मार्गदर्शनमा रहेर काम गर्नेछिन्।
सुरुआती तलब झन्डै साढे तीन लाख रुपैयाँ पाउने गरी काम सुरु गरेकी प्रिज्माले डेमी सेफ डे पार्टीको रूपमा रहेर काम गर्नेछिन्, जहाँ उनको मुख्य जिम्मेवारी स्टाटर सेक्सन रहेको छ। उनका अनुसार यो भनेको रेस्टुराँले दिने सेवामा पहिलो कोर्स हो।
उनले यहाँ हप्ताको ३९ घण्टा काम गर्नुपर्नेछ। तलब सुविधाबाहेक उनले पहिलो ६ महिनाका लागि आवासीय सुविधा पनि पाउनेछिन्।

के हो नाथम?
प्रिज्मालाई यस यात्रासम्म पुर्याउने पहिलो खुड्किलो हो, नाथम। पर्यटन तथा होटल व्यवस्थापन शिक्षामा चार दशकको इतिहास बोकेको नाथम सन् १९७२ मा स्थापना भएको हो। जुन नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पूर्ण स्वामित्वमा छ।
यसमा सञ्चालित शैक्षिक कार्यक्रमहरू त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग सम्बद्ध छन्। नाथमले पर्यटन र यससँग सम्बन्धित पर्यटक गाइड, ट्रेकिङ गाइड, रिभर गाइड एवं खाद्य उत्पादन, खाद्य तथा पेय पदार्थ सेवा, बरिस्ताजस्ता क्षेत्रमा तालिम प्रदान गर्दछ।
फ्रान्स नेपाल मैत्री समाजले फ्रान्सेली संस्थाहरूसँगको सहकार्य र नाथमसँग जोडिएर फ्रान्स-नेपाल विद्यार्थी गतिशीलता कार्यक्रम सुरु गरेपछि यसले दुई देशबीचका प्रतिभा आदान-प्रदानको ढोका खोलेको हो।

यसै ढोकामार्फत फ्रान्स पुगेका प्रिज्मासहितका युवाले नेपाली प्रतिभा विश्व मञ्चमा चम्कन सक्छन् भन्ने प्रमाणित गरे।
प्रिज्मालाई प्रसिद्ध प्यालेस होटलमा आफूलाई अब्बल रूपमा प्रस्तुत गर्न सजिलो पक्कै थिएन। नयाँ वातावरणमा घुलमिलदेखि कडा परिश्रमलाई उनले सहजतामा ढालिन्।
लचिलोपन, इमान्दारिता र उत्कृष्ट कार्य प्रदर्शनमा उनले आफूलाई हरेक चुनौतीसँग जित्दै लगिन्। सफलताको सिँढी मात्र आफ्नो एक मात्र लक्ष्यका साथ अघि बढिन्।
एक वर्षको इन्टर्नसिप सकियो, नेपाल फर्किन् र बाँकी पढाइ पूरा गरिन्। यही बीचमा फ्रान्सेली अधिकारीहरूबाट दुर्लभजस्तै मानिने ‘कार्य भिसा’को प्रस्ताव आयो, जुन आफ्ना लागि ‘सुनौलो अवसर’ र देशका लागि विश्व मञ्चमा आफ्ना प्रतिभाको सम्मानका रूपमा उनले बुझेकी छिन्। किनभने, प्रिज्माले फ्रान्स-नेपाल विद्यार्थी गतिशीलता कार्यक्रमको उत्कृष्ट विद्यार्थीको ताज पनि पाएकी छिन्, जुन ताज उनलाई फ्रान्स नेपाल मैत्री समाजले प्रदान गरेको हो।

यो उपाधि उनको असाधारण प्रतिभा, अटल अनुशासन र असाधारण उपलब्धिको कमाइ भएको बताउँछन्, समाजका अध्यक्ष खकुरेल। भन्छन्, ‘प्रिज्माजस्ता युवा सफलताको कथा मात्र होइनन्, आफूपछिको पिँढीलाई आदर्श पनि हुन्। सम्भावनाका लहरा हुन्। आशा छरिदिने किरण हुन्।’
कडा परिश्रम, लचिलोपन र सही मार्गदर्शनले नेपाली युवा विश्वमञ्चमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने जीवन्त प्रमाण पनि बनेका छन्, प्रिज्माहरू।
यी युवा व्यक्तिगत उपलब्धिमा मात्र सीमित होइनन्, नेपाली पाककला प्रतिभाका मार्गदर्शक पनि हुन्। जसरी प्रिज्माले फ्रान्समा प्रशिक्षित नेपालको महिला सेफ बन्ने बाटो समातेकी छन्।
Shares

प्रतिक्रिया