युरोपेली मुलुक पोल्यान्डमा एक नेपालीको मृत्यु भएको छ।
नेपालमा काभ्रे बनेपा घर भएका ३३ वर्षीय कृष्ण बजगाईंको उपचारको क्रममा रिजनल अस्पताल कोअब्जेगमा मृत्यु भएको हो।
एक्कासी पेट दुखेर कृष्णलाई गत जुन २७ मा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। लगभग डेढ महिनाको उपचार पछि ७ तारिख (हिजो) उनको अस्पतालमा मृत्यु भएको कृष्णसँगै काम गर्ने चितवनका अशोक भुसालले बताए।
‘कृष्णजी र म होटल स्कलमा एउटै काउन्टरमा बारमेनको काम गर्थ्यौँ। उहाँलाई कुनै रोग थिएन,’ भुसालले नेपालखबरसँग भने, ‘अत्यन्त बलियो मान्छे तर यस्तो अकल्पनीय दुःखद घटना घट्यो। अस्पतालले प्यान्क्रियाटाइटिससम्बन्धी रोग भनेको छ।’
रोजगारीको सिलसिलामा कृष्ण सन् २०१६ मा पोल्यान्ड आएका थिए। पोल्यान्डको राजधानी वारसाबाट ५६१ किलोमिटर टाढा रहेको उस्त्रोनी मोर्स्की सहरमा उनी श्रीमती अञ्जु गौतमका साथमा बस्थे।
अहिले उनको शव रिजनल अस्पताल कोअब्जेग शवगृहमा राखिएको र आवश्यक कानुनी प्रकृया पूरा गरी नेपाल पठाइने बताइएको छ।
मृतकको शव नेपाल पठाउन एनआरएनए पोल्यान्डले आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ।
पोल्यान्डमा रहेका नेपाली समुदायलाई ७ दिनभित्र मानवीय सहयोग अभियानका लागि आर्थिक सहयोग गरिदिन एनआरएनए पोल्यान्डले सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ।
Shares

प्रतिक्रिया