गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १२औँ महाधिवेशन तथा निर्वाचनका लागि प्रतिनिधि (मतदाता) दर्ता प्रक्रिया सम्पन्न भएको छ।
संघका उपाध्यक्ष हेमराज शर्माका अनुसार तोकिएको समयअनुसार बुधबार (२० अगस्ट) साँझसम्म ५६ देशबाट ४ हजार ६५९ जनाले स्मार्ट एनआरएनए एपमार्फत नाम दर्ता गराएका छन्। दर्ता भएका नामावलीलाई राष्ट्रिय समितिहरूले प्रमाणीकरण गरेपछि अन्तिम रूप दिइनेछ।
संघको विधानअनुसार यस महाधिवेशनमा वर्तमान कार्यसमिति, पूर्वपदाधिकारी, सल्लाहकार तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का वर्तमान र पूर्वसदस्यहरू प्रतिनिधि बन्न पाउने व्यवस्था छ। प्रमाणीकरणपछि करिब ३ हजार ४०० प्रतिनिधिलाई मात्र मतदानमा सहभागी गराइने एनआरएनएले जनाएको छ।
उपाध्यक्ष शर्माका अनुसार प्राप्त आवेदनमध्ये आईसीसी र एनसीसीमा विगतमा एक कार्यकाल काम गरेका व्यक्तिहरूको पहिचान गरी आईसीसीले नामावली एनसीसीलाई पठाउनेछ र एनसीसीले सो सूचीलाई अन्तिम रूप दिनेछ।
संघको १२औँ महाधिवेशन आगामी अक्टोबर ११ देखि १३ तारिखसम्म काठमाडौँमा गरी विश्व सम्मेलन तथा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने गरी तय गरिएको छ। यसअघि संघले अधिवक्ता राजेन्द्र घिमिरे प्रमुख आयुक्त रहने गरी चिरन्जीवी ढकाल, टिबी कार्की, प्रितम श्रेष्ठ, रजनी प्रधान, होमनाथ पाण्डे र प्रकाश सापकोटा आयुक्त रहेको निर्वाचन समिति गठन गरिसकेको छ।
अनलाइनमार्फत हुने निर्वाचनमा कानुनी सल्लाहकारको भूमिकामा अधिवक्ता मुकुन्द नेउपाने रहनेछन्।
१२औँ महाधिवेशन तथा निर्वाचनका आवेदन संख्या

Shares

प्रतिक्रिया