प्रवास


रोमानियाको होटलमा आगलागीमा मृत्यु हुने सोनी र सुस्मिता भएको पुष्टि

रोमानियाको होटलमा आगलागीमा मृत्यु हुने सोनी र सुस्मिता भएको पुष्टि

शेरबहादुर परियार
असोज १५, २०८२ बुधबार १९:२९, वारसा (पोल्यान्ड)

युरोपेली मुलुक रोमानियाको एक होटलमा सोमबार भएको आगलागीमा जलेर मृत्यु भएका २ नेपालीको पहिचान खुलेको छ।

आगलागीमा मृत्यु हुनेमा इलामको माई नगरपालिका–७ घर भएकी २१ वर्षीया सोनी लिम्बू र काठमाडौँको दक्षिणकाली नगरपालिका–९ की २४ वर्षीया सुस्मिता तामाङ रहेका छन्।

रोजगारीको सिलसिलामा सोनी १ वर्ष र सुस्मिता ५ महिना अघि मात्र रोमानिया आएका थिए। 

आगलागीमा परी सोनी र सुस्मिताको जलेर घटनास्थलमै मृत्यु भएको थियो। आगलागीबाट घाइते भएकी इलाम चुलाचुली घर भएकी सुमिना मगरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनीहरू बस्ने कोठा होटलकै माथिल्लो तलामा थियो।

आगलागी भएको होटल डालेमा विगत ५ वर्षदेखि काम गरिरहेका म्याग्दी बेनीका नारायण विकका अनुसार उक्त होटलमा उनीसहित ५ जना नेपाली काम गर्थे। उनीहरूमध्ये १ जना बिदामा नेपाल गएका थिए। 

स्थानीय समय बिहान ७ बजे ठूलो आवाज आएपछि कोठाबाट बाहिर निस्केर हेर्दा होटलको माथिल्लो तला दनदन बलेको थियो। केही समय पछि प्रहरी र अग्नि नियन्त्रकको प्रयासमा आगो नियन्त्रणमा आयो। प्रहरीले सोनी र सुस्मिताको पूरै जलेको शरीर होटलबाट निकालेको नारायणले नेपालखबरसँग बताए।

‘२ जनाकै शव पूरै जलेको अबस्थामा थियो। सोनी बहिनीले लगाएको सुनको लकेटले शवको पहिचान भएको हो’ उनले भने।

नेपालमा मृतकहरूका परिवारलाई घटनाको बारेमा आफूले जानकारी गराइ सकेको उनको भनाइ छ।

आगलागी भएको होटल डालेमा रोमानियाको राजधानी बुखारेष्टबाट लगभग ५२ किलोमिटरमा दुरीमा पर्ने प्रहोभास्थित तातरानी सहरमा पर्छ।

विद्युत सर्ट भएर आगलागी भएको भनिएको उक्त होटल अग्नि सुरक्षा सम्बन्धी मापदण्ड नपुगेका कारण एक हप्ता अघि नै प्रशासनले बन्द गरेको बताइएको छ।

छोरीको शव नेपाल पठइदिन सोनीका बुवा धनराज लिम्बूले दूतावास तथा रोमानियाको नेपाली समाजलाई आग्रह गरेका छन्। त्यस्तै आग्रह सुस्मिताका भाइ सुसान तामाङको पनि छ।

रोमानियासमेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयालले मृतकको शव नेपाल पठाउन र क्षतिपूर्तिका लागि पहल गर्ने बताए।

‘अत्यन्त दुःखद घटना घटेको छ’ उनले नेपालखबरसँग भने, ‘मृतकहरूको शव नेपाल पठाउन र क्षतिपूर्तिको लागि रोमानियन सरकार र सम्बन्धित कम्पनीसँग समन्वय गर्नेछौँ।’ 

लगभग ३० हजार नेपाली कामदार रहेको युरोपेली मुलुक रोमानियामा हाल नेपाल सरकारको दूतावास तथा कुनै पनि कुटनीतिक संयन्त्र छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad