प्रवास


नेपालखबर समाचार प्रभाव: सर्बियामा पहिलो पटक घुम्ती शिविर सञ्चालन हुने

नेपालखबर समाचार प्रभाव: सर्बियामा पहिलो पटक घुम्ती शिविर सञ्चालन हुने

शेरबहादुर परियार
माघ १६, २०८२ शुक्रबार १७:४७, मध्य युरोप

युरोपेली मुलुक सर्बियामा नेपालीहरूको राहदानी नवीकरणका लागि घुम्ती शिविर सञ्चालन हुने भएको छ।

सर्बियासहित १० वटा देशमा सेवा तथा कुटनीतिक क्षेत्र रहेको जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिनले राहदानी विभाग, काठमाडौँको समन्वयमा पहिलो पटक घुम्ती शिविर सञ्चालन गर्न लागेको हो।

सर्बियामा रोजगारीको सिलसिलामा आएका नेपालीहरू राहदानी नवीकरण गर्न नसकेर समस्यामा परेको बारे नेपालखबरले खबर सार्वजनिक गरेको थियो।

‘विभागले नेपालीहरूको सङ्ख्याका आधारमा दूतावाससँग समन्वय गरेर टोली पठाएर सेवा दिने’  राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले नेपालखबरसँग बताए।

यसैबीच बर्लिन दूतावासले शुक्रबार जारी गरेको सूचनाअनुसार आगामी २०२६ मार्च १४ तारिख (फागुन ३०) मा सर्बियाको किङ् पिटर ४३७ एसपी २ दोन्जी  मिलानोभाक १९२२० मा शिविर सञ्चालन हुने जनाएको छ।

युरोपियन युनियनको सदस्य भइनसकेको सर्बियामा रहेका नेपालीहरूले राहदानी तथा कन्सुलर सेवा लिनका लागि जर्मनीस्थित दूतावास आउन भिसा लगायतका प्रक्रिया पूरा गर्न सहज छैन। 

सीमित स्रोतसाधनका कारण दूतावास स्वयं उपस्थित भई घुम्ती शिविर सञ्चालन गर्न सम्भव नभइरहेको जर्मनीको नेपाली राजदूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयाल नेपालखबरलाई बताए। 

‘रोमानियामा घुम्ती शिविर सञ्चालन भएकै अवधिभित्रको १४ मार्चका दिन सर्बियामा १ दिने घुम्ती शिविर सञ्चालन गरिनेछ,’ फुयालले भने, ‘आगामी दिनमा पनि यही तरिका अपनाई सर्बियामा आवश्यकता अनुसार घुम्ती शिविर सञ्चालन गरिनेछ। सर्बियामा पहिलो पटक सञ्चालन हुन लागेको यस शिविरबाट धेरैभन्दा धेरै नेपालीले लाभ लिन अनुरोध गर्दछु।’

दूतावासले जारी गरेको सूचनाअनुसार १४ मार्च २०२७ भन्दा अगावै राहदानीको म्याद सकिन लागेका सर्बियामा बस्दै आएका नेपालीहरूले नवीकरण गर्न सक्नेछन्। 

अनलाइन फाराम भर्दा आगामी फेब्रुअरी ७, ८, १४, १५ तथा २१ र २२ तारिख स्लटहरू घुम्ती सेवाको प्रयोजनको लागि मात्र अपोइन्टमेन्ट डेट बुक गर्नका लागि खुला गरिने दूतावासको सूचनामा उल्लेख छ।

राहदानी दस्तुर वापतको रकम बैंक ट्रान्सफर गर्दा तोकिए बमोजिमको पूरै रकम दूतावासको बैंक खातामा सम्बन्धित आवेदकले अनिवार्य रूपमा आफ्नै नाममा २५ फेब्रुअरी २०२६ सम्म जम्मा गरेको हुनुपर्ने सूचनामा लेखिएको छ। रकम तिर्दा लाग्ने शुल्क सेवाग्राहीकै खाताबाट स्वयंले बेहोर्नुपर्ने दूतावासले सूचित गरेको छ।

साथै, राहदानी प्रक्रियाका लागि सहयोग गर्ने नाममा कुनै पनि प्रकारको अनुचित लाभ लिएको पाइएमा कानुनअनुसार कारबाहीको लागि नेपाल सरकारको सम्बन्धित निकाय तथा सर्बिया सरकारको सम्बन्धित निकायमा लेखी पठाउने चेतावनी दूतावासले पुन: दोहोर्‍याएको छ।

यसका लागि दूतावासले राहदानी नवीकरणका लागि आवश्यक कागजातहरूको सम्पूर्ण सूची सार्वजनिक गरेको छ। 

यसैबीच, राहदानीसम्बन्धी जटिलतालाई प्राथमिकता दिई समाचार प्रकाशन गर्ने नेपालखबर र समाचारको प्रभावले छोटो समयमै आवश्यक पहल गरिदिने जर्मनस्थित नेपाली दूतावासलाई सर्बियामा रहेका नेपालीले धन्यवाद दिएका छन्।

दूतावाससँग समन्वय गरिरहेका नेपाली प्रवासी सेवा समाज, सर्बियाका अध्यक्ष छिरिङ लामाले नेपालखबरसँग टेलिफोन सम्पर्कमा भने ‘सर्बियामा रहेका नेपाली प्रवासीहरूको राहदानीको जटिलतापूर्ण समस्या तथा आवाजलाई गम्भीरतापूर्वक सुनी छोटो समयमै आवश्यक पहल गरिदिनु भएकोमा नेपाल सरकार, जर्मनीको नेपाली दूतावास तथा तथा विशेष प्राथमिकता साथ खबर प्रकाशन गरिदिने नेपालखबरलाई धन्यवाद छ।’

आगामी दिनमा पनि नेपाल सरकार, कूटनीतिक नियोग तथा सम्बन्धित निकायहरूसँग सहकार्य र समन्वय निरन्तर रहने अपेक्षा गरेको लामाको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad