युरोपेली मुलुक पोल्यान्डमा ह्रदयघात भएर मृत्यु भएका कास्कीका सुमन गुरुङको परिवारलाई सम्बन्धित कम्पनीले आर्थिक सहयोग गरेको छ।
सुमन काम गर्ने पोल्यान्डको प्लातेरुफको ओस्त्रोमेचिनको टीएमएस ग्रुपले सुमनकी श्रीमती सुनिता गुरुङको नाममा आर्थिक सहयोग पठाएको हो।
टीएमएस ग्रुपले वेस्टर्न युनियनमार्फत पठाएको ४ लाख ८९ हजार ७५५ रुपैयाँ १९ पैसा सुमनको परिवारले आज प्राप्त गरेको जनाएको छ।
मृतक सुमन गुरुङको श्रीमती सुनिता गुरुङले रकम प्राप्त गरेको जनाउँदै सहयोग गरेकोमा टीएमएस ग्रुप कम्पनीलाई धन्यवाद दिइन्।
‘मैले नसोचेको सहयोग गरिदिनु भयो। मलाई जस्तो दुःखद घटना कसैलाई पनि नपरोस्। यस्तो विषम परिस्थितिमा हाम्रो परिवारलाई सहजता प्रदान गर्न भूमिका खेल्नु हुने सबैलाई धन्यवाद छ’, सुनिताले टेलिफोन संवादमा नेपालखबरसँग भनिन्।

कम्पनीमार्फत प्राप्त भएको यो रकम आफ्नो छोराको अध्ययनमा सदुपयोग गर्ने सुनिताले बताइन्। उनको ७ वर्षका छोरा सिमोन गुरुङ स्थानीय ताराकुन्ज बोर्डिङ स्कुलमा कक्षा १ मा अध्ययनरत छन्।
जर्मनीको नेपाली राजदूतावास तथा नेपाली अवैतनिक वाणिज्यदूतावास वारसाले सुमन काम गर्ने टीएमएस कम्पनीसँग परिवारलाई सहयोगका लागि विशेष पहल गरेका हुन्।
घरको मुख्य सदस्यको नै दुखद निधन भएको यो विषम अवस्थामा स्व. सुमन गुरुङको नाबालक सन्तान र परिवारलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यका साथ रोजगारदाता कम्पनीबाट केही सहयोग दिलाउने प्रयास सफल भएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले नेपालखबरलाई बताए।
नेपालबाट रोजगारीको सिलसिलामा २०८१ भदौ १६ गते रोमानिया आएका सुमन २०२५ मे ११ देखि पोल्यान्डमा थिए। कास्कीको मादी-११ उपल्लो साप्ले घर भएका ३३ वर्षीय उनको ह्रदयघातबाट जनवरी १६ मा मृत्यु भएको थियो। उनको शव जनवरी २९ तारिख नेपाल पुगेर परिवारले दाहसंस्कार गरिसकेको छ।
Shares

प्रतिक्रिया