नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजिसन (प्राप्ति) गर्ने प्रक्रिया पूरा भएको छ।
प्राप्ति प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको हो।
आज आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल र बसन्त कुमार चौधरीले एकीकृत कारोबार शुभारम्भ गरेका हुन्।
नबिल बैंकका अध्यक्ष पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगीकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए।
‘यो प्राप्तिले नबिल बैंकको आगामी व्यावसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौँ’, अध्यक्ष पौड्यालले भने।
युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात् नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड पुग्नेछ भने कुल पुँजीकोष ३२ अर्ब ६८ करोड हुनेछ।
साथै, नबिल बैंकको शाखा सञ्जाल वृद्धि भई १३५ हुनेछ। एटीएम संख्या भने १८३ हुने बैंकले जनाएको छ।
चैतसम्मको वित्तीय विवरणअनुसार निक्षेप २ खर्ब १६ अर्ब हुँदा भने कर्जा २ खर्ब १ अर्ब हुनेछ। यसले नबिल बैंकको कर्जा एवं निक्षेप दुवै २ खर्ब माथि हुनेछ।
Shares

प्रतिक्रिया