ad ad

कारोबार


निर्माण अवधि ३ वर्ष तोकिएको पुल बन्न १२ वर्ष लाग्यो!

निर्माण अवधि ३ वर्ष तोकिएको पुल बन्न १२ वर्ष लाग्यो!

रुपन्देहीको मणिग्राम मोतिपुर जोड्ने तिनाउ पुल


सुदीप भण्डारी
असार १२, २०७९ आइतबार ८:५४, बुटवल

लुम्बिनी परिक्रमा सडकअन्तर्गत पर्ने रुपन्देहीको मणिग्राम मोतिपुर जोड्ने तिनाउ पुल निर्माण सुरु भएको १२ वर्षमा तयार भएको छ। ३ वर्षमै बनाइसक्ने गरी २०६७ असार २५ गते उक्त ठेक्का सम्झौता भएको पुल बन्न १२ वर्ष लागेको हाे। 

यो पुल बुद्धको मावलीस्थल देवदहदेखि मणिग्राम, मोतीपुर, फर्साटिकर, सूर्यपुरा हुँदै लुम्बिनी पुग्नेगरी लुम्बिनी परिक्रमा अर्थात् बुद्ध परिपथको सडकमा पर्छ। लुम्बिनी परिक्रमा सडक ३ वर्षअघि नै सम्पन्न भए पनि पुल निर्माण नसकिँदा सडक अपुरोजस्तै थियो।

पुल निर्माण हुँदै गर्दा बीचमै डिजाइन परिवर्तन गर्नुपर्दा निर्माणमा ढिलाइ भएको हो। डिजाइन परिवर्तन र स्वीकृत गर्न समय लागेकाले पुल निर्माण कार्य लम्बिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए।

‘डिजाइन रिभ्यु गर्नपर्दा सही गर्न एप्रुभ गर्न समय लाग्यो। पुलचोक इन्जिनियरिङ कलेजबाट डिजाइन परिवर्तन भयो’, उनले भने, ‘त्यो डिजाइन स्वीकृत भएपछि डेढ वर्षमा काम सकिएको हो।’

पुलको जग खन्ने क्रममा बीचमा ठूलो ढुंगा पर्दा काम रोकिएको थियो।  त्यसपछि पुनः डिजाइन गरेर काम सुरु गरिएको थियो।

११ मिटर चौडाइ र १ सय ८५ मिटर लम्बाइको पुल १२ करोड ७४ लाख ५७ हजारको लागतमा तयार भएको हो।  १२ वर्षअघि ११ करोड ७२ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको थियो। 

पुलको बीचैमा डिजाइन परिर्वतन गर्नुपर्दा निर्माणसँगै लागत रकम समेत लम्बिएको सडक डिभिजन बुटवलका प्रमुख जयलाल मरासीनीले बताए।

शनिबार अपराह्न पुल उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले विकासको महत्त्वपूर्ण क्षेत्र पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताए।

तिनाउ पुल उद्घाटन गर्दै गृहमन्त्री खाँण

सरकारले चाहँदा चाहँदै पनि सम्पन्न गर्न नसकेका पूर्वाधार विकासका आयोजना पूरा गर्न थप जोड दिनुपर्ने उनले बताए। सुरक्षित यात्रा र पहुँच विस्तारका लागि सरकारले ठाँउठाँउमा सुरुङ मार्ग निर्माण गर्न लागेको उनले जानकारी पनि उनले दिए। 

बुटवल–पाल्पा खण्डको सिद्धबाबा, बुटवल–नारायणगढ खण्डको दाउन्ने र धादिङ–चितवनमा पनि सुरुङमार्ग निर्माण गरिने खाणले जानकारी दिए। ठाँउठाँउमा सुरुङ मार्ग बनेपछि काठमाडौंसँग रुपन्देहीसहित पश्चिम नेपालको दूरी कम हुँदा यस क्षेत्रमा उत्पादित वस्तु कम ढुवानी खर्चमा निर्यात गर्न सकिने र बजारको पहुँच बढ्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .