ad ad

कारोबार


हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

नेपालखबर
असोज ९, २०७९ आइतबार २०:२३, काठमाडौँ

सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ। 

कोइलाको अभावले एक महिनादेखि सिमेन्ट उत्पादन बन्द भएको हो। उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार कोइला खरीदका लागि टेन्डर भइसकेकोले छिटै समस्या समाधान हुनेछ। उनले दसैँको बिदापछि उत्पादन सुरु हुने जानकारी दिए। 

एकपटक टेन्डर गर्दा १३ हजार टन कोइला ट्रकमा ढुवानी भई आपूर्ति हुने गरेको छ। कोइलाको माध्यमबाट सिमेन्ट उत्पादनका लागि चाहिने कच्चा पदार्थ क्लिङ्कर बनाउने गरिन्छ। क्लिङ्कर अभावका कारण सिमेन्ट उत्पादन हुन सकेको छैन।

दैनिक  सात सय  ५० मेट्रिकटन र वार्षिक  दुई लाख ६० हजार  मेट्रिकटन  सिमेन्ट उत्पादन गर्ने उद्योगको भए पनि हाल उद्योग सञ्चालनको समयमा क्षमताभन्दा आधा अर्थात् करिब चारदेखि पाँचसय मेट्रिकटन सिमेन्ट उत्पादन हुने गरेको महाप्रबन्धक पाण्डेले जानकारी दिए। उत्पादन क्षमता र बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको छ।

उद्योगले  पछिल्लो चार वर्षदेखि निरन्तर घाटा बेहोरिरहेको छ। उद्योगबाट प्राप्त जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०७८र०७९ सम्ममा उद्योगलाई रु ६५ करोड ४७ लाख १६ हजार ७८२ नोक्सान भएको छ।

आर्थिक वर्ष २०७४र०७५ मा रु १६ करोड ३६ लाख नाफा कमाएको सो उद्योग त्यसपछि निरन्तर घाटामा गएको तथ्याङ्कले देखाएको छ। आव २०७५/०७६ मा उद्याेगले रु एक करोड पाँच लाख नोक्सानी बेहोरेको थियो। त्यसपछि आव २०७६/०७७ मा रु २३ करोड ८२ लाख, २०७७/०७८ मा रु १७ करोड चार लाख उद्योगलाई घाटा भएको थियो।

गत आर्थिक वर्षमा उद्योगले रु एक अर्ब २२ करोड आम्दनी गरेर रु एक अर्ब ३९ करोड खर्च गरेको बताइएको छ। गत आर्थिक वर्ष उद्योगको नोक्सानी रु २३ करोड रु ५५ लाख छ।

कर्मचारी, उपकरण, पुरानो प्रविधि, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजारलगायतका उद्योगमा समस्या रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए। उनले उद्योगको वर्तमान समस्या  हटाउन र नाफामूलक बनाउन केही योजना अगाडि बढाइएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .