कारोबार


बाँसबारी जग्गा प्रकरण : सरकारी वकिलको कार्यालयमा विनोद चौधरीको बयान

बाँसबारी जग्गा प्रकरण : सरकारी वकिलको कार्यालयमा विनोद चौधरीको बयान

नेपालखबर
चैत ८, २०८० बिहिबार ९:४७, काठमाडौँ

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा सांसद, कांग्रेस केन्द्रीय सदस्य तथा उद्यमी विनोद चौधरीसँग अहिले   सरकारी वकिलको कार्यालयले बयान लिइरहेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी श्याम ज्ञवालीका अनुसार सरकारी वकिल कार्यालयका अधिकारी र प्रहरीको संयुक्त रोहबरमा बिहानैदेखि चौधरीसँग बयान लिने क्रम जारी छ।

सीआईबीले बुधबार मात्रै चौधरीबारे छानबिन भइरहेको विषयमा संसद् सचिवालयमा पत्र पठाएको थियो। त्यसको भोलिपल्ट बिहानै सीआईबीले बोलाएपछि चौधरी बयानका लागि सरकारी वकिलको कार्यालय पुगेका हुन्।  

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना आरोपमा यसअघि सांसद चौधरीका भाइ तथा सीजी होल्डिङ्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण चौधरीलाई सीआईबीले माघ १८ मा पक्राउ गरेको थियो।

अरुणसँगै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरिएको थियो। तर उनीहरू काठमाडौँ जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा रिहा भइसकेका छन्। 

गृहमन्त्री रवि लामिछानेले कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउन विनोद चौधरीसहितका आरोपितलाई अनुसन्धानको दायरामा ल्याउन सीआईबीलाई निर्देशन दिएका थिए। 

त्यसो त प्रतिनिधि सभा सदस्य विनोद चौधरीले संसद्‌मा बोल्दै आफू उक्त प्रकरणमा संलग्न नरहेको दाबी गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .