चालु आर्थिक वर्षको दुई महिनामा वस्तु तथा सेवा आयात गर्ने क्षमतामा वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ कोदुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको हो।
राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म वैदेशिक संचिती ५.५ प्रतिशतले बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो। यसले १६ महिना ८ दिनको वस्तु आयात धान्न सक्नेछ। गत असारमा २० खर्ब ४१ करोड १० अर्ब बराबरको संचितता रहेकोमा भदौ महिनामा बढेर २१ खर्ब माथि पुगेको हो।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ४.४ प्रतिशतले वृद्धि भई १९ खर्ब २८ अर्ब ९९ करोड पुगेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ भदौ मसान्तमा १६.१ प्रतिशतले वद्धि भई २ खर्ब २३ अर्ब ५३ करोड कायम भएको छ।
२०८१ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ।
२०८१ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३७.७ प्रतिशत, ११४.४ प्रतिशत र ३०.८ प्रतिशत रहेका छन्।
२०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए।
Shares

प्रतिक्रिया