कारोबार


भारतले सन् २०२५ भित्रै व्यावसायिक चिप उत्पादन सुरु गर्ने

भारतले सन् २०२५ भित्रै व्यावसायिक चिप उत्पादन सुरु गर्ने

रासस/एएफपी
भदौ १७, २०८२ मंगलबार १६:४३, काठमाडौँ

भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्ने भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राष्ट्रलाई चिप नवप्रवर्तनका लागि भविष्यको ‘ग्लोबल हब’ का रूपमा प्रस्तुत गर्दै मङ्गलबार यसबारे घोषणा गरेका हुन्।

नयाँदिल्लीमा आयोजित वार्षिक ‘सेमिकन इन्डिया सम्मेलन’ को उद्घाटन समारोहमा बोल्दै मोदीले माइक्रोन र टाटाको परीक्षण चिप उत्पादन भइसकेको जानकारी दिए।

“व्यावसायिक चिप उत्पादन यसै वर्ष सुरु हुनेछ”, उनले भने, “यसले सेमिकन्डक्टर क्षेत्रमा भारत कति तीव्र गतिमा अघि बढिरहेको छ भन्ने देखाउँछ ।”

भारतको सेमिकन्डक्टर बजार सन् २०२३ मा ३८ अर्ब डलर थियो । यो २०२४–२०२५ मा बढेर ४५ देखि ५० अर्ब डलर पुगेको छ । सरकारले सन् २०३० सम्म एक खर्ब देखि एक खर्ब १० अर्ब डलरको लक्ष्य लिएको छ ।

देशले हाल १८ अर्ब डलरको लगानीमा १० सेमिकन्डक्टर परियोजनाहरू विकास गरिरहेको छ, जसमा नोएडा र बेङ्गलुरुस्थित दुईवटा नयाँ ३–न्यानोमिटर डिजाइन सुविधा पनि पर्छन् ।

“हाम्रो यात्रा ढिलो सुरु भए पनि अब हामीलाई कसैले रोक्न सक्दैन”, मोदीले जोड दिए।

भारतको तीन क्षेत्रमा विशेष प्रभुत्व रहेको बताइएको छ—सेमिकन्डक्टर उपकरणका लागि कम्पोनेन्ट उत्पादन, रसायन र खनिज जस्ता महत्त्वपूर्ण सामग्री आपूर्ति र अनुसन्धान तथा विकासदेखि आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा र क्लाउड कम्प्युटिङसम्मका सेवा प्रदान ।

विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्रले ‘मानव पूँजी’ लाई आफ्नो ठूला शक्तिमध्ये एक भएको दाबी गरेको छ । मोदीका अनुसार सेमिकन्डक्टर डिजाइन क्षेत्रमा विश्वव्यापी प्रतिभाको २० प्रतिशत भारतमै छ ।

गत हप्ताको टोकियो भ्रमणका क्रममा जापानले सेमिकन्डक्टर र एआई सहयोगमा लगानी बढाउँदै भारतमा एक सय खर्ब येन (६८ अर्ब डलर) पुर्‍याउने वाचा गरेपछि मोदीले यो घोषणा गरेका हुन्।

विश्वको पाँचौँ ठूलो र तीव्र गतिमा बढ्दो अर्थतन्त्र भारत अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ५० प्रतिशत करको दण्डबाट प्रभावित भएको छ र विकासका नयाँ बाटो खोजिरहेको छ ।

अन्तर्राष्ट्रिय चिपको माग बढ्दो क्रममा भए पनि आपूर्ति मुट्ठीभर क्षेत्रमा केन्द्रित हुँदा भारतले ‘आत्मनिर्भर र विश्वव्यापी रूपमा प्रतिस्पर्धी’ बन्ने उद्देश्यसहित डिजाइन, निर्माण र प्याकेजिङलाई समेट्ने ‘पूर्ण इकोसिस्टम’ निर्माण गरिरहेको बताएको छ ।

“आजको भारतले संसारमा विश्वास जगाउँछ”, मोदीले यस हप्ताको सरकारी ब्रीफिङ नोटमा भने, “जब चिपहरूको कुरा आउँछ, तपाईं आत्मविश्वासका साथ भारतलाई रोज्न सक्नुहुन्छ ।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad