कारोबार


गाउँमै उद्यमी बनेका चौधरी

गाउँमै उद्यमी बनेका चौधरी

नेपालखबर
कात्तिक ६, २०८२ बिहिबार २०:६, कञ्चनपुर

शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ४२ वर्षीय रामबहादुर चौधरीले काठका भाँडाकुँडा निर्माण गर्दै आएका छन्। निर्माण गरिएका भाँडाकुडा बिक्री गरी मुक्त कमैया परिवारका उनी आत्मनिर्भर बनेका छन्।  

रोजगारीको अवसर नपाएर सङ्घर्षरत चौधरीले अहिले आफ्नै सीप र मेहनतका बलमा सफल व्यवसायीका रूपमा पहिचान बनाएका छन्। बिहान झिसमिसेदेखि साँझ अबेरसम्म कहिले ठेकी, कहिले बेलन, कहिले गिलास त कहिले घर सजावटका आकर्षक वस्तु बनाउनमा चौधरी व्यस्त रहन्छन्।

'काठका भाँडाकुँडा बनाउने सीप सिकेपछि अरुसँग रकमका लागि हात थाप्नु परेको छैन', चौधरीले भने, 'महिनामा रु ५० हजारसम्म आम्दानी हुन्छ, अहिले नगरपालिका क्षेत्रमै काठको कार्य गर्ने व्यक्तिका रुपमा मेरो पहिचान बनेको छ, यसमै गर्व छ।'

विजयसालको काठबाट बनेका भाँडाकुँडा स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले यसको माग बढ्दो रुपमा रहेको चौधरी बताउँछन्। 

चौधरीले भने, 'विजयसालको काठको अम्खोरा, गिलास लगायतमा पानी पिउँदा शरीरको विकार हट्ने भएकाले अहिले बजारमा यसको माग बढेको छ ।' 

उनले बनाएका सामान ५ सयदेखि २ हजारसम्ममा बिक्री हुन्छन्। स्थानीय बजारमै माग धान्न मुस्किल हुने गरी माग आएको उनले बताए।

'काठको सीप सिक्न त्यति सहज थिएन', चौधरी भन्छन्, 'बुबा गाउँकै एक जमिनदारको घरमा कमैया हुनुहुन्थ्यो, बाल्यकाल जमिन्दारको घरमै बित्यो, अलि जान्ने बुझने भएपछि काठको कामप्रतिको अभिरुचि जाग्यो।'

गाउँकै मिस्त्रीसँग काम सिक्न थालेको उनी बताउँछन्।  
 
'कमैयामुक्ति अभियानपछि नयाँ अवसर खोज्दै सीप विकास तालिम केन्द्र पुगे, विसं २०५६ मा काठका भाँडाकुँडा बनाउने तालिम लिए, कमैयामुक्त भएपछि केही समय अनिश्चिततामा थिएँ,' चौधरी विगत सम्झँदै भन्छन्, 'त्यो तालिमले मलाई आत्मनिर्भर बनायो।'
 
व्यवसाय सुरु गर्नुअघि ८ वर्षसम्म उनी सीप विकास तालिम केन्द्रमा प्रशिक्षकका रूपमा कार्यरत थिए। अहिले पनि स्थानीय तह वा गैरसरकारी संस्थाले सञ्चालन गर्ने तालिममा उनलाई प्रशिक्षकको रूपमा बोलाउने गर्छन्। 'अर्कालाई सीप सिकाउँदा आफू पनि प्रेरित हुन्छु,' चौधरीले भने।

चौधरीले हाल दुई सहयोगी कामदारसहित व्यवसाय सञ्चालन गर्दै आएका छन्। हालसम्म उनले उद्योगमा करिब रु १४ लाख लगानी गरेका छन्। लघुवित्त संस्थाबाट लिएको रु पाँच लाख ऋण पनि यसमा समावेश छ। बाँकी पूँजी आफ्नै आम्दानी र बचतबाट उनले जुटाएका हुन्। 
 
चौधरीले स–मिल र सामुदायिक वनबाट विजयसालको काठ खरिद गर्दै आएका छन्। मागअनुसार काठ नपाउँदा काममा अवरोध आउने गरेको उनको दुखेसो छ। त्यससँगै चौधरीलाई लगानीको पनि चुनौती छ। मुक्त कमैया पुनःस्थापनाका क्रममा उनले पाएको पाँच कठ्ठा जग्गाको लालपूर्जा बैंकमा धितो राख्न नपाउने नियमले कर्जा विस्तारमा समस्या आएको छ। 

'लालपूर्जा बैंकमा राख्न पाइँदैन, त्यसैले कर्जा पाइँदैन,' चौधरी भन्छन्, 'लगानी बढाउन आधार नहुँदा व्यवसाय विस्तारको योजना रोकिएको छ।' 

चौधरीको आम्दानीले अहिले परिवारको सम्पूर्ण खर्च धानेको छ। उनका सन्तान निजी विद्यालयमा अध्ययनरत छन् । घर निर्माण कार्य पनि यही आम्दानीबाट सम्भव भएको उनी बताउँछन्। 

चौधरी अब हस्तकलाका वस्तु ठूलो बजारसम्म पुर्याउने योजनामा छन्। उनको लक्ष्य आगामी वर्षसम्म आफ्ना उत्पादनलाई बाह्य बजारमा विस्तार गर्ने र स्थानीय हस्तकला प्रदर्शनीमा सहभागिता जनाउने रहेको छ। 

'हाम्रो सीपले गाउँको पहिचान बनाओस् भन्ने मेरो चाहना हो,' चौधरी भन्छन्, 'काठका नेपाली हस्तकलालाई ब्रान्डको रूपमा स्थापित गर्न सकिन्छ, त्यसका लागि अझै मिहेनेत गर्न तम्तयार छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad