नेपाल राष्ट्र बैंकको बाह्य सम्पत्ति अर्थात् विदेशमा रहेको सम्पत्ति एकै वर्षमा १०८ प्रतिशतभन्दा धेरैले बढेको छ।
राष्ट्र बैंकले निकालेको नेपाल माइक्रोइकोनोमिक इन्डिकेटर २०२५ मा राष्ट्र बैंकको सम्पत्ति अघिल्लो वर्षहरुको तुलनामा अत्यधिक बढेको देखिएको हो।
आव २०८१/८२ सम्म राष्ट्र बैंकसँग कुल १ खर्ब ४७ अर्ब ७ करोड बराबरको बाह्य सम्पत्ति रहेको देखिन्छ। जुन बैंकको बाह्य दायित्व घटाएर आउने रकम हो।
यो भनेको नेपाल राष्ट्र बैंकसँग भएका विदेशी मुद्रा र बैंक मौज्दात, विदेशी बैंकहरुमा भएको मुद्दती निक्षेप, विदेशी ऋणपत्रको लगानी, सुनचाँदीजस्ता धातुहरु तथा अन्तर्राष्ट्रिय वित्त कम्पनी तथा कोषहरुमा गरेका लगानी हुन्।
आव २०८०/८१ मा बैंकको यस्तो सम्पत्ति ७० अर्ब ४४ करोड रुपैयाँ रहेको थियो। जुन एक वर्षमा नै १०८.८ प्रतिशतले बढेर १ खर्ब ४७ अर्ब माथि पुगेको हो। यो पछिल्लो ८ वर्ष यताकै धेरै हो ।
तथ्यांकअनुसार राष्ट्र बैंकसँग आर्थिक वर्ष आव २०७४/७५ मा ३६ अर्ब १ करोड थियो भने आव २०७५/७६ मा बढेर ४८ अर्ब ६८ करोड पुगेको देखिन्छ। त्यस्तै आव २०७६/७७ मा यस्तो सम्पत्ति ५४ अर्ब २४ करोड पुगेको देखिन्छ।
आव २०७७/७८ मा भने बैंकको बाह्य सम्पत्तिमा ३२ प्रतिशतले गिरावट आएको देखिन्छ। सो वर्ष बैंकको बाह्य सम्पत्ति ३६ अब ८४ करोड मात्रै छ भने त्यसपछिको आर्थिक वर्ष २०७८/७९ मा पुन: बढेर ४३ अर्ब ३० करोड पुगेको छ। यस्तै आ.व. २०७९/८० मा बैंकको यस्तो सम्पत्ति ५६ अर्ब ४५ करोड पुग्दा आव २०८०/८१ मा यस्तो सम्पत्ति ७० अर्ब ४४ करोड माथि पुगेको देखिन्छ। सात वर्षमा एक पटक घटेको राष्ट्र बैंकको बाह्य सम्पत्ति आठौँ वर्षमा भने १०८ प्रतिशतले बढ्न पुगेको छ।
पछिल्लो समय रेमिट्यान्समा भएको वृद्धि, शोधनान्तर बचतको अवस्थामा सुधार तथा आयातमा सुस्तता देखिँदा त्यसको सकारात्मक प्रभाव बैंकको सम्पत्तिमा परेको हो।
यो अवधिमा विदेशी सम्पत्ति ह्वात्तै बढिरहँदा राष्ट्र बैंकको देशभित्रको सम्पत्ति भने ७० खर्ब माथि पुगेको छ। बैंकको तथ्यांकअनुसार आव २०८१/०८२ सम्म खुद आन्तरिक सम्पत्ति ७० खर्ब ३४ अर्ब ९ करोड पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ११.५ प्रतिशतले बढी हो।
बैंकले यस्तो सम्पत्ति सरकारलाई प्रदान गरेको ऋण अर्थात् सरकारी ट्रेजरी बिल, ऋणपत्र आदिको लगानी, बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको ऋण तथा अन्य विविध बैंकका सम्पत्तिहरु जोडेर तयार पार्ने गर्छ। जसमा आफ्नो दायित्व घटाएपछि बैंकले खुद सम्पत्ति निकाल्ने गर्छ।
बैंकको आन्तरिक सम्पत्ति पनि पछिल्लो ८ वर्षयताकै धेरै छ। आर्थिक वर्ष २०७४/७५ मा बैंकसँग २६ खर्ब २८ अर्ब बराबरको सम्पत्ति रहेकोमा आ.व.२०७५/७६ मा ३१ खर्ब १ अर्ब, आ.व. २०७६/७७ मा ३६ खर्ब ७८ अर्ब र आ.व २०७७/७८ मा ४५ खर्ब ३४ अर्ब थियो।
आन्तरिक सम्पत्ति बढ्दै जाँदा आव २०७८/७९ मा बैंकसँग ४९ खर्ब ८१ अर्ब, आ.व २०७९/८० मा ५५ खर्ब ८० अर्ब र आ.व.२०८०/८१ मा ६३ खर्ब ८ अर्ब पुगेको थियो। आ.२०८१/८२ मा भने बढेर ७० खर्बमाथि पुगेको हो।
लगानीको वातावरण खुम्चिँदै जाँदा बैंक तथा वित्तीय संस्थाहरुले कर्जाप्रवाह अपेक्षित रुपमा गर्न सकेका छैन। यसले राष्ट्र बैंकमा बैंकहरुले राख्ने मौज्दात दिनप्रतिदिन बढिरहेको छ।
Shares

प्रतिक्रिया