सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका विभिन्न निकायका ३३ जना सार्वजनिक पदाधिकारी पदमुक्त भएको जानकारी गराएको छ।
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेशअनुसार उनीहरु पदमुक्त भएका हुन्।
पशुपति क्षेत्र विकास कोषका ९ जना, नेपाल वायुसेवा निगमका २ जना, सांस्कृतिक संस्थानहरुबाट दुई जना, लुम्बिनी विकास कोषका ११ जना, नेपाल पर्यटन बोर्डका ६ जना, नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जना र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का १ जना गरी ३३ जना यही वैशाख १९ गतेदेखि पदमुक्त भएको मन्त्रालयले जनाएको छ।
पदमुक्त हुनेहरुमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मासहित सदस्यहरु श्रीधर सापकोटा, हरिनाथ ढकाmल, शिक्षित पराजुली, बाबुशरण सुवेदी, डा. भरतप्रसाद बडाल, रामेश्वर संगल, रेनुका पराजुली र राजुकुमार खत्री छन्।
त्यसैगरी निगमबाट कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र सञ्चालक समिति सदस्य रामप्रसाद खतिवडा पदमुक्त भएका छन् भने सांस्कृतिक संस्थानका अध्यक्ष चन्द्र कुमार राई र सदस्य पुजा श्रेष्ठ पनि पदमुक्त भएका छन्।
लुम्बिनी विकास कोषबाट उपाध्यक्ष ल्हारक्याल लामा, कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्यसचिव डा. दीपक श्रेष्ठसहित सदस्यहरु श्यामबहादुर मिजार, गोपीकृष्ण शर्मा, विश्वराज पौडेल, राम नरेश कोदार, श्रीराम यादव, राजेश शाक्य, प्रकाश भट्टराई र धनराज कँडेल पदमुक्त हुँदा नेपाल पर्यटन बोर्डबाट कार्यकारी निर्देशक दीपक जोशीसहित सदस्यहरु नरेन्द्र कुमार देव, कुमार मणि थपलिया, ऋषिराम भण्डारी, राजेन्द्र बहादुर लामा र रामप्रसाद सापकोटाको पद गएको छ।
प्राधिकरणबाट सदस्यद्वय रविन्द्र सिलवाल र भीमप्रसाद पन्त पदमुक्त भएका छन् भने बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्बाट अध्यक्ष शितल साहु पुर्वेसहित परिषद् ऐन २०५५ को दफा ६ को उपदफा १ को खण्ड ड, ढ र दफा ९ को उपदफा २ को खण्ड ६ अनुसारका सदस्य तथा दफा १७ अनुसार नियुक्ति भएका कार्यकारी निर्देशकसहितका पदाधिकारी स्वतः पदमुक्त भएका छन्।
Shares

प्रतिक्रिया