कारोबार


केही समूहले पुँजी बजारमा हेरफेर र इन्साइड ट्रेडिङ गरेर जनताको पैसा दुरुपयोग गरे: अर्थमन्त्री वाग्ले

केही समूहले पुँजी बजारमा हेरफेर र इन्साइड ट्रेडिङ गरेर जनताको पैसा दुरुपयोग गरे: अर्थमन्त्री वाग्ले

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १२:४७, काठमाडौँ

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले केही सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गरेर जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेको आरोप लगाएका छन्। 

मंगलबार अर्थ समितिको बैठकमा बोल्दै वाग्लेले विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू निश्चित व्यक्तिहरूको कब्जामा गएको जिकिर गरे। नेपालको पुँजी बजारलाई व्यावसायिक, पारदर्शी र विश्वस्तरीय मापदण्डअनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो। 

‘संस्थान र पुँजी बजारसम्बन्धी पनि धेरै रिफर्महरू गरिराखिएको छ। स्टक एक्सचेन्जको पुनः संरचनाको लागि गठन गरिएको एउटा समितिले जुन प्रतिवेदन दिएको छ, त्यसलाई हामी कार्यान्वयन गछौँ,’ उनले भने। 

केही समूहले बजारमा कृत्रिम प्रभाव सिर्जना गरेर राजनीतिक नेतृत्वसम्म प्रभावित पार्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो। 

‘विगत केही वर्षमा यी संस्थाहरू केही व्यक्तिहरूको कब्जामा गएको यथार्थलाई पनि हामीले स्वीकार गर्नुपर्दछ। जनताको १५-१६ अर्बको अपचलन गरेर मार्केट म्यानिपुलेसन, इन्साइडर ट्रेडिङ गरेर अकुत सम्पती जम्मा गरेर राजनीतिलाई प्रभावित गरेर केही प्रभावशाली नेताहरूलाई त उनीहरूको गोजीमै राखेर देशका राजनीतिक संस्थाहरू त कब्जामा भए भए आर्थिक संस्थाहरू पनि कब्जा गरेको एउटा असाध्यै कटु यथार्थ थियो,’ उनले भने। 

उनले स्टक एक्सचेन्ज पुनःसंरचनाका लागि गठन गरिएको समितिको प्रतिवेदन कार्यान्वयन गरिने जानकारी दिँदै सरकारले पुँजी बजारमा व्यापक सुधारको तयारी गरिरहेको बताए। राष्ट्रपतिमार्फत सार्वजनिक नीति तथा कार्यक्रममा समेत पुँजी बजारप्रति उदार नीति घोषणा भइसकेको उल्लेख गर्दै आगामी बजेटमार्फत त्यसलाई थप ठोस आकार दिइने उनको भनाइ थियो।

‘हिजो पनि स्टक मार्केट, पुँजी बजारबारे एकदमै उदार नीतिहरू घोषणा गरिएको छ। यसलाई बजेटमा हामी थप आकार दिन्छौँ। यसलाई हामी प्रोफेसनलाइज गरेर एउटा विश्वस्तरीय क्यापिटल मार्केटको मापदण्डलाई पछ्याउने गरेर नै अगाडि जाने हो,’ अर्थमन्त्री वाग्लेले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad