अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलरबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ।
सो अवसरमा अर्थमन्त्री पौडेलले नेपाल र स्वीट्जरल्याण्डबीच सधै सुखद् र असल सम्बन्ध कायम रही रहेको र असल सम्बन्धलाई आपसी विश्वास र सहकार्यको मध्यमबाट अझ गहिरो बनाउने आफ्नो प्राथमिकता रहेको विचार व्यक्त गरेको मन्त्री पौडेलको सचिवलायले जनाएको छ।
अर्थमन्त्री पौडेलले कोभिड १९ ले सिर्जना गरेको चुनौती सामना गर्न विश्वव्यापी सहकार्य र एकता आवश्यक हुनुको साथै दोस्रो लहरको प्रभाव रोक्न युरोपियन मुलुकहरुले चालेका कदमहरुको प्रशंसा गर्दै स्वीस सरकारले नेपालको विकास प्रयासमा गरेको निरन्तर सहयोगको लागि धन्यवाद दिए।
राजदूत एलिजावेथ भोन क्यापेलरले नवनियुक्त अर्थमन्त्रीलाई बधाई ज्ञापन गरिन्। देशको स्थायित्व र विकासका लागि अर्थमन्त्रीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै विगत १० वर्षमा नेपालमा धेरै परिवर्तन संस्थागत भएको विषय औँल्याइन्।
साथै प्रधानमन्त्रीले सार्नु भएको दूरदृष्टि तथा वर्तमान सरकारको प्राथमिकता अनुरुपका विकास क्रियाकलापहरुमा स्वीस सरकारको सहयोग एवं साथ रहने उल्लेख गरिन्।
उनले संघीयता कार्यान्वयनमा नेपालले प्राप्त गरेको सफलताको प्रशंसा गर्दै संघ, प्रदेश र स्थानीय तहसम्म विकास सहायता परिचालन गर्ने कार्यविधिहरुको निर्माण गरी स्पष्टता ल्याएकोमा खुशी व्यक्त गरिन्। कोभिड १९ को महामारी नियन्त्रणमा स्वीस सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्बता समेत व्यक्त गरिन्।
उक्त शिष्टाचार भेटघाटका अवसरमा नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच मोटोरल लोकलः रोड ब्रिज प्रोग्रामको फेज ४ को लागि ९८ लाख २० हजार स्वीस फ्र्यांक अर्थात् करिब एक अर्ब २६ करोड नेपाली रुपैयाँको प्राविधिक सहायता परिचालन गर्न द्बिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा अर्थ मन्त्रालयको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र स्वीट्जरल्याण्ड सरकारकातर्फबाट राजदूत एलिजावेथ भोन क्यापेलरले हस्ताक्षर गरेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया