कारोबार


एउटै वडाबाट १५ करोडको आलु निर्यात

एउटै वडाबाट १५ करोडको आलु निर्यात

रमेशकुमार वली
भदौ २१, २०७६ शनिबार १०:३९,

सल्यान कुनै बेला जिल्लाकै विकट र दुर्गम मानिने वाफुखोला अहिले करोडौँको आलु निर्यात गर्ने गाउँ बनेको छ। बागचौर नगरपालिका–१२ वाफुखोलाबाट यस वर्ष रु १५ करोडको आलु निर्यात भएको छ।

आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर आलुखेती गर्दै आएका छन्। वाफुखोलाका ८० प्रतिशत जमिनमा वर्षे आलुखेती गरिँदै आएको छ। आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक आलुखेतीमतर्फ आकर्षित हुँदै आएका छन्।

कुनै बेला परिवारको गर्जो टार्न भारतका विभिन्न स्थानमा पुगेर पसिना बगाउँदै आएका वागचौर नगरपालिका–१२ की वाफुखोलाकी कमला वलीले आलुखेती शुरु गरेपछि भारत नगएको बताइन्। ‘२० वर्षसम्म भारतका विभिन्न स्थानमा पुगेर पसिना बगायौँ, त्यो छाडेर आलुखेती गरेपछि वर्षेनी रु तीनदेखि सात लाख बराबरका आलु बिक्री गर्दै आएका छौँ”, उनले भनिन्।

परम्परागत अन्नबाली लगाउँदा खासै परिवारका आर्थिक अवस्था राम्रो नभएपछि व्यावसायिकरूपमा आलुखेती गर्न शुरु गरेको स्थानीय गणबहादुर वलीले बताए। ‘मेरो १५ रोपनी जग्गा छ, मकै, गहुँ लगाउँदा तीन महिनाभन्दा बढी खाना कहिल्यै पुगेन तर अहिले आलुखेतीबाट वर्षेनी रु चारदेखि छ लाखसम्म आम्दानी गर्दै आएको छु’, उनले भने।

सडक पुगेपछि व्यापारी गाउँमै पुगेर आलु खरिद गर्न थालेपछि किसानमा उत्साहसमेत थपिएको स्थानीय दुर्गाबहादुर वलीले बताए। ‘पहिले आलु लगाउँदा सडक थिएन, आलु बिक्री गर्न धौधौ हुन्छ, तर, अहिले आलु खरिद गर्न व्यापारी बारीमै आउँछन्, यसले किसानमा थप हौसला थपेको छ’, उनले भने।

गाउँमै आलुखेती गर्न थालेपछि भारत जानेको संख्या न्यून रहेको वडा नं १२ का वडाध्यक्ष दीपक वलीले जानकारी दिए। ‘तीन वर्षअघिसम्म यहाँका मानिस वैशाख–जेठमै सबै परिवार लिएर मजदुरीका लागि भारत जाने गर्थे, अहिले आलुखेतीमा लागेपछि भारत जानेको संख्या नगण्यमात्रामा रहेको छ’, वडाध्यक्ष उनले भने।

यस वडामा आलु भण्डारणका लागि चिस्यान केन्द्र नहुँदा कृषक मर्कामा परेका वडाध्यक्ष वलीको भनाइ छ। ‘आलुको पकेट क्षेत्रका रुपमा घोषणा गरिए पनि आलुको भण्डारण गृहको अभाव रहेको छ, यसले गर्दा कृषकले भण्डारण नगरी बारीबाटै आलु बिक्री गर्नुपर्ने बाध्यता छ’, उनले भने।

यस वर्ष मात्रै करीब १२ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयले जनाएको छ। यस वडाको करीब दुई हजार रोपनीमा आलुखेती गरिएकामा छ हजार मेट्रिक टन आलु निर्यात भएको तथा बाँकी बीउ र स्थानीय बजारमा बिक्री भएको सम्पर्क कार्यालयले जनाएको छ।

यहाँ उत्पादन भएको आलुमा विषादीको मात्रा न्यून रहेको र स्वादिष्ट हुने भएकाले यहाँको वर्षे आलुको माग उच्च रहेको छ। यहाँ उत्पादन भएको आलु दाङ, नेपालगञ्ज, धनगढी, चितवन, पोखरासम्म निर्यात हुँदै आएको छ। गत आर्थिक वर्षमा प्रतिकेजी रु १५ देखि २० मा आलु बिक्री गरेका कृषकले यस वर्ष प्रतिकेजी रु २५ सम्ममा बिक्री गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad