कारोबार


७० करोड नेटवर्थ भएको एमएडब्लू हायर पर्चेजको ३ अर्ब ८० करोड कर्जा, अझै छ क्षमता

अटोमोबाइलसहित अन्य क्षेत्रमा पनि कर्जा विस्तार गर्ने योजनामा ‘एमएडब्ल्यू हायर पर्चेज’
७० करोड नेटवर्थ भएको एमएडब्लू हायर पर्चेजको ३ अर्ब ८० करोड कर्जा, अझै छ क्षमता

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १८:३, काठमाडौँ

एमएडब्ल्यू ग्रुपअन्तर्गतको हायर पर्चेज कम्पनी ‘एमएडब्ल्यू हायर पर्चेज’ले आफ्नो कर्जा लगानीको क्षेत्र विस्तार गर्ने भएको छ।

यसका लागि कम्पनीले अटोबाइल्ससहित अन्य क्षेत्रमा पनि कर्जा विस्तार गर्ने योजनामा काम गरिरहेको एमएडब्ल्यू हायर पर्चेजका जेनरल म्यानेजर प्राणनाथ भट्टराईले जानकारी दिए। 

‘विशेषगरी हायर पर्चेज कम्पनीले अटोमोबाइल्समा कर्जा सुविधा दिने गर्छ। हाम्रो पनि धेरै कर्जा अटोमोबाइल्स क्षेत्रमा छ। पछिल्लो समय मोबाइलमा कर्जा उपलब्ध गराइरहेका छौँ। कर्जाको दायरा बढाउने योजनाअनुसार हायर पर्चेजका अन्य क्षेत्रमा प्रवेश गर्न अध्ययन गरिरहेका छौँ’, भट्टराईले भने। 

१६ वर्षअघि स्थापना भएको एमएडब्ल्यू हायर पर्चेजले विगत दुई वर्षदेखि आफ्नो कर्जा पोर्टफोलियोलाई विस्तार गर्दै मोबाइल ब्रान्डसँग सम्झौता गरी कर्जा सेवा उपलब्ध गराइरहेको छ। कम्पनीले भिभो र शाओमी मोबाइलमा कर्जा सुविधा उपलब्ध गराउँदै आइरहेको छ। यी दुई मोबाइल ब्रान्डको कुनै पनि शोरुममार्फत उपभोक्ताले अनलाइनमार्फत कर्जा सुविधा उपयोग गर्न सक्छन्। जसमा उपभोक्ताले न्यूनतम ४० प्रतिशत डाउनपेमेन्ट गरेर अधिकतम ६० प्रतिशतसम्म कर्जा सुविधा पाउँछन्। मोबाइल कर्जामा ब्याज नलाग्ने कम्पनीले जानकारी दिएको छ। साथै कम्पनीले थप अन्य मोबाइल ब्रान्डसँग पनि सम्झौता गरी कर्जा दिने योजना रहेको भनाइ छ। 

‘सवारी साधनजस्तै पछिल्लो समय मोबाइल पनि किस्ता सुविधामा किन्नेको संख्या बढ्दो छ। ग्राहकलाई थप सुविधा दिन अन्य ब्रान्डसँग पनि सहकार्य गर्ने प्रक्रियामा छौँ’, उनले भने। 

साथै कम्पनीले पुराना सवारी साधनका लागि रिकन्डिसन हाउससँग सम्झौता गरेर कर्जा प्रदान गरिरहेको छ। पुराना गाडीमा कम्पनीले ५० प्रतिशतसम्म कर्जा प्रदान गर्छ। कम्पनीले एमएडब्ल्यू ग्रुपअन्तर्गतका उत्पादनका साथै अन्य ग्रुपले बिक्री गर्ने उपकरणमा पनि हायर पर्चेज कर्जा प्रदान गरिरहेको छ।

कर्जा रेटिङमा सुधार 
हायर पर्चेज कम्पनीले बैंक तथा वित्तीय संस्थाको पहुँचबाहिर रहेका उपभोक्तालाई सवारी साधन, मेसिनरी वा उपकरण खरिदमा कर्जा प्रदान गर्ने गर्छ।  हायर पर्चेज कम्पनीले आफूसँग भएको रकमबाट मात्र भन्दा पनि बैंक तथा वित्तीय संस्थासँग कर्जा लिएर लगानी गर्ने गर्छन्।

कर्जा रकम प्रयोग गर्ने हायर पर्चेज कम्पनीले प्रत्येक वर्ष रेटिङ गर्नुपर्ने हुन्छ। एमएडब्ल्यू हायर पर्चेजले इक्रा नेपालबाट आफ्नो कर्जाको रेटिङ गर्दै आइरहेको छ। अघिल्लो आव २०८१/८२ मा २ अर्ब ७९ करोडको रेटिङ गरेको थियो। दीर्घकालीनमा एलबीबी प्लस र छोटो अवधिका लागि ए४ प्लस रेटिङ पाएको थियो। जसमा दीर्घकालीन कर्जा २ अर्ब ७१ करोड रुपैयाँ र छोटो अवधिका लागि ८ करोड रुपैयाँको रेटिङ गराएको हो। 

चालू आर्थिक वर्ष २०८२/८३ का लागि एमएडब्ल्यू हायर पर्चेजले ३ अर्ब ८९ करोड ५० लाख रुपैयाँ कर्जाको रेटिङ गराएको छ। जसमा दीर्घकालीन कर्जा ३ अर्ब ७७ करोड ५० लाख रुपैयाँ र छोटो अवधिका लागि १२ करोड रुपैयाँको रेटिङ गराएको हो।

दीर्घकालीनमा एलबीबीबी माइनस र छोटो अवधिका लागि ए३ प्लस रेटिङ पाएको छ। इक्रा नेपालले एमएडब्ल्यू हायर पर्चेजको क्रेडिट रेटिङ्ग अपग्रेड गर्दै दीर्घकालीन कर्जाको रेटिङ्ग एलबीबीप्लसबाट एलबीबीबी माइनस र  अल्पकालीन कर्जाको रेटिङ्ग एफोर प्लसबाट ए थ्रीमा पुर्याएको छ । 

गत आवको तुलनामा चालु आवमा कम्पनीको कर्जा रेटिङमा सुधार भएको छ। रेटिङमा सुधार हुनु भनेको कम्पनीको कर्जा क्षमतासँगै लगानी क्षमता बढ्नु भएको भट्टराई बताउँछन्। यो कम्पनीको सुधार तथा जोखिम व्यवस्थापन क्षमतामा आएको प्रगतिको आधारमा भएको हो। 

‘गत वर्षको तुलनामा अहिले रेटिङमा सुधार भएको छ। कर्जाको विविधिकरणले पनि जोखिम व्यवस्थापन भएको छ। जसबाट खराब कर्जा न्यून विन्दुमा राख्न सफल छौँ। गत आवमा २ प्रतिशत रहेकामा हाल १.९५ प्रतिशत मात्र खराब कर्जा छ। यो हायर पर्चेज क्षेत्रको न्यून दर हो’, भट्टराई भने।

रेटिङ गर्ने कम्पनीहरूले संस्थाको समग्र वित्तीय अवस्था, सञ्चालन प्रक्रिया, कर्जा तथा लगानीको अवस्थाको साथै संस्थाका प्रवद्र्धकहरूको पृष्ठभूमि र क्षमता लगायतका पक्षहरूको मूल्यांकन गर्ने गर्छन्।

कम्पनीले आफ्नो पुँजी कोष र कर्जा मार्फत हालसम्म ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरी ६० हजारभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको उनले जनकारी दिए।

‘बैंकिङ पहुँच नपुगेको क्षेत्रमा हायर पर्चेज उद्योगले लगानी विस्तार गरिरहेको छ। यसबाट सवारी साधन किनेर उद्यम गर्न खोज्नेलाई मद्दत पुगेको छ। साथै नयाँ ग्राहकहरु पनि हायर पर्चेज मार्फत वित्तीय पहुँचमा पुगेका छन्’, भट्टराईले भने। 

नेपाल राष्ट्र बैंकको नियमानुसार हायर पर्चेज कम्पनीले आफ्नो नेटवर्थको अधिकतम १० गुणासम्म बैंक तथा वित्तीय संस्थासँग कर्जा लिन सक्छ। कम्पनीको नेटवर्थ ७० करोड रुपैयाँ छ। हालसम्म कम्पनीले ३ अर्ब ८० करोड कर्जा लिएको छ। यो भनेको कम्पनीको नेटवर्थको करिब ५.३ प्रतिशत हो। 

कम्पनीसँग अहिलेभन्दा दोब्बर कर्जा लिने क्षमता छ। नयाँ क्षेत्रमा कर्जा प्रवाह गरेर यो क्षमता पनि उपयोग गर्ने योजनामा अघि बढेको उनी बताउँछन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad