कारोबार


नागढुंगा सुरुङमार्ग नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्को: डा. अकिहिको

नागढुंगा सुरुङमार्ग नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्को: डा. अकिहिको

नेपालखबर
साउन ११, २०८३ सोमबार १२:१७, काठमाडौँ

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग नेपालको यातायात पूर्वधारमा ऐतिहासिक फड्को भएको बताएका छन्। 

सोमबार सुरुङमार्ग उद्घाटन समारोहमा बोल्दै अध्यक्ष डा. अकिहिकोले यस आयोजनालाई नेपाल र जापानबीचको प्रगाढ सम्बन्ध र सहयोगको महत्त्वपूर्ण उपलब्धि भएको बताए। सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा खण्ड पार गर्न लाग्ने समय अब पाँचदेखि सात मिनेटमा सिमित भएको छ। 

यस पूर्वाधारले सवारी चाप न्यूनीकरण, सडक सुरक्षामा सुधार र यातायात दक्षता अभिवृद्धि गर्दै मुलुकको आर्थिक गतिविधि र नागरिकको दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। दुई वर्षअघि भएको वर्षा र त्यसले निम्त्याएको अवरोधका समयमा यस सुरुङमार्गको अपरिहार्यता थप पुष्टि भएको अध्यक्ष तानाकाले उल्लेख गरे। 

निर्माणकै चरणमा रहे पनि विपद्को समयमा यस करिडोरले सम्पर्क मार्गको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो। यसले संकटका समयमा आपत्कालीन सेवा र अत्यावश्यक वस्तुहरूको ढुवानीका लागि लचिलो एवं भरपर्दो पूर्वाधारको महत्त्वलाई पुनः स्थापित गरेको उनको भनाइ छ। 

हिमालय क्षेत्रको कठिन भू-गर्भीय बनावटका कारण आयोजना निर्माणका क्रममा विभिन्न प्राविधिक चुनौतीहरू सामना गर्नुपरेको उनले बताए। उत्खननका क्रममा पटक-पटक भएको पहिरो, चट्टानको विरूपण र जमिनको तीव्र दबाब जस्ता समस्याहरूलाई जापानी प्रविधि र नेपाली जनशक्तिको साझा प्रयासबाट समाधान गरिएको थियो। 

यस आयोजनामा ९८ प्रतिशत जनशक्ति नेपाली इन्जिनियर र कामदारहरू रहेका थिए। जसले जापानी विज्ञहरूसँगको सहकार्यमा प्रविधि र सीप हस्तान्तरणको उदाहरणीय कार्य गरेका अध्यक्ष हकिहिकोको भनाइ छ। 

नेपाल र जापानबीचको दौत्य सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा सम्पन्न यस आयोजनाले दुई देशबीचको आपसी विश्वास र सहकार्यलाई नयाँ उचाईमा पुर्‍याएको उनले बताए। यसै सफलतालाई जग मानेर आगामी दिनमा सुरुङमार्गको योजना, निर्माण, सञ्चालन र मर्मतसम्भारमा नेपालको क्षमता अभिवृद्धि गर्न दुई देशबीच नयाँ प्राविधिक सहयोग कार्यक्रम समेत सुरु हुने उनको भनाइ छ। 

जाइकाले नेपालको दिगो विकासका लागि एक भरपर्दो साझेदारको रूपमा आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरेको छ। यो सुरुङमार्गले नेपालको सुरक्षित आवागमन, दिगो आर्थिक वृद्धि र राष्ट्रिय उत्थानशीलतामा युगौँसम्म योगदान पुर्‍याउने उलने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad