निर्वाचन विशेष


ललितपुर महानगर : एमालेले जित्छ कि कांग्रेसले?

ललितपुर महानगर : एमालेले जित्छ कि कांग्रेसले?

सागर न्यौपाने
बैशाख २३, २०७९ शुक्रबार १७:५, ललितपुर

चुनावी परिणाम के हुन्छ अहिले नै भन्न त कठिन छ। तर, ललितपुर महानगरपालिकाको नतिजाबारे दुई दल लगभग निश्चित जस्तै देखिन्छन्।

महानगरमा उठेका सबै उम्मेदवारले पाउने मत विश्लेषण नभए पनि २०७४ को चुनावी परिणाम र अहिलेको गतिविधिलाई विश्लेषण गर्ने हो भने महानगर प्रमुखमा गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका चिरिबाबु महर्जन र नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारबीच तीव्र प्रतिस्पर्धा देखिन्छ।

दुवै प्रतिस्पर्धीले निर्णायक मतका रुपमा यसअघिको निर्वाचनमा साझा पार्टीका रमेश महर्जनले ल्याएको मततिर आँखा लगाएका छन्। त्यसबेला महर्जनले १३ हजार ४५८ मत ल्याएका थिए।

त्यतिबेला महर्जनले पाएको मत कांग्रेसको हो कि माओवादी केन्द्र वा एमालेको हो भन्ने खुल्न सकेको छैन। तर, चिरिबाबु र हरिकृष्ण दुवैजना त्यही मत आफ्नो पक्षमा आइसकेको दाबी गर्छन्।

वैशाख ३० गतेको चुनावमा त्यही मत आफूलाई एकलौटी खस्ने एमालेले विश्वास लिएको छ। कांग्रेसले पनि त्यो मत चिरिबाबुलाई खस्ने दाबी गरेको छ।

त्यसबेला १३ हजार बढी मत ल्याउने उम्मेदवार महर्जनको कोरोनाका कारण निधन भएको छ। ललितपुरमा विवेकशील साझाले उज्ज्वलकृष्ण श्रेष्ठलाई प्रमुख पदमा उठाएको छ।

२०७४ मा साझा पार्टीबाट सर्वाधिक मत ल्याउने ( तत्कालीन माओवादी केन्द्रका उम्मेदवार भन्दा बढी) महर्जन नभएको र विवेकशील पार्टी पनि विभाजित भएको अवस्थामा विवेकशील साझाको जनअधिकार कति छ, अहिले हेर्न बाँकी छ।

गठबन्धन भर्सेस एमाले
अघिल्लो चुनावमा राप्रपासँग तालमेल गरेको एमालेले यसपटक पनि राप्रपा नेपाल र नेपाल परिवार दलसँग तालमेल गरेको छ।

नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनका साझा उम्मेदवार छन्, महर्जन।

दुवै उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन्। विहान ७ बजेदेखि सुरु हुने अभियान बेलुका अबेरसम्म जारी हुन्छ।

 नेपालखबरले दुबै पार्टीका मुख्य–मुख्य नेताहरुसँग गरेको कुराकानी, छलफल र स्थलगत अध्ययनका आधारमा यही पार्टीले जित्छ ठोकुवा गर्न सकिँदैन।

महानगरमा राप्रपाबाट अष्ट महर्जन उठेका छन्। अघिल्लो चुनावमा एमालेले तालमेल गरेको पार्टीका हुन् महर्जन। उनले काट्ने मत पनि जीतको लागि निर्णायक बन्ने देखिन्छ।

ललितपुर महानगरमा यसपटक १३ जना प्रमुख पदका उम्मेदवार छन्। तीमध्ये राष्ट्रिय जनमुक्ति पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, मौलिक जरोकिलो पार्टी नयाँ दल हुन्। 

यी दललाई गठबन्धन र एमाले गठबन्धनले ध्यान नै दिएको छैन्। उनीहरुको नोटिसमा यी दलले निर्णायक मत काट्ने सम्भावना छैन।

गठबन्धन भएकै कारण चिरिबाबुको सम्भावना निकै राम्रो रहेको कांग्रेसको विश्लेषण छ। तर, गठबन्धनमा रहेका दलहरु नभई एक्लै चिरिबाबु एक्लै घरदैलो कार्यक्रम गरिरहेका छन्। 

कांग्रेसका नेताहरु मात्र प्रायः घरदैलो कार्यक्रममा एक्लै छन्। ब्यानर र केही झण्डा बोकेर संयुक्त प्रचार भएको सन्देश दिने प्रयास भएको देखिन्छ।

गठबन्धनबाट उपप्रमुखमा माओवादी केन्द्रका बाबुराज बज्राचार्य उम्मेदवार छन्। बुधबार नेपालखबर टीम कांग्रेस र एमालेको चुनावी प्रचार अभियान अवलोकनका लागि महानगरको ५, २५ र १८ नम्बर वडा पुग्दा ती ठाउँमा बज्राचार्य र माओवादी भेटिएनन् कांग्रेस एक्लै प्रचारमा छ। 

एमालेको प्रमुख र उपप्रमुखका उम्मेदवार मात्र होइन वडाध्यक्ष उम्मेदवार पनि सँगै प्रचारमा छन्। 

अघिल्लो पटक ३२६ मतले महानगर गुमाएको एमालेले यसपटक १८ सय मतको अन्तरमा जित्ने विश्लेषण गरेको छ।

एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले तीन आधारमा चुनाव जित्ने विश्लेषण गरे।

पहिलो, कांग्रेसभित्रको असन्तुष्टि, केही वडामा बागी उम्मेदवार उठेका छन् असन्तुष्ट पक्षले कांग्रेसकै मत काट्दा हामीलाई सहज हुन्छ।

दोस्रो, गठबन्धन एक भएर चुनावमा जानै सकेन। एक्ला एक्लै हिँडेका छन्।

र, तेस्रो पाँच वर्ष मेयर भएर चिरिबाबुले आफ्नै दलका नेता र कार्यकर्ता भड्काएका छन्, उनीसँग हिजो जिताएका टीम असन्तुष्ट छ र त्यो टिमले सहयोग गर्दैन।

‘यही तीन आधारले एमालेले महानगर जित्छ,’ उनले भने, ‘तर, अन्तिम घडीमा ती सबै कुरा उल्टिन सक्ने सम्भावना भने छ। ललितपुरमा संगठित गुठीयारको मत छ, तिनले जहाँ भन्यो, त्यहाँ मत खस्ने परम्परा विगतदेखि छ।’

तर, कांग्रेसले भने यसपटक फराकिलो अन्तरले फेरि महानगर जित्ने सम्भावना देखेको छ। कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठले अघिल्लो पटकभन्दा १२ हजार बढी मत ल्याएर महानगरमा मेयर र उपमेयर दुबै जित्ने ठोकुवा गरे।

जित्ने आधारमा उनले पाँच वर्षमा गरेको लोकप्रिय काम, गठबन्धन र चिरिबाबुको व्यक्तित्व रहेको बताए। ‘चिरिबाबु र बाबुराज दुवैले चुनाव जित्छन्,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘५ वर्षमा गरेको लोकप्रिय काम र गठबन्धनका कारण पहिले भन्दा १२ हजार बढी माथि मत थपिन्छ। मेयरलाई झण्डै ४० हजार मत आउँछ।’

अघिल्लो चुनावमा साझा पार्टीका रमेश महर्जनले पाएको मत गठबन्धनले पाउने उनले दाबी गरे। ‘त्यो मत गठबन्धनमा रहेका दलहरुकै हो, त्यही भएर चिरिबाबु र उपमेयर बाबुराज जित्छन्,’ कांग्रेस ललितपुर सभापति श्रेष्ठले थपे।

कांग्रेस ढुक्क हुनुको अर्को कारण माओवादी केन्द्रको मत हो। श्रेष्ठका अनुसार माओवादी केन्द्रको ललितपुर महानगरमा एकल मत १३ हजार बढी छ।

०७४ मा प्रमुख पदमा माओवादीले १० हजार ६ सय ६१ मत पाएको थियो भने उपप्रमुखका लागि झण्डै १३ हजार मत खसेको थियो। 

तर, अहिले रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट जस्ता पुराना नेता माओवादीमा छैनन्, एमालेमा छन्। 

एमालेले माओवादीबाट एमालेमै रहेकी मञ्जली शाक्यलाई उपप्रमुख बनाएको छ। त्यसको एउटै कारण —‘माओवादीभित्रको मत तान्ने रणनीति।’

एमालेले ज्यापू समाज जस्ता प्रभाव पार्ने समुदायमा बढी ध्यान केन्द्रित गरेको छ। ज्यापू समाजमा झण्डै ३५ हजार आवद्ध रहेको आकलन छ। 

त्यो मत बढाउन सके जीत सुनिश्चित हुने एमालेको योजना छ। त्यसबाहेक पहिला आफूलाई मत दिने सबैलाई जोगाउन सफल भएको एमालेको विश्लेषण छ।

२०७४ मा व्यञ्जनकारले २४ हजार ३ सय १६ मत ल्याएका थिए। महानगर प्रमुख जित्ने महर्जनले २४ हजार ६४२ मत पाए। 

त्यसबेला कांग्रेस एक्लै चुनाव लडेको थियो। महानगरमा त्यसबेला एमालेबाहेक सबै दल एकल प्रतिस्पर्धामा थिए। अहिले एमाले र गठबन्धन दुवैका उम्मेदवारले वडागत चुनावी विश्लेषण गरेका छन्। 

वडामा को कति बलियो?
अहिले गठबन्धन र एमाले दुबै पार्टीले वडागत तहबाटै जीत हारको विश्लेषण गरेका छन्।

नेपालखबरसँग कुरा गर्दै एमालेका एक नेताले बताएअनुसार २९ वटा वडालाई जित निश्चित, तीव्र प्रतिस्पर्धा, टक्कर, बराबरीको अवस्था, कमजोर गरी पाँच भागमा वडालाई विभाजन गरिएको छ।

जसमा ४, ५, ८, १३, १६, १७, १८, २२, २३, २४ र २९ जित्ने निश्चित भएका वडा हुन्।

त्यसबाहेक ६, ९, १२ र १५ वडामा गठबन्धन र एमालेको बराबरीको अवस्था छ।

२०, २५, २६ वडामा कडा टक्कर पर्छ।

१९ र २१ वडामा तीव्र प्रतिस्पर्धा पर्छ। 

१ र १० वडा एमालेले जित्दैन।

७, ११ मा नेपाली कांग्रेस बलियो छ।

२ र ३ वडामा नेकपा एकीकृत समाजवादी बलियो छ।

२६, २७ र २८ मा गठबन्धन विजयी हुने एमालेको विश्लेषण रहेको ती नेताले सुनाए।

‘पहिला हामीले पाएको केही मत नेकपा एसले लैजान्छ, हाम्रो विश्लेषणमा कम्तिमा २ वटा वडा त्यसले जित्छ,’ ती नेताले नेपालखबरसँग भने, ‘हाम्रो जीतको आधार अघिल्लो चुनावमा साझा पार्टीबाट रमेशले लिएको मतमा ७ हजार तान्न छ, अहिले सबै टार्गेट त्यही लगाएका छौँ, हरिकृष्णजी जित्न त्यही पर्याप्त छ।’

एमाले नेताको विश्लेषण उनकै शब्दमा 
हुन त चुनाव हो, अन्तिम दिनसम्म पनि उल्टन सक्छ। तर, आजसम्मको माहोल, कांग्रेसप्रतिको असन्तुष्ट पक्षको बचन, गठबन्धन नै विभाजित रहेको अवस्थालाई हेर्दा हरिकृष्ण जी चुनाव जित्ने सम्भावना बढेको छ। हामीले अहिले रमेशले लिएको मतमा कम्तीमा ७ हजार तानेका छौँ। त्यही मत निर्णायक हुन्छ।

पूर्व मेयर चिरिबाबुले ५ वर्षमा ज्यापू समाजलाई केही गरेनन् भन्ने परेको छ। आफ्नै जातको मान्छेलाई सल्लाहकार बनाएनन्। कार्यकर्ताको फोन उठाएनन्, उनी राजनीतिक मान्छे नै होइनन् भन्ने कांग्रेसकै साथीहरुलाई परेको रहेछ। 
निर्णायक मत रहेको ज्यापू समाज विभाजित भयो। 

त्यसो त बाहिर चिरिबाबुकै मत बढी रहेको देखिएको छ। तर, यसको इन्जिनियरिङ कुरामा हरिकृष्ण अब्बल देखिएका छन्। 
कांग्रेसले पनि यसपटक वडा तहको पनि हिसाव किताब गरेको छ।

‘जसमा १, ३, ४, ५, ६, ७, ८ र ९ कांग्रेसले पहिले नै जितेको हो,’ कांग्रेस ललितपुरका जिल्ला सभापति श्रेष्ठले थपे, ‘१०, ११ र १२ र १३, १६, १७ र २४ मा टप प्रतिस्पर्धा हुन्छ। १४ र १५, २०, २५ र २८ हामी आरामले जित्छौँ।’

१८ नम्बरमा गठबन्धनमा तालमेल नमिलेर समस्या आएको छ। १९ मा जनता समाजवादी पार्टी (जसपा), २१ मा गठबन्धन नै जित्ने, २२ र २३ गाह्रो छ। गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादीले २६ र २७ जित्न सक्छ। २९ वडामा भने तीब्र प्रतिस्पर्धा हुन्छ।

ती एमाले नेताका अनुसार महानगरका धेरै वडामा गठबन्धनभित्रै स्वस्थ प्रतिस्पर्धा गर्ने सहमति भएको छ। २१ नम्बर वडामा फास्ट ट्रयाक पक्षधर र विरोधीबीच कुरा नमिल्दा माओवादी र कांग्रेस दुबैको उम्मेदवारी परेको छ।

यहाँ जसले जिते पनि गठबन्धनकै उम्मेदवार जित्ने र एमाले नजित्ने उनले ठोकुवा गरे। ‘एमाले विरुद्धको चुनाव भएकाले यसपटक धेरै मतान्तरले जित्छौँ, हाम्रो उम्मेदवारको पर्सनालिटीले पनि एमालेका हरिकृष्ण प्रतिस्पर्धी नै होइनन्,’ श्रेष्ठले भने।

गठबन्धनका अन्य पार्टीको मत 
गठबन्धनमा रहेको दलमध्ये जसपाको एक वडामा बलियो अवस्था देखेरै वडाध्यक्ष उम्मेदवार बनाइएको कांग्रेसका नेताहरु बताउँछन्।

एमालेबाट विभाजन भएकोले नेकपा एकीकृत समाजवादीको पनि राम्रो मत छ।

त्यसबाहेक माओवादी केन्द्रको निकै राम्रो मत रहेको उनीहरुले दाबी गरेका छन्।

एमालेले झण्डै १७ सय अन्तरमा जित्ने विश्लेषण गर्दा कांग्रेसले १० हजार माथिको अन्तर हुने विश्लेषण गरेको छ।

तर, चिरिबाबु एकपटक परीक्षण भइसकेका उम्मेदवार हुन् भने हरिकृष्ण परीक्षण भएका छैनन्। 

महानगरमा थपिएका झण्डै नयाँ मतदाता कता खुल्छन् यसै भन्न सकिँदैन। नयाँकै खोजीमा जाँदा त्यसले महानगरको चुनाव रोचक बनाउन सक्छ। 

०७४ को स्थानीय चुनावमा ललितपुर महानगरमा  महिला ५८ हजार ३३३ र पुरुष ५४ हजार ५८९ गरी कुल एक लाख १२ हजार ९२२ मतदाता थिए। अहिले बढेर महिला ६३ हजार ४३७ र पुरुष ५९ हजार ४५३ गरी कुल एक लाख २२ हजार ८९० पुगेका छन्।

यहाँनिर राप्रपाका अष्ट महर्जन र विवेकशील साझाका उज्जलकृष्ण श्रेष्ठले काट्न सक्ने मतबारे अनुमान लगाउन उनीहरु सकिरहेका छैनन्।

दुईजना नै महानगरका स्थानीय भएकाले राम्रै मत लिनसक्ने आँकलन छ। तर, उनीहरुले पाउने मत कसको हो? 

अघिल्लो चुनावमा साझा पार्टीका महर्जनले धेरै माओवादीको मत काटेको बताइएको थियो। मेयर र उपमेयरले पाएको मतलाई तुलना गरेर त्यसो भनिएको हुनसक्छ। किनकी प्रमुखमा साढे १० हजार मत पाउँदा उपमेयरले झण्डै १३ हजार मत पाएकी थिइन्।

पाँच वर्षपछि एमालेको मत कति काटिएला? कांग्रेसको असन्तुष्टिको मत कति काटिएला? दुवैतिर असन्तुष्टिको मत कता खस्ला? यसको लागि भने चुनावसम्मै कुर्नुपर्ने हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .