‘दीपक हामी एउटा हल खोलौँ,’ फिल्म निर्देशक दीपाश्री निरौलाले दुई वर्षअघि दीपकराज गिरीलाई प्रस्ताव गरेकी थिइन्।
‘यही पेसामा लामो समयदेखि साधना ग¥यौँ, नेपाली फिल्मलाई प्राथमिकता दिनेगरी हामी सुरु गरौँ न,’ उनले भनेकी थिइन्।
तर दीपक धरमर थिए। ‘सकिन्छ र?’ भन्ने डर थियो उनमा।
‘हामी सक्छौँ र? त्यति लगानी गर्ने सामर्थ्य पनि छैन। त्यति कमाएका पनि छैनौँ,’ दीपकले आनाकानी गरे।
दीपामा त्यो हुटहुटी भने कायम नै रह्यो। ‘तीतो सत्य’ सफल भएपछि पहिलो पटक ६ एकान ६ निर्माण गरेदेखि नै उनलाई लागेको थियो– हाम्रो नि एउटा हल त भइदिए हुने!’
छलफल गर्दै जाँदा दीपक पनि सकारात्मक भए। तर, लगानी गर्न चाहिने पैसा थिएन। उनीहरूले बैंकसँग बुझे। ऋण पाइने रहेछ। उनीहरूसहित छक्कापञ्जा टिमले हल सञ्चालनको विषयमा रुचि देखायो।
कहाँ खोल्ने हल? उनीहरू ठाउँ बुझ्नतर्फ लागे।
‘बानेश्वरस्थित शंखमूल रोडमा भवन भेट्यौँ। भवनका मालिकसँग सहमति भएपछि हाम्रो सपनाले एउटा स्वरुप लियो,’ दीपा भन्छिन्।
सो सपना पुरा गर्दै ९ करोड लगानीमा अब दीपक–दीपाले मल्टिप्लेक्स सञ्चालनमा ल्याउने भएका छन्।
महामारीमा सकारात्मक सन्देश
कोरोना महामारीले निकै प्रभावित क्षेत्रमध्येको एक हो, सिनेमा क्षेत्र। यही क्षेत्रबाट नियमित गुजारा गरिरहेका कतिपय कलाकार अब नफर्किने गरी पलायन भए।
फिल्म प्राविधिकहरू अन्य पेसा रोज्न बाध्य भए। सिनेमा घरहरू बन्द भए। सबैभन्दा ठूलो चिन्ता र डरको विषय पनि यही थियो, सिनेमा घर।
‘अब भटाभट हलहरू बन्द हुँदै गएपछि फिल्म क्षेत्रको के हाल होला?’ फिल्मकर्मी तथा दर्शकहरूलाई यो त्रासले गाँजिरहेको बेला दीपक–दीपाको सिनेमा हल सञ्चालनको घोषणाले सकारात्मक सन्देश पनि दिएको छ।
‘फिल्म हल बन्द भयो भनेर समाचार आउँदा, फिल्म नचलिरहँदा त्यो चलचित्रकर्मीका लागि यो निराशाजनक कुरा थियो। हल बन्द हुँदा गलत सन्देश गइरहेको थियो। हामीले सकारात्मक सन्देश दिन खोज्यौँ, निराशालाई आशामा परिणत गरेर,’ दीपा भन्छिन्।
तर महामारीमा हल खोल्दा चल्न सक्ला त?
आशंका त दीपक–दीपालाई पनि छ। ऋण गरे लगानी डुब्यो भने? यो पनि नसोचेका हैनन्।
‘तर हुटहुटी छ नि! चिन्तित छैनौँ। रात परेको छ भने दिन पनि त अवश्य आउँछ नि,’ सकारात्मक सुनिन्छिन् दीपा।
राम्रा चलचित्र महामारीकै कारण थन्किरहेका छन्। हल बन्द हुँदा चलचित्रकर्मीलाई पीडा पनि भइरहेको छ।
‘तर राम्रा हल पनि खुलिरहेका छन्। मल्टिप्लेक्सहरू धेरै खुलिरहेका छन्। त्यसमध्ये हामीले यही क्षेत्रका लागि काम गरेका छौँ, यही क्षेत्रमा लगानी गर्दा एकदिन त सफल हुन्छ नै,’ दीपा भन्छिन्।
दीपालाई लाग्छ, हरेक क्षेत्रमा पाइला चालेकै दिनदेखि सपना पलाउँदो रहेछ। उनी पहिला कलाकारितामा स्थापित हुन चाहन्थिन्। त्यसपछि निर्देशनमा उभिन चाहन्थिन्।
‘जसरी एउटा सहचालकलाई ड्राइभर बन्ने सपना हुन्छ, ड्राइभर भएपछि गाडी किन्ने सपना। मेरो सपना पनि पछि हल सञ्चालक हुने भयो,’ उनी सुनाउँछिन्।
दीपकको पहिल्यैदेखि असन्तुष्टि थियो– नेपालमै नेपाली सिनेमाहरू प्राथमिकतामा छैनन्। हिन्दी सिनेमालाई प्राथमिकता छ।
नेपाली सिनेमालाई पहिलो प्राथमिकता दिने हलको खोजी थियो उनीहरूको।
‘हाम्रो हलमा पहिलो प्राथमिकता नेपाली सिनेमालाई हुन्छ। जब प्राथमिकता बढ्छ, तब सिनेमाको क्वालिटी पनि बढ्छ,’ उनी भन्छिन्।
हलको काम सुरु भएको ६ महिना भयो। विस्तारै सामान आयात गरिरहेका छन्। योजनाअनुसार अर्को वैशाखमा काम सम्पन्न हुनेछ। र महामारी नभइदिए दर्शकहरू दीपक–दीपाको हलमा गएर सिनेमा हेर्न पाउनेछन्।
त्यतिबेलासम्म हलमा नयाँपन दिने योजना पनि छ उनीहरूसँग।
‘नयाँ व्यवसाय, नयाँ प्रयास। नयाँपन दिने पनि हाम्रो सपना छ,’ दीपा सुनाउँछिन्।
Shares
प्रतिक्रिया