ad ad

कला


भीषण मुकारुङले ल्याए ‘ए‍...सिम्मा, खोर्सानी डल्ले–२’ (भिडिओ)

भीषण मुकारुङले ल्याए ‘ए‍...सिम्मा, खोर्सानी डल्ले–२’ (भिडिओ)

मगेन्द्र राई
असोज २२, २०७८ शुक्रबार १४:१६, काठमाडौँ

प्रसिद्ध गायक तथा संगीतकार भीषण मुकारुङले ‘ए‍...सिम्मा, खोर्सानी डल्ले २’ शीर्षकको म्युजिक भिडिओ सार्वजनिक गरेका छन्। 

करिब ३ वर्षअघि सार्वजनिक ‘खोर्सानी डल्ले’को अपार सफलतापछि मुकारुङले सिक्वेलका रूपमा ए...सिम्मा, खोर्सानी डल्ले २’ बनाएका हुन्। 

खोर्सानी डल्लेलाई युट्युबमा ४० लाखभन्दा बढी दर्शकले  हेरिसकेका छन्।

लामो समयदेखि काठमाडौंलाई कर्मथलो बनाएर संगीत क्षेत्रमा क्रियाशील मुकारुङको आफ्नै एकल स्वरमा रहेको म्युजिक भिडिओ प्रसिद्ध हास्य कलाकार विल्सन विक्रम राईको अफिसियल युट्युब च्यानल ‘तक्मेबूढा डटकम’मार्फत बिहीबार सार्वजनिक गरिएको हो। 

‘ए...सिम्मा...’ म्युजिक भिडिओमा शब्द दुर्लभ जन्तरेका हुन् भने संगीत विशेष खालिङले भरेका हुन्। चन्डु गोर्खालीको एरेन्ज रहेको भिडिओको गीत पृथक रेकर्डस स्टुडिओमा रेकर्ड गरिएको हो। रेकडिस्ट विवेक रानपहेकी हुन्। मिक्सिङ र मास्टरिङ देवेश राईले गरेका हुन्। 

विक्रम डिसिले छायांकन गरेको म्युजिक भिडिओमा कोरियोग्राफ कमल राईले गरेका हुन्। मनोज कार्कीले सम्पादन गरेको म्युजिक भिडिओमा निर्देशन विल्सन विक्रम राईको हो। 

गीतको भिडिओमा स्वयं गायक मुकारुङ, विल्सन विक्रम राई उर्फ तक्मे बूढा, रजनी गुरुङ, विशाल गुरुङ र श्याम राईले अभिनय गरेका छन्। 

म्युजिक भिडिओमा पूर्वेली लोकभाका तथा किरात राई समुदायको संस्कार/संस्कृतिलाई समेत समेटेर फ्युजन गरिएको छ। शब्द र संगीतलाई न्याय गर्न र जीवन्तता दिन मकवानपुरको सुन्दर गाउँ चित्लाङको रमणीय दृश्य कैद गरिएको छ।

राई समुदायमा ‘सिम्मा’ शब्दको अर्थ  ‘कान्छी’ हुन्छ। भिडिओमा तिनै  कान्छीसँगको अर्गानिक प्रेम प्रस्तुत गरिएको छ। 

सिक्वेल वा भाग २ जन्माउन ३ वर्ष लाग्यो नि, ढिला भएन भनी नेपालखबरले राखेको जिज्ञासामा मुकारुङले भने, ‘ढिला हुनाका विभिन्न कारण छन्, कोरोना प्रमुख कारण हो। फेरि हतारमा जस्तो पायो त्यस्तो निकाल्दा दर्शक स्रोता चाहनालाई पनि ध्यान दिनपर्यो, त्यसैले क्वान्टिटीभन्दा क्वालिटिलाई पनि हेर्नुपर्ने हुन्छ, तर भाग ३ चाहिँ चाँडै नै दर्शकसामु ल्याउने तयारीमा जुटेका छौं।’ 

‘ए...सिम्मा’ मा पूर्वेली लोक भाकासँगै किरात राई समुदायको संस्कृति र मिथक पनि प्रयोग गरिएको छ। 

उनले भने, ‘यो गीतको संगीतको कुरा गर्दा गीतको अन्तरामा राईहरू समुदायको नाक्छुङ (पुजारी) प्रसिद्ध धार्मिक स्थल साल्पा पुग्दा मन्त्र फलाक्दै बजाउने ढ्याङग्रोको ताल रिदमलाई आधार मानेर यो गीतमा समावेश गरिएको छ, कुनै पनि गीत संगीतमा यस्तो किसिमको प्रयोग सम्भवतः पहिलो हो।’

नेपाली गीत संगीतले व्यावसायिक रूप लिइरहेका बेला यस्तो किसिमको हर्कत ‘रिस्क’ भए पनि लोपोन्मुख संस्कार/संस्कृति गीत संगीतका माध्यमबाट संरक्षण र सम्वर्द्धन गर्न आफ्नो पनि दायित्व रहेको गायक तथा संगीतकार मुकारुङले बताए।​

धेरैवटा गीत गाइसकेका तथा थुप्रै गीतमा संगीत भरिसकेका मुकारुङको आफ्नै रेकर्डिङ स्टुडिओ छ। अहिले विल्सन विक्रम राईसँगको सहकार्यमा उनी ‘खुर्सानी डल्ले ३’ बनाउन लागिपरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .