कला


डान्सर सुशान्त खत्रीको गुनासो : मलाई पुलिसले घिसार्दै लगे, थप्पड हानेर बिनाकारण थुने

डान्सर सुशान्त खत्रीको गुनासो : मलाई पुलिसले घिसार्दै लगे, थप्पड हानेर बिनाकारण थुने

नेपालखबर
कात्तिक १५, २०७८ सोमबार १८:१२, काठमाडौँ

चर्चित डान्सर तथा कलाकार सुशान्त खत्रीले गएराति आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको बताएका छन्। 

नाइट क्लबबाट निस्किन बिल तिर्न लाग्दा पुलिस आएर काँधमा समातेर घिसार्दै बाहिर लगेर सोह्रखुट्टे वृत्तको हिरासतमा राखेको उनले बताएका छन्।  

सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले आफू पुलिस कार्यालय जान तयार रहेको बताउँदा बताउँदै झापड हानेर घिसार्दै भ्यानमा राखेको बताएका छन्। 

प्रहरी चौकीमा पनि आफन्त र साथी भाइलाई पनि फोन गर्न नदिइ दुर्व्यवहार गरेको उनले बताएका छन्। 

'डान्स बारमा बिल तिर्न बाँकी थियो। त्यहाँ म अलमलिएको थिएँ। एकजना भाइले उहाँको बिल भइसक्यो भनेको रहेछ', उनले भनेका छन्, 'तर मैले तिर्न बाँकी थियो। मैले बिल तिरेर निस्कन लाग्दा प्रहरीले हात हाले। मेरो काँधमा समातेर घिसार्दै बाहिर लैजान खोजे।'

उनले मेरो गल्ती नै नभइ प्रहरीले आफूमाथि कुटपिट गरेको बताएका छन्। 'मैले मेरो गल्तीबारे प्रहरीलाई सोधेर दुर्व्यवहार नगर्न भनेँ। मेरो ज्याकेट मास्क काउन्टरमा थियो', उनले भनेका छन्, 'मलाई ती सामान लिएर आउन खोज्दा प्रहरीले गालामा कडा थप्पड हाने। मैले यस्तो थप्पड जीवनमा कहिल्यै खाएको थिइनँ।'

प्रहरीले कुटपिट गर्दै आफूलाई सोह्रखुट्टे वृत्तमा लगेको बताएका छन्। 'मलाई कुटपिट गरेपछि भ्यानमा हालेर सोह्रखुट्टे वृत्तमा लगियो। मेरो मोबाइल पनि पनि खोसे', उनले भनेका छन्, 'घरमा बुवाआमालाई फोन गर्न पनि दिएनन्। एक घण्टासम्म थुनेपछि छाडियो।

उनले आमजनतालाई प्रहरीले दु:ख दिने उदाहरण आफ्नो घटना भएको बताएका छन्। 'म एक जनताका रुपमा भन्दैछु, कसैलाई पनि प्रहरीले हात उठाउन मिल्दैन', उनले भनेका छन्, 'प्रहरी जनताको सुरक्षाका लागि हो। प्रहरीबाटै असुरक्षित हुने भए कसबाट सुरक्षाको अपेक्षा गर्नु?'

उनले आफ्ना बुवा पनि प्रहरी नै भएको बताउँदै आफ्नै देशको प्रहरीले गरेको दुर्व्यवहारबाट मन दुखेको बताएका छन्। 

'म १२ वर्षदेखि मनोरञ्जन इन्डस्ट्रीमा छु। नेपालको नाम राख्न विदेशमा पनि संघर्षरत छु', उनले भनेका छन्, 'आफ्नै देशको प्रहरीबाट कुटाइ खाँदा मन दुखेको छ। प्रहरीप्रति उच्च सम्मान थियो। मेरै बुवा पनि रिटायर्ड पुलिस हो। यस घटनाले मलाई निकै नराम्रो छाप पर्यो। प्रहरीप्रतिको दृष्टिकोण नै फेरियो।'

उनले प्रहरीले यो घटनामा माफी नमागेमा चुप नबस्ने पनि चेतावनी दिएका छन्। 

'मलाई प्रहरीले फोन गर्ने आशामा छु। यदि फोन नआए कानुनी कदम चाल्छु । चुप बस्दिनँ । ममाथि गलत भयो। म मुख छोपेर भाग्दिनँ', उनले भनेका छन्, 'विदेशमा बसे पनि नेपालमा जन्मेर हुर्केको हुँ। मलाई मेरो देशको माया छ । तर, अहिले मन दुखेको छ, सुत्न सकेको छैन। जनताले प्रहरीलाई सम्मान दिएपछि प्रहरीले पनि जनतालाई सम्मान दिन सकुन्।'

काठमाडौंको कपनमा बस्दै आएका खत्री नेपाल र भारतमा समेत लोकप्रियता कमाएका राम्रा डान्सर हुन्।

स्टार प्लसबाट प्रसारित भारतको चर्चित टिभी रियालिटी शो ‘डान्स प्लस सिजन-२’ मा उनी फाइनलमा पुगेका थिए। त्यही कार्यक्रममा उनी निर्णायक पनि भएका थिए। 

सन् २०१२ मा चर्चित रियालिटी शो ‘इन्डियाज सुपरस्टार’मा पुगेपछि उनको परिचय सबैमाझ पुगेको थियो। गीत संगीतमा पनि लागेका उनी त्यो रियालिटी शोको शीर्ष १० मा पुगेका थिए।

भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad