कला


पल भन्छन्ः समीक्षालाई उचाल्ने पुरुष मित्रका प्रमाण छन्

पल भन्छन्ः समीक्षालाई उचाल्ने पुरुष मित्रका प्रमाण छन्

नेपालखबर
फागुन १०, २०७८ मंगलबार ११:४०, काठमाडौँ

पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धलाई लिएर चर्को विवाद देखिएकाे छ। गायिका अधिकारीले पलविरुद्ध सम्पूर्ण प्रमाण आफूसँग रहेको उल्लेख गरिरहेकै बेला पलले उनलाई कसैले उक्साएको बताएका छन्। 

पलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो स्पष्टीकरण दिएका हुन्। उनले सञ्जालमा आफ्नो संघर्षपूर्ण जीवनको सम्झना पनि गरेका छन्। उनले संघर्षका क्रममा आएका बाधा र अड्चनले कृत्रिम समस्या खडा गरिदिएको समेत उल्लेख गरेका छन्। उनी भन्छन्, ‘एउटा संघर्षको चरणमा रहेको कलाकारलाई बारम्बार प्रहार हुदा नमिठो अनुभूति भने पक्कै हुँदो रहेछ।’

उनले समीक्षासँगको विवादलाई जोड्दै भनेका छन्, ‘विगत केही समययता मसँग एकजना गायिकाको नाम जोडेर विभिन्न समाचार, मेरो अन्य महिला साथीहरुको मञ्जुरी र अनुमति वेगर निजहरुको समेत तस्बिर राखी बनाइएको रिर्पोट र अन्य विभिन्न भ्रामक शीर्षक राखी आपत्तिजनक शब्द प्रयोग गरी तथ्यहीन लाञ्छना लगाई मेरो तथा निज गायिकाको समेत व्यावसायिक एवं व्यक्तिगत जीवनमा धक्का पुग्ने गरी प्रकाशित र प्रसारित भएको रिर्पोट, अडियो तथा समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भई सो बारेमा मेरा दर्शक, शुभचिन्तकहरुलाई सत्य तथ्य उजागरण गर्ने मनसाय साथ यो अपिल जारी गरेको छु।’

‘नेपालको संविधानले पुर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको हुँदा सत्यतथ्य समाचार प्रकाशन र प्रसारण गर्न नेपाली संचार जगत स्वतन्त्र रहेकोमा विवाद छैन। विगतमा पनि नेपाली प्रेसले विधिको शासन र नागरिक स्वतन्त्रताको पक्षमा अनुकरणीय भूमिका खेलेको गौरवमय इतिहास छ। तर यस्तो इतिहास बोकेको प्रेस जगतका केही सञ्चारमाध्यम एकांकी र गैरजिम्मेवार भएको पाउँदा मलाई दुखी तुल्याएको छ।’ उनी अगाडि भन्छन्, ‘म र मसँग नाम जोडेर समाचार प्रकाशित गर्दा, मेरो स्वतन्त्र प्रेसले मलाई एक वचन सोध्ने वा मेरो भनाई राख्न दिने अवसर पनि नदिएको हुँदा आम जन मानसमा सत्य उजागर गर्न यो अपिल प्रकाशित गर्न बाध्य भएको छु। एक अविवाहित गायिका, नायिका र उच्च शिक्षा पढ्दै गरेकी कसैको छोरी चेलिबेटीको नाम र तस्बिरसमेत सार्वजनिक गर्दै म सँग हुँदै नभएको प्रेम र विवाहका समाचार बनाएर हाम्रो चरित्र हत्या गर्न कुनै पनि मिडियालाई छुट हुँदैन, हुनु हुँदैन। आम सञ्चारमाध्यममा प्रकाशित यस किसिमका भ्रामक समाचारले म तथा अन्य नारी कलाकारहरुको व्यक्तिगत जीवनमा कस्तो नकारात्मक असर पर्छ त्यसको अनुमान समेत गर्न सकिदैन। उनीहरुको वर्तमान र भविष्यलाई नै अन्धकार बनाउने किसिमका उल्लेखित समाचारले नेपाली प्रेस जगतको श्रीवृद्धिमा पक्कै पनि सहयोग गर्दैन।’ 

आफ्नो आवाजमा सार्वजनिक भएको अडियोलाई लिएर पल भन्छन्, ‘अनलाइन माध्यममा प्रकाशित समाचार र अडियो रेकर्ड हेर्दा र सुन्दा म स्वयं आश्चर्यचकित भएको छु। प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भए पनि उक्त आवाज मेरो हो भन्नेमा पूर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोगमार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको छ। यहाँ पनि फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यावसायिक प्रतिस्पर्धी) ले निज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरूले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ। मेरा सम्पुर्ण दर्शक महानुभावको म प्रतिको भरोसालाई अक्षुण्ण राख्न, निज गायिकालाई मेरा प्रतिस्पर्धी साथीहरुले उकासेको अडियो लगायत अन्य प्रमाणहरु मसँग सुरक्षित रहेको र ती सबुत प्रमाण आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दै म र मसँग नाम जोडेर प्रकाशित उल्लेखित समाचार वास्तविकताभन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad