फिल्म ‘पुष्पाः द राइज’पछि निकै चर्चित बनेकी दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना अहिले अर्कै कुराले चर्चामा आएकी छन्। अर्थात् यतिबेला उनकाे प्रेम जीवनबारे चर्चा चलिरहेकाे हाे।
भारतीय सञ्चारमाध्यमका अनुसार रश्मिका ‘अर्जुन रेड्डी’का अभिनेता विजय देवेराकोन्डासँग प्रेम सम्बन्धमा छिन्। यति मात्र होइन उनीहरू आपसमा यही वर्ष विवाह नै गर्ने तयारी भइरहेको बलिउड लाइफले लेखेको छ।
२५ वर्षीया रश्मिका र ३२ वर्षीय विजयले दुई सुपरहिट फिल्ममा सँगै अभिनय गरेका छन्। ‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ फिल्ममा उनीहरूले सँगै काम गरेका हुन्। उनीहरूको जोडीलाई दर्शकले निकै रुचाएका थिए।
तर अहिलेसम्म उनीहरू दुवैले आफूहरूको प्रेम सम्बन्धबारे कुनै प्रतिक्रिया दिएका छैनन्। तर हालै एक अन्तर्वार्तामा रश्मिकाले विवाहबारे आफ्नो विचार व्यक्त गरेकी छन्।
इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘म अझै सानै छु। विवाहबारे मैले केही सोचेकी छैन। तर मलाई लाग्छ, बिहे त्यस्तो मान्छेसँग गर्नुपर्छ जसले आफूलाई सहज बनाउँछ।’

यसअघि विजयले पनि विवाहबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए।
उनले भनेका थिए, ‘समयआएपछि म विवाह गर्छु नै। तर त्यसअघि मानसिक रूपमा परिपक्व हुन जरुरी छ।’
बलिउड लाइफका अनुसार फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि अभिनेत्री रश्मिका टलिउडकी महँगी अभिनेत्रीमध्ये एक भएकी छन्। पहिले एउटा फिल्म खेलेको २ करोड भारु लिने उनले अहिले ३ करोड भारु पुर्याएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया