कलाकार दीपकराज गिरीले गायक जयनन्द लामाको निधनप्रति गहिराे दुःख व्यक्त गरेका छन्।
गायक लामाको बुधबार बिहान निधन भएको हो।
–कलाकार जयनन्द लामाको मृत्यु रहस्यमयः खुट्टा गाडीमा, टाउको भुइँमा
यसबाट दुःखी हुँदै कलाकार गिरीले लामालाई सम्झिएका हुन्।
लामाका केही लोकप्रिय संवादसमेत उल्लेख गर्दै कलाकार गिरीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका हुन्।
छक्का पञ्जा–४ मा सँगै काम गर्ने सपना अधुरै रहेको गुनासो गिरीले गरेका छन्। लामाले छक्का पञ्जा–३ मा गिरीसँगै काम गरेका थिए।
दीपकराज गिरीले लेखेका छन् :
‘ज्वाइँले बहिनी कुटेछ, राम्रो धेरै राम्रो, तर कुटेको अलि मिलेनछ, त्यही भएर मान्छे कसरी कुट्ने भनेर सिकाउनुआएको...’ यस्ता थुप्रै लोकप्रिय संवादले म उहाँलाई सम्झिरहन्थे, सम्झिरहनेछु!
हरेक भेटमा ‘दीपक भाइ! गायकको रूपमा त मेरो एउटा परिचय थियो तर अभिनयले त मलाई घर घरमा पुर्यायो’ उहाँ खुसी हुँदै भन्ने गर्नुहुन्थ्यो!
साथै उहाँले हाँस्ने एउटा गज्जबको शैली थियो उहाँसँग, जुन हामीले चलचित्रमा पनि प्रयोग गर्यौं। उहाँको त्यो हाँसो सुनेपछि एउटा छुट्टै माहोल नै बन्थ्यो...
त्यो अजिबको हाँसो अनि उहाँका रसिक कुराहरू, सकारात्मक सोच र त्यो बिन्दासपना....
जीवन, बगैंचामा फूलेको फूलजस्तै हो‚ फुलेपछि झर्नैपर्छ तर सम्झनाका फाँटहरूमा उहाँसँग बितेका हरेक पलहरू सधैं फुली नै रहनेछन्!
छक्का पञ्जा ४ मा दाइसँग काम गर्ने सपना पनि अधुरै रह्यो, संसारको यो तीतो यथार्थलाई स्वीकार्न नचाहेर पनि स्विकार्नै पर्दोरहेछ!
आदरणीय गायक तथा कलाकार जयनन्द लामा दाइप्रति हृदयदेखि नै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु!
Shares

प्रतिक्रिया