बौद्ध कथामा आधारित नेपाल भाषाको फिल्म ‘कर्म’ शनिबारबाट गुण सिनेमा हल, ग्वार्काेमा प्रदर्शन भएको छ। रामकृष्ण खड्गीको पटकथा, सम्वाद तथा निर्देशन रहेको फिल्मको निर्माता राजेन्द्र शाक्य (दिजेन्द्र) हुन्।
गुण समूहले निर्माण गरेको फिल्ममा वरिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठ, कर्म शाक्य, आशिष्मा नकर्मी, नारायणदेवी प्रधान, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, लुनिभा तुलाधर, वत्स शाक्य, रजनी खड्गी,अन्नपूर्णेश्वरी श्रेष्ठ, रुमन जोशी, अजय श्रेष्ठ, सुशील शाक्य, राजु मानन्धर, पुरन सायमीलगायतले अभिनय गरेका छन्।
पहिलो दिनको विशेष शोमा अभिनेता कर्म शाक्य, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, निर्माता छविराज ओझालगायतका कलाकार उपस्थित थिए।
निर्माता दिजेन्द्रले यो फिल्मले गर्ने सम्पूर्ण आम्दानी बौद्ध बिहारहरुको जिर्णोद्धार, संरक्षण तथा सम्बर्द्धनमा लगाइनुका साथै विभिन्न सामाजिक संस्थालाई प्रदान गरिने जानकारी दिए। निर्देशक रामकृष्णले फिल्म अब निरन्तर एक महिना गुण सिनेमामा प्रदर्शन हुने बताए।
यसै समूहले यसअघि पनि बौद्ध कथामा ‘पटाचारा’ र ‘कृषा गौतमी’ फिल्म निर्माण गरेको थियो। दुवै फिल्मको आम्दानी सामाजिक कार्यमा लगाइएको थियोे।
लुःज सिंहले खिचेको ‘कर्म’ को सहनिर्माता दिप्रश शाक्य छन्। रामकृष्ण, बालकृष्ण र राजु तुलाधरको संगीत रहेको फिल्मको सम्पादन र पाश्र्व संगीत सृजना बालकृष्ण वंशीले गरेका हुन्।
Shares

प्रतिक्रिया