कला


पल प्रकरणमा गायिका एलिना चौहानको खुलापत्र

पल प्रकरणमा गायिका एलिना चौहानको खुलापत्र

नेपालखबर
फागुन १९, २०७८ बिहिबार २१:५५, काठमाडौँ

नाबालिग (१८ वर्षभन्दा कम उमेर) गायिकालाई जबर्जस्ती करणी (बलात्कार) गरेको अभियोगमा अभिनेता पल शाहलाई प्रहरीले पक्राउ गरेपछि घटनाबारे देशव्यापी चर्चा भइरहेको छ। घटना कलाकारबीचकै भएकाले कलाकारिता क्षेत्र तरंगित नहुने त कुरै भएन। यसैले यस विषयमा एकपछि अर्काे कलाकारले आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्। 

यसै क्रममा गायिका एलिना चौहानले ‘पीडक’ र ‘पीडित’ दुवैलाई सम्बोधन गरेर खुलापत्र लेखेकी छन्। पीडितको नाम खुलाउन नहुने भए पनि सबैलाई थाहा भएकाले आफूले उल्लेख गरेको उनले बताएकी छन्। 

यस्तो छ, उनको खुलापत्र: 

केही दिनदेखि सामाजिक सञ्जालमा चलिरहेको विषयमा मलाई केही भन्न मन लाग्यो। कृपया पूरा पढेर मात्र आफ्नो विचार व्यक्त गर्नुहोला।​

बहिनी समीक्षालाई
प्रिय समीक्षा बहिनी मलाई तिम्रो धेरै माया लाग्छ। किनकि हामीले झण्डै एउटै समयमा यो क्षेत्रमा पाइला अघि बढाएका थियौं। अझ साहानुभूति त तिमीले भनेझैं तिमी नाबालिका भएर पाएकी छौ। तिमीसँगको सहकार्यमा गरेका धेरै कामहरू मेरा सफल बनेका छन्। तिमी र मबीच धेरै नजिकको सम्बन्ध छ तर यो सम्बन्ध रहिरहँदा तिमीले मलाई आज बाहिर सुनिरहेका कुराहरू कहिल्यै सुनाएकी थिएनौ। हुन त आज तिमीले लगाएको पल दाजुप्रतिको आरोप के हो, त्यसको वास्तविकता केलाउने अदालतको काम हो। यदि तिमी सत्य छौ भने तिमीले भोग्नुपरेको दुःखको चिन्ता नलिनू। बाहिरको अफवाह झुटो भई तिमीले भनेझैं सबै कुरा सबुत प्रमाणका आधारमा प्रमाणित भए पक्कै पनि तिमीले न्याय पाउनेछौ।

अहिले तिमी गलत छौ या सही कसैले भन्न सक्ने अधिकार कानुनले दिएको छैन। बाहिर आएको अडिओ रेकर्ड र केही अन्तर्वार्ता कति तिम्रो पक्षमा छन्, अनि कति तिम्रो विपक्षामा पनि उभिएका छन्। तिमी नाबालिका हौ भनेर कहीं प्रमाणित भएको अवस्था देखेको छुइन। भन्न त तिमीले सबैलाई आफ्नो उमेर भनेकी थियौ तर कानुनले प्रमाणमा विश्वास राख्छ र त्यो तिमीले कानुनलाई बुझाएकी छौ होला। नाबालिका प्रमाणित भएको खण्डमा कानुनले त्यसकै अनुरूप तिमीलाई न्याय दिनेछ। तिमी अन्यायमा परेकी हौ भने सबैले तिमीलाई मदत गर्नेछन्। म पनि तिम्रो साथमा छु। अब सत्यतामा बसेर आफ्नो अडान राख्नू।

दादा पललाई
आदरणीय दाइ पल शाहप्रति मेरो उत्तिकै सम्मान छ। तपाईंमा लागेको आजको आरोपले तपाईंप्रतिको सम्मानमा थोरै पनि विचलित बनाएको छैन। एउटा सामान्य भिडिओ इडिटर भएर कलाकारिता जगतमा छिरेर आज उभिनुभएको स्थानमा तपाईं सजिलै पुग्नुभएको पक्कै पनि छैन। विगतका दिनमा तपाईंले गर्नुभएको समाज सेवाहरू सबैका लागि  प्रेरणाको स्रोत बनेको थियो। तपाईंसँग भएको सहकार्यमा म कहिल्यै निराश बन्नुपरेको थिएन। तपाईंको कामप्रतिको लगनशीलता र आत्मविश्वासले गीत–संगीत क्षेत्रलाई अझ माथि उठाएको पक्कै हो। आज जुन आरोपले तपाईं प्रहरी हिरासतमा बस्नुपरेको छ, त्यो झुटो साबित भयो भने सबैभन्दा पहिला तपाईंको खुट्टा तान्नेहरूको अनुहार हेर्नुहोला र जीवनमा धेरै महँगो पाठ सिके भनेर महसुस गर्नुहोला। प्रगति यस्तो शब्द रहेछ, जसले आफ्नो विपक्षमा ईर्ष्या बोलाउँदो रहेछ। हो त्यसको आहारा बन्नुपर्यो तपाईं आज। बाहिर आएको अडिओहरूमा के कतिको सत्यता छ, त्यसलाई अहिले नै विचार गरिहाल्न सक्ने अवस्था र बौद्धिकता ममा छैन। तपाईं स्वयं प्रहरीको हिरासतमा गई अनुसन्धानलाई सघाउनु नै ठूलो कुरा हो। लागेको आरोप झुटो ठहरिए तपाईसँगै म पनि खुसीको पात्र बन्ने छु।

शुभचिन्तकलाई
आज गरेको कर्मले भोलिको आफ्नो भविष्य निर्धारण गर्छ। हिजो पल दाजुलाई हाईहाई भनेका शुभचिन्तक आज कोही समीक्षा बहिनीलाई सही मान्दै हुनुहुन्छ होला त कति समीक्षाका शुभचिन्तक उनी गलत हो भनेर बस्नुभएको होला।

तपाईंहरू त हाम्रा लागि जिउँदो भगवान् हो। तपाईंहरू बिना हामी अधुरा छौं। आफ्नो मान्छेलाई आरोप लाग्दा र आफ्नो मान्छेलाई पीडा परेको झट्ट सुन्दा अर्को पक्षलाई नराम्रो लाग्नु स्वाभाविक हो। हो, त्यसैको उदाहरणस्वरूप आज पक्ष विपक्ष भई आआफ्नो मान्छेलाई साथ दिइरहनुभएको छ। तपाईं दर्शकहरू कहिल्यै गलत हुनुहुन्न र हुन सक्नु पनि हुन्न। तपाईंहरूलाई गलत देख्ने त हामी गलत हौं।। तपाईंहरूसँग जन्मिँदै रगतको नाता लिएर आएको होइनौं कि हरेक गलत कुरालाई तपाईंहरू सही मानी दिनुहुन्छ। तपाईं दर्शकहरूको नजरमा जे गलत छ त्यो गलत नै हुनेछ।

गीत–संगीतमा बहिनी समीक्षा र दाजु पलले गर्नु भएको योगदान अविस्मरणीय छ। न यो क्षेत्रले यति सानो उमेरमा यति मीठो गाउने अर्को समीक्षा पाउला न यति लगनशील नायक पाउला। यी दुवै पात्र यो क्षेत्रको लागि उति नै आवश्यक  छ र रहनेछ पनि। दुवैलाई यो क्षेत्रबाट अलग राखेर हेर्ने मन मलाई छैन। दुवैको सहकार्यमा बनेको म्युजिक भिडिओले तारिफमा तारिफ पाएको थियो। कसैले यो दिन आउँछ, सोचेको थिएन होला।

कानुनका खाका पल्टाउँदै जाँदा को कति दोषी छ, त्यो त भोलि अदालतले आफ्नो फैसलामा समावेश गर्ला र त्यहीबमोजिमको सजाय भोग्नैपर्ने हुन्छ। कानुनभन्दा माथि कोही छैन, त्यसैले कानुनको फैसला नमानेर कोही विजेता हुने छैन। अब लडाइँ समीक्षा र पलको होइन न नै। समीक्षा र पलले लड्नुपर्ने छ। अब कानुनमा रहेर कानुनका विद्वानहरूले लडाइँ लड्ने छन्। हामी त बस् सत्यताको पर्खाइमा छौं। थोरै ढिलो होला, तर सत्य लुक्ने छैन। दुवैलाई शुभकामना।

नोट : पीडित पक्षको नाम खुलाउन नमिल्ने भए तापनि सबैलाई थाहा भएको हुनाले मैले खुलाएकी हुँ। माथि उल्लिखित कुराहरूमा म गलत भए माफी चाहन्छु। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad