नाबालिग (१८ वर्षमुनि) गायिका बलात्कार अभियोगमा अभिनेता पल शाह अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्। घटनाबारे अनुसन्धान जारी छ।
यस विषयमा एकपछि अर्काे कलाकारले आफ्ना मत जाहेर गरिरहेका छन्।
यस क्रममा अभिनेत्री प्रियंका कार्कीले पनि यस प्रकरणमा आफ्नो विचार व्यक्त गरेकी छन्। उनले यो समाजमा पीडितले पीडित हुँ भन्न पनि ठूलो साहस गर्नुपर्ने अवस्था रहेको टिप्पणी गरेकी हुन्।
‘दुःखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौं, जहाँ पीडितले म पीडित हुँ भन्न मात्र पनि ठूलै हिम्मत बोकेर आउनुपर्छ’, नायिका कार्कीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘यस्तोमा अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी–बहिनीहरूको म भित्री आत्मादेखि नै कदर गर्दछु।’
यस क्रममा उनले आफूले बुझेअनुसार नाबालिगको उमेरको हदबन्दी नेपालमा मात्र नभएर विश्वका सबै देशमा आफ्नो परिवेशअनुसार उमेर नपुगेकाहरूको निर्णय लिन सक्ने क्षमतालाई ध्यानमा राखेर नै तोकिएको हुने उल्लेख गरेकी छन्।
‘नाबालिगहरू निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व हो भन्ने मेरो पनि मान्यता हो’, उनले भनेकी छन्, ‘यस्तो अवस्थामा, नाबालिगले म पीडित हुँ भन्दा उनको चरित्रमाथि नै प्रश्न चिह्न उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन।’
Shares

प्रतिक्रिया