कला


पल शाह प्रकरण: घरबेटीसँग पनि प्रहरीले लियो बयान

२१ दिनमा नवलपुरले अनुसन्धान सक्ने
पल शाह प्रकरण: घरबेटीसँग पनि प्रहरीले लियो बयान

फाइल तस्बिर


नेपालखबर
फागुन २२, २०७८ आइतबार २२:१०, काठमाडौँ

दोस्रोपटक १२ दिनको म्याद लिनुअघि नै जिल्ला प्रहरी कार्यालय तनहुँले नायक पल शाहविरुद्धको मुद्दामा जोडिएका ५ जनासँग बयान लिइसकेको छ।

प्रहरी उच्च स्रोतका अनुसार अहिलेसम्म घटना भएको भनिएको तनहुँस्थित घरका घरबेटी प्रदीप थापा दम्पति, दुर्व्यहार हुँदा सँगै भएका भनिएका गायक दुर्गेश थापालगायतसँग बयान लिइएको हो। 

प्रहरी स्रोतका अनुसार घरबेटी दम्पतिले आफ्नो घरमा बसेको स्वीकार गरे पनि अन्य कुरा भने आफूहरूलाई थाहा नभएको बयानका क्रममा बताएका छन्। यता दुर्गेशले भने पीडितको जाहेरीको समर्थन हुनेगरी बयान दिएका छन्। 

‘उनीहरूसहित ५ जनासँग प्रहरीले बयान लिइसकेको छ। घटनामा जोडिएका सबैसँग सोधपुछको काम भइरहेको छ’, प्रहरी स्रोतले नेपालखबरसँग भन्यो, ‘अन्य प्रमाण संकलनका काम पनि सँगै भइरहेका छन्।’

प्रहरीले पीडित नाबालिगसँग भने सुरुमै घटना विवरण कागजात गराइसकेको छ। 

प्रहरीले पललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार अदालतबाट अनुमति पाएको छ। यसअघि गत आइतबार पहिलोपटक सात दिनको म्याद पाएको थियो। 

भिडिओ सुटिङमा सँगै काम गर्ने नाबालिगलाई नायक शाहले विभिन्न ठाउँमा जबर्जस्ती करणी गरेको आरोप छ। गत चैतमा बागलुङको गलकोट महोत्सवमा जाँदा गाडीमा दुर्व्यवहार भएको र त्यतिबेला दुर्गेश पनि सँगै रहेको जाहेरीमा उल्लेख छ। 

गत वैशाख १४ गते साँझ पोखराबाट काठमाडौं आउने क्रममा उनीहरू तनहुँको दुलेगौंडा बास बसेका थिए। त्यहाँ पलले आफूलाई जबर्जस्ती करणी गरेको आरोप पीडित नाबालिगको छ। 

जाहेरीमा सम्राट चौलागाईं, कमल खत्रीलगायत पनि जोडिएका छन्। उनीहरूसँग पनि प्रहरीले सोधपुछ गरेको छ। 

केही दिनमै नवलपरासी​ पठाइने 
नायक पल शाहविरुद्ध उनै नाबालिगले पूर्वी नवलपरासीमा पनि बालात्कार आरोप लगाउँदै जाहेरी दिएकी छन्। अघिल्लो उजुरीबमोजिम पल शाह तनहुँ जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकै दिन गैंडाकोट इलाका प्रहरी कार्यालयमा पनि जाहेरी दर्ता गरिएको हो। 

त्यहाँको प्रहरीले जाहेरी दर्ता गरी पल शाहलाई पठाइदिन आग्रह गर्दै पत्राचार गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले केही दिनमै पललाई गैंडाकोट पठाउने तयारी गरेको छ। 

तनहुँमा भन्दा पहिले नवलपुरमा घटना भएकाले २१ दिनभित्रमा मुद्दा बुझाइसक्नु पर्ने बाध्यता रहेको नवलपुरका एक प्रहरी अधिकारीले बताए। 

‘जाहेरी परेपछि हामीले अन्य अनुसन्धान त गरिरहेका छौं। तर हामीलाई २१ दिनभित्रमा मुद्दा लगिसक्नुपर्ने बाध्यता छ। यस्ता केसमा एक वर्षभित्रमा अदालत टेकाइसक्नुपर्छ। हामीसँग अब २१ दिन मात्रै समय छ’, उनले नेपालखबरसँग भने, ‘यो अवधिमा हामी मुद्दा बुझाइसक्छौं।’

पल शाहविरुद्ध जिल्ला अदालत तनहुँ र नवलपुरमा छुट्टाछुट्टै तर बलात्कारकै मुद्दा दर्ता हुने भएका छन्। घटनाको समय, घटनास्थल पनि फरकफरक भएकाले छुट्टाछट्टै मुद्दा चल्ने भएको हो। 

पीडित भनिएकी नाबालिग १८ वर्षमुनिकी भएकाले सहमतिमै करणी गरिएको भए पनि बलात्कार ठहर्ने कानुनी व्यवस्था छ। यो व्यवस्थाअनुसार दोषी ठहर भए नायक शाहलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad