कला


अष्ट्रेलियामा २७ लाखमा बिक्यो ‘चिसो एष्ट्रे’

अष्ट्रेलियामा २७ लाखमा बिक्यो ‘चिसो एष्ट्रे’

नेपालखबर
फागुन २७, २०७८ शुक्रबार १३:६, काठमाडौँ

प्रदर्शनको संघारमा रहेको फिल्म ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ।

निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अष्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन्। कंगारु क्रिएसनका प्रमुख तथा ‘चिसो एष्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिमिल्सिनाले कमेरोले ३० हजार अष्ट्रेलियन डलरमा प्रदर्शन अधिकार लिएको जनाएका छन्।

अहिलेको चलिरहेको अष्ट्रेलियन डलरलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा यो २७ लाख बराबर हुन आउँछ। कमेरोका सुरज सुवेदी र निर्माता महेशबीच फिल्म प्रदर्शन गर्ने सम्बन्धमा औपचारिक सम्झौतासमेत सम्पन्न भइसकेको छ।

‘अष्ट्रेलियामा निरन्तर कार्यक्रमहरू गरिरहने कमेरो इभेन्ट्ससँग हाम्रो फिल्म पनि चलाउने सम्झौता भएको छ। उहाँहरूसँग पहिला पनि थुप्रै नेपाली फिल्म प्रदर्शन गरेको अनुभव छ,’ निर्माता महेशले भने, ‘ लामो समयपछि अष्ट्रेलियामा नेपाली फिल्म प्रदर्शन हुन लागेको छ। यसले हामीसँगै अष्ट्रेलियाका नेपाली पनि उत्साहित हुनुहुन्छ। यसले विदेशतिर नेपाली फिल्म प्रदर्शनको बाटो बनाउने कुरामा पनि हामी आशावादी छौँ।’

‘चिसो एष्ट्रे’ले बाँकी नेपाली फिल्मले भन्दा बढी पैसा पाएको हो। चलेका तथा राम्रा मानिएको ब्यानरले पनि यसअघि बढीमा २० लाखसम्म पैसा पाएका थिए। निर्माता महेशबाबुले आफूहरूको आधार क्षेत्र अष्ट्रेलिया नै रहेकाले पनि उठाउने आत्मविश्वासका साथ कमेरोले लगानी गरेको हुनसक्ने बताए।

‘फिल्म निर्माण कम्पनी कंगारु क्रिएसनको अर्को संस्था कंगारु एजुकेसन फाउन्डेसनको अष्ट्रेलियाको सिड्नीबाहेक एडिलेड र तास्मानियामा पनि आफ्नै कार्यालय छ। फाउन्डेसनमार्फत अष्ट्रेलिया पुग्ने लगभग सबै विद्यार्थीलाई फिल्म देखाउने हाम्रो लक्ष्य छ,’ महेशबाबुले भने, ‘त्योबाहेक हामी सब टाइटल गरेर त्यहाँका हलमा पनि फिल्म लगाउँदैछौँ। यो सबै हिसाब गरेर फिल्मको अधिकार बेचिएको हो।’

दिन्स पाल्पालीको लेखन तथा निर्देशन रहेको फिल्मले ट्रेलर सार्वजनिकीकरण पछि राम्रो चर्चा पाइरहेको छ। फिल्मको टोन, कलाकारको अभिनय, छायांकन तथा भूपि शेरचनको कविताको भावलाई पर्दामा उतार्ने जमर्को गरेको भन्दै फिल्मको प्रशंसा भइरहेको छ। 

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले  प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन्। फिल्मको सह निर्मातामा भने रुपेश ढुंगाना,  नविन ढुंगाना र सुजन खतिवडा रहेका छन्।

फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील पाण्डे, रविन तामाङ आदि कलाकारको अभिनय रहेको छ। फिल्म चैत ४ अर्थात् आउँदो शुक्रबार नेपालमा प्रदर्शन हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad