कला


‘पिर’ गीतको भिडिओ तत्काल युट्युबबाट हटाउन प्रकाश सपुतलाई चेतावनी

‘पिर’ गीतको भिडिओ तत्काल युट्युबबाट हटाउन प्रकाश सपुतलाई चेतावनी

फाइल तस्बिर : अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र गायक प्रकाश सपुत।


नेपालखबर
फागुन २८, २०७८ शनिबार १९:३२, काठमाडौँ

प्रकाश सपुतको नयाँ गीत ‘पिर’ विवादमा परेको छ। जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित उक्त गीत १६ मिनेट २५ सेकेन्डको छ। 

तर यो गीत तुरुन्त युट्युबबाट हटाउन नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले चेतावनी दिएको छ। 

अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सामाकिज सञ्जालमा स्टाटस लेख्दै गायक सपुतलाई तत्काल युट्युबबाट गीत हटाउन चेतावनी दिएकी हुन्। 

‘महान् जनयुद्धको कारण केही थान मन्त्रीहरू ,माननीयहरू र टाठाबाठाहरूको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रूपमा छ। सहिद परिवार बेपत्ता परिवार ,पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखबर भने छैन। कतिपय प्रयत्नहरू सफल हुन सकेका छैनन्’, उनले लेखेकी छन्, ‘व्यवस्थापनमा केही नभएको भन्ने पनि होइन विभिन्न तहमा प्रयत्नहरू भइरहेका पनि छन् तर व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपुतजीले युट्युबमा अपलोड गरिएको पिर नामक भिडिओ आपत्तिजनक र निन्दनीय छ।’

जनयुद्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा स्मरण गराउँदै अध्यक्ष सिंहले जनयुद्धमा सहभागी महिलाले जातीय विभेदविरुद्ध पनि लडेका थिए भन्ने कुरा नभुल्न सुझाव दिएकी छन्।

‘तिनै दिदीबहिनीहरुमाथि अपमान हुनेगरी बनाइएको तपाईंको पिर नामक भिडिओ सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको जस्तो गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु’, उनले भनेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad