संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानबीच भर्चुअल संवाद भएको छ।
होटल सोल्टीमा पुगेर मन्त्री आलेले सलमानसँग भर्चुअल संवाद गरेका हुन्। उनले संवादका क्रममा सलमानलाई स्वागत गर्न आतुर रहेको बताएका छन्।
कोरोना महामारीले नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर परेको बताउँदै आलेले अब अवस्था सामान्य भएकाले नेपाल आउन पनि निम्ता दिएका छन्।
‘सलमानजी आप से मिलके हम बहुत खुस हुआ, हम आपको स्वागत करने के लिए आतुर हे,’ उनले हिन्दीमा बोल्दै भने।
सलमानले पनि आलेसँग संवाद गर्न पाउँदा खुसी लागेको बताए। उनले नेपाल मन पर्ने बताउँदै चाँडै आउने आश्वासन आलेलाई दिए।
उनले कोरोनाले सबैलाई दु:ख दिएको बताउँदै आफू नेपाल आउन तयार रहेको पनि बताएका छन्।
उत्तरमा आलेले नेपालका अधिकांश मानिसले कोरोनाविरुद्धको खोप हानेको बताउँदै भारतको पनि अवस्था सोधेका छन्। त्यसपछि सलमानले कोभिडका कारण भारतमा पनि कयौँले परिवारका सदस्य गुमाएको बताउँदै अब महामारी निस्किँदै गएको पनि उल्लेख गरे।
मन्त्री आलेले सलमानलाई सगरमाथा आरोहण गर्न पनि सुझाएका छन्। त्यसक्रममा उनले आरोही निर्मल पुर्जाको पनि नाम लिए।
सलमानले समय मिलाएर आफू सगरमाथा आरोहणमा आउने पनि बताए।
‘तपाईँलाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा आग्रह गर्छु', आलेले भने, 'समय मिल्यो भने म तपाईँलाई हेलिकप्टरबाट सगरमाथा आरोहणमा लैजान्छु। त्यसमा तपाईँ तयार हुनुपर्यो।'
आलेले सलमानका कयौँ फिल्म हेरेको पनि सुनाए। उनले त्यसक्रममा सलमानलाई स्वागत गर्न नेपाली जनता र सरकार तयार बताए।
आफ्नो चलचित्रको प्रवर्द्धनका लागि सलमान आगामी जेठ १४ गते नेपाल आउँदैछन्। त्यसअघि नै मन्त्री आलेले सलमानसँग भर्चुअल वार्ता गरेका हुन्।
Shares

प्रतिक्रिया