गायक प्रकाश सपुतले पछिल्लो गीत 'पीर'बाट यौन व्यवसायसम्बन्धी दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई बुझेर हटाएको स्पष्टीकरण दिएका छन्।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गायक प्रकाश सपुतले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको बताए।
उनले उक्त दृश्यले समाजमा र त्यस्तै पेशामा आधारित मानिसहरुलाई झनै पीर परेको भन्दै गीतबाट हटाउनु परेको बताए।
गायक सपुतले जनयुद्ध लडेर समाज विकास नभएकोले निराश बनेका योद्धाहरु उक्त दृश्यबाट झनै चिन्तित बनेको भन्दै गीतमा भएको केही दृश्य हटाएर पुनः सार्वजनिक गरेको बताए।
उनले उक्त कुरालाई भावनात्मक रुपमा बुझिदिन पनि समस्त श्रोता एवं दर्शकहरुलाई आग्रह गरेका छन्।
‘त्यहाँ छोडिएका प्रश्नहरु डिलिट गरेको भए, यदी त्यहाँनेर लोकेन्द्र सरको भुमिकालाई हटाएको भए सायद म कसैको विचारबाट डराएँ, शक्तिबाट डराएँ, कुनै निश्चित समूहबाट डराएर हटायो भन्ने हुन्थ्यो, यसलाई भावनात्मक हिसाबले सोचिदिनु हुन अनुरोध गर्दछु', उनले भने, 'मसँग त्यसका लागि थुप्रै तर्क छन्, त्यस्ता पात्र सिर्जना गर्न पाउने कि नपाउने, भन्ने तर हामी यतिबेला नेपाली समाजमा छौँ, सम्बन्ध छ। कसैको दुःखसँग जोड्ने मन छ। मन र भावनाका हिसावले त्यो पात्रको चित्त दुख्यो भन्ने हिसावले त्यो पार्ट हटाएको हो। जो जनयुद्ध लडेर आफैँमा चित्त दुखाएका छन्, उनीहरुको किन चित्त दुखाउने भनेर त्यो भाग हटाएको हो।’
गीत ‘पीर’ मा जनयुद्धकालीन परिवेशमा देश विकासका लागि लडेका योद्धाहरुको दुःख देखाइएको छ।
नेकपा (माओवादी केन्द्र) निकटका भातृसंगठनहरुले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको सही भएपनि जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी दृश्य समावेश गर्नु आपत्ति जनाएका थिए।
'पीर’ बोलको गीतको भिडिओमा नेपालमा सशस्त्र द्वन्द्व हुँदा माओवादी लडाकु रहेका एक जोडीले वर्तमान समयमा भोगिरहेको अभाव र पीडाको कथा देखाइएको छ।
भिडिओको एउटा दृश्यमा पूर्वलडाकु महिला अभावकै कारण देहव्यापारमा संलग्न भएको चित्रण गरिएको छ । त्यही दृश्यमाथि अधिकांश माओवादी नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाएका हुन्।
Shares

प्रतिक्रिया