दोस्रो संविधानसभा निर्वाचनताका राजनीतिमा लागेर हार खाएका पात्र हुन्– अभिनेता भुवन केसी। केसी २०७० ताका एमालेमा सक्रिय भएर लागे।
उनलाई दोस्रो संविधानसभा निर्वाचन काठमाडौं क्षेत्र नम्बर १ बाट टिकट दिने आश्वासन दिएको थियो। तर, अन्तिममा आएर पार्टीले धोका दियो।
उनलाई टिकट दिने आश्वासन दिएको ठाउँमा एमालेले नेता विदुर मैनालीलाई उम्मेदवार बनायो।
त्यसपछि चिढिएका केसीलाई पार्टीले थामथुम पारेर समानुपातिक सूचीमा नाम राख्यो। तर, सांसद बनाएन।
त्यसपछि उनी राजनीतिबाट मन मारेर बसे। उनी राजनीतिबाट वितृष्णा बढेको बताउँदै आएका थिए। केही दिन अघि टेलिफोन संवादमा भुवनले भनेका थिए ‘त्यहाँ झुटो बोल्ने, झुटो भाषण गर्ने, झुटो आश्वासन बाँड्न सक्ने, जे बोलेको छ त्यो पूरा गर्न नसक्ने, चाकडी गर्ने, चाप्लुसी घस्नेले मात्रै स्थान पाउने ठाउँ रहेछ। यो सबै नजानेकाले म राजनीतिमा स्थापित हुन सकिनँ।’
दोस्रो संविधानसभा निर्वाचनपछि राजनीतिक रुपमा सक्रिय नभए पनि उनले एमाले परित्याग भने गरेका छैनन्।
चुनाव नजिकिएसँगै उनकी समकालीन अभिनेत्री करिश्मा मानन्धर सक्रिय रुपमा एमालेमा लागेकी छिन्। यहि बेला भुवन केसीले पनि राजनीतिमा सक्रियता बढाएको खबर सार्वजनिक भएको छ।
उनी एमाले बाहेकका दलसँगको छलफलमा सक्रिय देखिएका छन्। राप्रपाका नेताहरुले भुवनलाई आफ्नो पार्टी प्रवेश गराउन छलफल चलाइरहेका छन्।
भुवनले भने राजनीतिक रुपमा सक्रिय हुन चाहेको भए पनि कुन पार्टीबाट सक्रिय हुने निर्णय नगरेको बताए।
उनी भन्छन् ‘राजनीतिक दलसँग भेटघाट हुन्छ। पार्टीमा आउनु भन्ने कोणबाटै कुराकानी हुन्छ। तर मैले कुनै पनि पार्टीमा प्रवेश गरें भने म औपचारिक रुपमै प्रेस मिट गरेर जानकारी गराउने छु।’
Shares

प्रतिक्रिया