कला


ओस्कार : स्टेजमै उद्घोषकलाई थप्पड हानेका अभिनेता विल स्मिथले पश्चाताप गर्दै मागे माफी

ओस्कार : स्टेजमै उद्घोषकलाई थप्पड हानेका अभिनेता विल स्मिथले पश्चाताप गर्दै मागे माफी

नेपालखबर
चैत १५, २०७८ मंगलबार १७:३४, काठमाडौँ

ओस्कार अवार्ड वितरण समारोहमा आफ्नी पत्नीलाई व्यंग्य गरेको रिसमा कार्यक्रम प्रस्तोता क्रिस रकलाई थप्पड हानेका हलिउड अभिनेता विल स्मिथले पश्चाताप गर्दै क्षमा मागेका छन्। 

उनले आफ्नो त्यो व्यवहार ‘अस्वीकार्य र अक्षम्य’ भएको उल्लेख गर्दै भनेका छन्, ‘क्रिस, म तपाईंसँग सार्वजनिक रूपमा माफी माग्न चाहन्छु।’

विज्ञप्तिमार्फत माफी मागेका उनले अगाडि थपेका छन्, ‘मैले सीमा नाघेर व्यवहार गरें र गलत गरें।’

ओस्कर्स फिल्म एकेडेमीले उनको व्यवहारको भर्त्सनासहित  घटनाको औपचारिक समीक्षा गर्ने घोषणा गरेपछि स्मिथले सार्वजनिक रूपमा क्षमायाचना गरेका हुन्। 

ओस्कार समारोहमा कार्यक्रम सञ्चालक रहेका हास्य कलाकार क्रिसले स्मिथसँगै उपस्थित उनकी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोप्रति ठट्टा गरेका थिए। त्यसलगत्तै रिसाउँदै उठेका चर्चित अभिनेता स्मिथले स्टेजमै गएर उनको गालामा दरिला थप्पड हानेका थिए।

क्रिसले पिङ्केट स्मिथको कपाल झर्ने समस्या, एलोपेसियाको कारण मुडुलो बनाएको टाउकोको खिल्ली उडाएका थिए। उनले भनेका थिए, ‘आई लभ यु जाडा। म जीआई जेन २ को प्रतीक्षामा छु।’

‘जीआई जेन’ सन् १९९७ को हलिउड फिल्म हो, जसकी प्रमुख नायिकाले कपाल खौरेकी थिइन्। ​

त्यसैलाई आधार बनाएर साँच्चै मुडुलो रहेकी आफ्नी पत्नीप्रति व्यंग्य गरेपछि अभिनेता स्मिथले रिस थाम्न नकसी सरासर गएर उनको गाला चड्काएका थिए।  

त्यसको केही क्षणपछि अभिनेता स्मिथले ‘किङ रिचर्ड’ चलचित्रमा ख्यातिप्राप्त टेनिस खेलाडीहरू भिनस र सेरेना विलियम्सको बुबाको भूमिका निर्वाह गरेकामा सर्वाेत्कृष्ट अभिनेताको उपाधि पाएका थिए। 

‘हिंसाको हरेक स्वरूप विषाक्त र विनाशकारी हुन्छ’, इन्स्टाग्राममार्फत सार्वजनिक गरेको विज्ञप्तिमा अभिनेता स्मिथले भनेका छन्, ‘गत राति (घटनाका दिन) एकेडेमी अवार्डमा मैले गरेको व्यवहार अस्वीकार्य र अक्षम्य छ। मप्रति गरिने ठट्टाहरू मेरो कामको एउटा अंश हो तर जाडा (पत्नी) को स्वास्थ्य अवस्था (मुडुलो टाउको) प्रति गरिएको व्यंग्य असह्य भयो र मैले भावनात्मक रूपमा प्रतिक्रिया जनाएँ।’

यो पनि : ​ओस्कार समारोह: आफ्नी पत्नीलाई व्यंग्य गरेपछि विल स्मिथले उद्घोषकको गाला चड्काए (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad