कला


राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु, ६१ टोलीबीच प्रतिस्पर्धा

राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु, ६१ टोलीबीच प्रतिस्पर्धा

नेपालखबर
चैत १६, २०७८ बुधबार १९:२१, काठमाडौँ

‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ बुधबारबाट काठमाडौं भृकुटीमण्डपमा सुरु भएको छ। अर्थ सचिव मधुकर मरासिनी र वरिष्ठ लोक गायक कुमार बस्नेतले यो प्रतियोगिताको बुधबार उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै अर्थ सचिव मरासिनीले एक समय गाउँमा गाइने लोक दोहोरी गीत अहिले शहरमा पनि त्यत्तिकै प्रचलित भएको बताए। नेपालको मौलिक लोक संगीतको रुपमा लोक दोहोरी गीत रहेको चर्चा गर्दै यो प्रतियोगिताले लोक दोहोरीका विकासमा अझ टेवा पु¥याउने विश्वास उनले व्यक्त गरे। 

वरिष्ठ लोक गायक कुमार बस्नेतले आफूहरुको पालामा लोक गीत गाउनेलाई गाउँलेको रुपमा हेर्ने गरेको स्मरण सुनाए। आफ्ना केही गीतको चर्चा गर्दै अहिले निकै राम्रा लोक दोहोरी गीतहरु आएको छ भने। कोरोनापछि लोक दोहोरी गीत प्रतियोगितामा दर्शकको उपस्थित देखेर खुसी व्यक्त गर्दै लोक दोहोरी प्रतिष्ठानले निकै राम्रो काम गरेको उनले चर्चा गरे।

यस्तै लोक दोहोरी प्रतिष्ठानको पूर्व अध्यक्ष तथा लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानले अहिलेका कतिपय चर्चित लोक दोहोरी गायक गायिकाहरु बिगतमा यस्तै प्रतियोगिताबाट यो क्षेत्रमा आएको स्मरण सुनाए।

संगीत क्षेत्रमा सरकार उदासिन भएको टिप्पणी गर्दै उनले भने, ‘हाम्रा श्रष्टाको निधन हुँदा कमलादीको प्रज्ञा प्रतिष्ठानमा श्रष्टाको शव राखेर श्रद्धाञ्जलन प्रकट गर्न पनि रोक लगाइयो। हामीले टोखामा प्रतिष्ठानको कार्यालय जेनतेन बनाएको भए पनि अब दिवँगत श्रष्टालाई श्रद्धाञ्जली दिनको लागि समेत केही जग्गा जोहो गर्न आर्थिक जोगाड गर्नु पर्ने भएको छ।’

हास्य अभिनेता जितु नेपालले आफू हास्यव्यंग्य अभिनेता भए पनि मोडल बनेर कैयौं लोक दोहोरी गीतमा मोडलिङ गरेको स्मरण सुनाए। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आजिवन सदस्य बन्ने घोषणा गर्दै आफु पनि अभिनयको हिसावले लोक दोहोरीको कलाकार भएको बताए। प्रधानमन्त्री शेर बहादुर देउवा लगायत विभिन्न कलाकारको क्यारिकेचर गर्दै उनले यस्तो प्रतियोगिताले लोक दोहोरीमा एक प्रकारको उत्साह जागेको छ भने। 

बुधबारबाट ४ दिनसम्म जारी रहने यो प्रतियोगितामा राजधानी र मोफसबाट ६१ वटा टोलीले भाग लिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए।

दर्शकका लागि प्रवेश निशुल्क गरिएको यो प्रतियोगितामा उत्कृष्ट हुने टोलीले लोक दोहोरी तर्फको राष्ट्रिय रनिङ शिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र प्राप्त गर्ने छन्।

यस्तै, द्धितीय हुने टोलीले ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ सहित ट्रफी, पदक, प्रमात्रणपत्र प्राप्त गर्ने पनि अध्यक्ष बिजीले कार्यक्रममा जानकारी गराए।

उनका अनुसार यो प्रतियोगितामा उत्कृष्ट हुने दुई जना गायक र दुई जना गायिकालाई जनही १० हजार रुपैयाँ सहित उत्कृष्ट गायक गायिकाको पुरस्कार प्रदान गरिने छ भने उत्कृष्ट भेषभुषा र उत्कृष्ट अनुशासन टोलीले पनि १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन्।

सो कार्यक्रममा दोहोरीसँगै खानाहरु विभिन्न स्टल पनि राखिएकाले दर्शकले खानाको स्वादसँगै दोहोरी सुन्न सक्ने छन्।

बुधबार उद्घाटन भएको यो प्रतियोगितामा बिहिबार बिहान नौ बजेबाटै दोहोरी गायन टोली बीच गायन प्रतिस्पर्धा हुने भएको छ। बिहान ९ बजे देखि बेलुका ७ बजेसम्म जारी रहने यो प्रतियोगिताको समापन शनिबार बेलुका हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad