कला


‘ए मेरो हजुर’सँग गाँसिएका झरनाका सुख-दुःख

‘ए मेरो हजुर’सँग गाँसिएका झरनाका सुख-दुःख

राधिका अधिकारी
चैत १८, २०७८ शुक्रबार १५:४, काठमाडौँ

अभिनेत्री झरना थापाका लागि चलचित्र ‘ए मेरो हजुर’ सुखद नाम हो। २० वर्षअघि सुनिल कुमार थापाले निर्माण गरेको यो चलचित्रमा झरनाले सफल अभिनय गरेकी थिइन्।

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग झरनाले शीर्ष भूमिकामा रहेर अभिनय गरेको यो चलचित्र उ बेलाको सफल चलचित्र हो। झरना सफल चलचित्रकी सफल अभिनेत्री। त्यसैले पनि झरनासँग यो नामसँगै जोडिएका थुप्रै सुखद् क्षणहरू छन्। 

जीवनको २४÷२५ वर्ष फिल्म क्षेत्रमा बिताएकी झरनाले ‘ए मेरो हजुर’को सिरिजबाट निर्देशन यात्रा सुरु गरिन्। उनी निर्देशक बन्ने बेलासम्म चलचित्रमा उनका सफल जोडीका रुपमा प्रस्तुत भएका श्रीकृष्ण श्रेष्ठको निधन भैसकेको थियो।

हिट सिनेमाका हिट जोडी मध्येका एक नहुँदा भएकालाई दुःख लाग्नु स्वभाविकै हो। लगातार ‘ए मेरो हजुर’को सिरिज निर्देशन गर्दै आएकी झरनाले बेला बेला श्रीकृष्णलाई सम्झना गर्ने गरेकी छिन्।

२० वर्ष पहिले स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको ‘ए मेरो हजुर’मा अभिनय गर्न झरनालाई निक्कै गाह्रो भएको थियो। यो फिल्ममा अभिनय गर्दा एक पटक झरनाले अभिनयप्रति आत्मविश्वास गुमाएकी थिइन्।

झरनाले गुमाएको त्यो आत्मविश्वास फर्काउने काम श्रीकृष्णले गरेको सम्झँदै झरना भन्छिन्, ‘ए मेरो हजुरमा एउटा दृश्य थियो जहाँ मैले १२ टेक खानु परेको थियो। मबाट अभिनय हुन सक्दैन भन्ने लागेर म सुटिङ छाडेर भागेकी थिएँ। बाटोमा श्रीकृष्ण दाइले भेट्नु भयो। उहाँले के भयो किन भागेकी भनेर सोध्दा मैले आँशु थाम्न सकिनँ। उहाँलाई आफूले काम गर्न नसकेको बताएपछि उहाँले मलाई ल यसरी गर भनेर सम्झाएर त्यही अनुसार गरेपछि त्यो सट ओके भयो।’ 

पछि फिल्मको त्यही दृष्य निक्कै लोकप्रिय भएको सम्झना गर्दै झरनाले श्रीकृष्ण र ए मेरो हजुरसँग गाँसिएर आएको खुशीको कथा सुनाइन्। त्यसैले पनि झरनाले आफ्नो निर्देशनको डेब्यु नै यही फिल्मको ब्रान्डलाई बनाइन्। 

‘ए मेरो हजुर २’ बाट निर्देशन यात्रा सुरु गरेकी झरनालाई यही ब्राण्डले सफल निर्देशक समेत बनाएको छ। उनी अहिले ‘ए मेरो हजुर ४’ प्रदर्शनको प्रचारमा छिन्। यो उनको सुखद यात्रा हो। झरनाले यही ब्रान्डबाट आफ्नी छोरी सुहाना थापालाई रजतपटमा भित्र्याइन्। सुहानालाई यही ब्राण्डले फिल्म उद्योगमा स्थापित पनि बनायो। 

‘ए मेरो हजुर’को चौथो सिरिज रिलिजको संघारमा रहेकी झरना सुखसँगै दुःख पनि ब्यहोरेकी छिन्। ‘ए मेरो हजुर २’बाटै प्रदर्शनको समयमा विभिन्न संकट सामना गर्दै आएकी झरनाको संकटको दायरा चौंथो सिरिजमा आइपुग्दा झनै बढेर गएको छ। आउने नयाँ वर्षमा प्रदर्शनमा आउन लागेको ‘ए मेरो हजुर ४’सँग ठूलो ब्यानरको हिन्दी सिनेमा जुध्दै छ।

अधिकांश नेपाली सिनेमा ठूला ब्यानरका विदेशी फिल्मसँग डराउने गरेका छन्। यसअघि पनि कयौं ठूला ब्यानरका भनिएका नेपाली सिनेमा बलिउड ‘सूर्यवंशी’सँग डराए। तिहारको अवसर पारेर प्रदर्शन मिति तोकेका फिल्मले आफ्नो प्रदर्शन मिति पर धकेले।

आगामी वैशाख १ गतेलाई प्रदर्शन मिति तय गरेर प्रचारमा लागेकी झरना भने यही मितिमा साउथको महंगो बजेटको प्रतीक्षित फिल्म ‘केजीएफ २’सँग भिड्न तयार भएकी छन्। 

नेपालीको पर्वमा विदेशी सिनेमासँग जुध्नु पर्दा झरनालाई दुःख त लागेको छ तर उनी आत्मविश्वासी सुनिन्छिन्। भन्छिन्, ‘हामी नेपालमा छौँ अनि हाम्रो डेट कसरी विदेशी फिल्मलाई छाडेर पछि हट्न सक्छौँ?’ 

पछिल्लो समय नेपाली सिनेमा हलमा विदेशी फिल्मको दबदबा देखिँदै आएको छ। नेपालमा विदेशी फिल्म सस्तोमा आउने भएकाले पनि वितरकहरू आकर्षित भएका छन्। निर्माण सम्पन्न भएको लामो समयपछि प्रदर्शनमा आउन लागेको आफ्नो फिल्म जति नै जाेखिम भएपनि सोही मितिमा प्रदर्शन गर्ने झरनाको अडान स्वागतयोग्य पनि छ। 

चलचित्रकी निर्देशक झरनाले प्रतीक्षित विदेशी फिल्मसँग आफ्नो फिल्म भिडाउन तयार हुनुका पछाडी दर्शक साथ रहेको बताएकी छन्। यस अघिका दुई सिरिजमा दर्शकको राम्रो साथ पाएकी झरना दर्शकले साथ दिएको खण्डमा नेपाली फिल्मको स्तर अझै बढेर जाने बताउँछिन्।

उनी भन्छिन्, ‘जसरी साउथका दर्शकले आफ्नो फिल्मलाई माया गर्दै बिग बजेटमा बनाउनेसम्मको बनाए त्यो यहाँ पनि विस्तारै हुन्छ।’

कोरोनाका कारण पटक पटक प्रदर्शन मिति सार्दै आएकी झरनाको यस फिल्मसँग गाँसिएका थुप्रै उतारचढाव छन्। गत भदौमै प्रदर्शनको तयारी गरिएको फिल्म कोरोनाका कारण चैतमा सारिएको थियो।

अब भने अनमोल केसी र सुहाना थापा स्टार ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .