कला


चाकडी गर्न नजान्दा गण्डकीका कुलपतिले जलाए आफ्नै कृति

चाकडी गर्न नजान्दा गण्डकीका कुलपतिले जलाए आफ्नै कृति

आफ्नै पुस्तक जलाउँदै कुलपति खड्का। तस्बिर : नेपालखबर


नेपालखबर
चैत १९, २०७८ शनिबार २१:३१, काठमाडौँ

सूर्यबहादुर खडका ‘बिखर्ची’ कुनै बेला पोखरामा जनभावना पार्टीका अध्यक्ष थिए। 

उनी एक्लै भए पनि पोखरामा चोकतिर भाषण गरिरहेका भेटिन्थे। आफ्नै परिवारका सदस्यलाई पदाधिकारी राखेर बनेको पार्टीलाई उनले अघिल्लो चुनावताका एमालेमा विलय गराए। 

शैक्षिक र साहित्यिक पृष्ठभूमिका उनी पछिल्लो समय साहित्यकारका रुपमा  सीमित थिए। 

५० भन्दा बढी साहित्यिक कृति प्रकाशन गरेको बताउने उनलाई यसअघिको प्रदेश सरकारले २०७८ वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकबाट गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपति बनायो।  

एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ सरकारबाट कुलपति चयन भएपछि उनले ‘लमजुङ र पृथ्वीसुब्बा’ भन्ने पुस्तक लेख्ने चाजोपाँजो मिलाए । 

पुस्तक प्रकाशनका लागि १ लाख ५० हजार रुपैयाँ पनि सरकारले प्रदान गर्‍यो। सरकारी लगानीमा छापिएको किताब कात्तिकमा बजारमा आयो। 

किताब बजारमा आएसँगै उनी विवादमा तानिए। कारण थियो, किताबमा लेखिएको एउटा विषय।

त्यस पुस्तकको ‘पृथ्वीसुब्बा गुरुङ पुर्ख्यौली’ खण्डमा लेखिएको थियो, ‘गुरुङ जातिमध्ये उच्चस्तरको चार जात र निम्नस्तरको सोह्र जात भनेर पनि चिनिन् । यिनी (पृथ्वीसुब्बा गुरुङ) चार जाते हुन्। तर, यिनी जातीय विभेदको विरोध गर्छन्।’

गुरुङ संघ-संस्थाहरुले उनको लेखन विखण्डनकारी भएको आरोप पनि लगाए। 

पुस्तकको त्यही अनुच्छेदको विरोधमा उत्रिएको उक्त समूहले उनको राजीनामा माग गर्‍यो। 

तीव्र विरोधपछि बिखर्चीले पुस्तकमा उल्लेखित पंक्ति सच्याए। सच्याएर पनि गुरुङ समुदायले चित्त बुझाएनन्। 

चैत १७ गते गुरुङ जातिसँग सम्बन्धित विभिन्न ९ वटा संस्थाले ४८ घण्टाको अल्टिमेटमसहित माफी माग्दै राजीनामा दिन भने।

चौतर्फी दबाब झेलेका बिखर्चीले अन्ततः शुक्रबार गुरुङ साहित्यिक मञ्चले आयोजना गरेको कार्यक्रममा आफ्नो कृति नै जलाउँदै क्षमायाचना गरे।

त्यस कार्यक्रममा उनले भने, ‘मैले लेख्दै गर्दा विवेक पुर्‍याउन सकिनँ। आत्मआलोचित छु। पुस्तकको त्यो कुरा सत्य छैन, त्यस्तो लेख्ने मेरो नियत पनि होइन। छापिइसकेका बाँकी किताब र इलेक्ट्रोनिक कपीसमेत नष्ट गर्ने प्रतिवद्धता जनाउँदैछु।’ 

त्यसपछि गुरुङ साहित्य प्रतिष्ठानले उनको राजीनामा नमाग्ने जानकारी दियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad